Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

शिक्षा मन्त्रीको ‘प्राथमिकता’मा शिक्षा ऐन !

संसदमा पेश भएको ११ महिनासम्म दफावार छलफल समेत नभएको ऐन निर्माणमा आफ्नो भूमिका हुने दावी

सोमबार, ३१ असार २०८१
पदभार ग्रहण गर्दै नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई

काठमाडौं  - नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नयाँ शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताएकी छन् । देशको संरचना बदलिए सँगै नयाँ संविधान जारी भएको नौ बर्ष बितिसक्दा पनि राजनीतिक दलहरु ऐन बनाउन अक्षम भएका छन् । विगतका शिक्षा मन्त्रीले जस्तै भट्टराईले पनि उही शिक्षा ऐन निर्माणलाई प्राथमिकतामा राख्ने बताएकी हुन् ।

सोमबार पदभार ग्रहणको औपचारिक कार्य सके पछि मन्त्रालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले संसदीय समितिमा पुगेको विद्यालय शिक्षा ऐन निर्माण गर्न आफ्नो भूमिका हुने दावी गरिन् ।

‘सबै भन्दा धेरै मान्छे रुष्ट शिक्षा क्षेत्रसँग छ, त्यो किन भने हामीले ऐन नबनाएर, २०२८ सालको ऐन आज पनि विद्यालय शिक्षाका लागि बाधक बनेको छ’ उनले भनिन्, ‘त्यसैले समितिमा रहेको ऐनलाई निर्माण गर्नका लागि समितिसँग समन्वय गर्न जरुरी छ, समितिमा पुगेको कुरालाई मन्त्रालयले धेरै हस्तक्षेप गर्न सक्दैन तर, ऐनलाई छिटो निर्माण गर्ने कुरामा समितिसँग संयोजन गर्न मेरो भूमिका रहने छ ।’

तत्कालिन शिक्षा मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक २०८० भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । राई पछि आएकी शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि विधेयकलाई प्राथमिकतामा राखेको बताएकी थिईन् । तर उनको कार्यकाल भरी समितिमा एक दिन पनि छलफल भएन । 

शिक्षा क्षेत्रमा विकराल समस्या रहेको बताउँदै नवनियुक्त मन्त्री भट्टराईले उक्त भाष्य बदल्ने दायित्व शिक्षा मन्त्रालयको भएको बताईन् । शिक्षा क्षेत्रका बेथितीहरु समाधान गर्न विद्यमान ऐनले सम्बोधन गर्न नसक्ने भएकोले नयाँ ऐन जारी गर्नु पर्ने उनले बताइन । निरन्तर संवाद, बहस र अन्तरकृयाले सहि बाटोमा पुर्याउने बताउँदै उनले कर्मचारीहरुलाई टिमवर्कमा काम गर्न आग्रह गरिन् । मन्त्रालयका निकायका कर्मचारीका काम र भूमिका महत्वपूर्ण हुने बताउँदै उनले पढेर के गर्ने भनेर उत्तर दिन नसक्ने अवस्थामा सुधार गर्नु पर्ने बताईन् । उच्च शिक्षा पढेपछि के गर्ने भन्ने बारेमा स्पष्ट दृष्टिकोण निर्माण गर्न जरुरी रहेको उनले बताईन् ।

‘उच्च शिक्षा पढेपछि केही हुन्न भन्ने मान्यता बनेको छ’ उनले भनिन् ‘शिक्षाका जति पनि तहगत आयाम छन् त्यसलाई बलियो बनाउनु पर्छ ।’

प्रविधि मन्त्रालय समेत भएकोले अनुसन्धानात्मक काम गर्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले विश्वविद्यालयसँग समन्वय गरेर काम गर्ने बताइन् । पछिल्लो पटक कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजाले निराशा पैदा गरेकोले सुधार गर्न लाग्नु पर्ने उनले बताइन ।

‘म आफैंले संसदमा पनि बोलेँ, बढि भन्दा बढि विद्यार्थीलाई पास गराउने भन्दा पनि कसरी क्षमता बढाउने ? भन्ने तर्फ सोच्न जरुरी छ’ उनले भनिन् ।

मन्त्री भनेको आवधिक पद र जिम्मेवारी मात्रै बताउँदै उनले कर्मचारीबाट सहयोगको अपेक्षा समेत गरिन् । स्वागत कार्यक्रममा शिक्षा सचिव डा. दिपक काफ्ले र विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले मन्त्रीको गतिमा काम गरेर सहयोग गर्ने बताएका छन् । उनीहरुले आफ्नो कार्यक्षेत्रको बारेमा मन्त्रीलाई जानकारी गराए । 

यस अघि उनले मन्त्रालयमा पदभार ग्रहण गरेकी थिईन् । उनले पदभार ग्रहण गर्दा गरेको निर्णय सम्बन्धि खबर पढ्नुहोस् :  

नयाँ शिक्षा मन्त्रीको पदभार ग्रहण : मन्त्रालयले पेश गरेको दुई मध्ये एक फाईल मात्रै सदर ! 

प्रतिक्रिया