Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

नयाँ शिक्षा मन्त्रीको पदभार ग्रहण : मन्त्रालयले पेश गरेको दुई मध्ये एक फाईल मात्रै सदर !

शिक्षा सचिव काफ्लेले कानूनी विषयका बारेमा मन्त्रीलाई कन्भिन्स गर्ने प्रयास गरे पनि मन्त्री भट्टराईले आफूले थप जानकारी लिए पछि मात्रै निर्णय गर्ने बताउँदै उक्त फाईलमा हस्ताक्षर गरिनन् ।

सोमबार, ३१ असार २०८१

काठमाडौं - नवनियुक्त शिक्षा मन्त्री विद्या भट्टराईले पदभार ग्रहण गर्दा मन्त्रालयले पेश गरेको दुई मध्ये एउटा फाईल मात्रै सदर गरेकी छन् । पदभार ग्रहण गर्दा पहिलो निर्णय गर्ने प्रचलन अनुसार मन्त्रालयले दुई वटा फाईल तयार पारेको थियो । ती फाईलका बारेमा शिक्षा सचिव डा. दिपक काफ्लेले मन्त्रीलाई ब्रिफिङ् गरेका थिए । 

तर, एक जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने फाईललाई मन्त्री   भट्टराईले पछि निर्णय गर्ने बताउँदै सदर गरिनन् । उक्त फाईल, उमेर हदका कारण दुई दिन पछि अवकास हुँदै गरेका उपसचिव हरीप्रसाद खनाललाई सहसचिवमा बढुवा गर्न मन्त्रीपरिषद्मा पेश गर्ने विषय सँग सम्बन्धित थियो । 

सचिव काफ्लेले निजामती सेवा ऐनको व्यवस्था र मन्त्रीपरिषद्ले निर्णय गर्ने कानूनी विषयका बारेमा मन्त्रीलाई 'कन्भिन्स' गर्ने प्रयास गरेका थिए । १५ बर्ष एकै तहमा काम गरेको कर्मचारी अवकासमा जानु अघि एक तह बढुवा हुने कानूनी व्यवस्था रहेको उनले बताए पनि मन्त्री भट्टराईले आफूले थप जानकारी लिए पछि मात्रै निर्णय गर्ने बताउँदै उक्त फाईलमा हस्ताक्षर गरिनन् ।

त्यस अघि सचिव काफ्लेले पेश गरेको कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराउने दिवा खाजाको लागि आवश्यक कार्यविधि बनाउने फाईल भने मन्त्री भट्टराईले सदर गरिन् । 

नीति तथा कार्यक्रममा समेत उल्लेख भएको उक्त विषय कार्यान्वयन गर्ने क्रममा आवश्यक कार्यविधि बनाउन मन्त्रालयले शिक्षा मन्त्रालयको सहसचिवको संयोजकत्वमा विभिन्न सरोकारवाला मन्त्रालयका प्रतिनिधि सहितको सात सदस्यीय समिति गठन गरेको सचिव काफ्लेले जानकारी गराएका थिए । समितिले मस्यौदा बनाउने र उक्त मस्यौदमा आवश्यक छलफल पछि कार्यविधि बनाउने सचिव काफ्लेले मन्त्रीलाई ब्रिफिङ् गरेका थिए । त्यस पछि मन्त्री भट्टराईले उक्त फाईलमा हस्ताक्षर गरिन् । 

कार्यभार सम्हाल्दै मन्त्री भट्टराईले सार्वजनिक शिक्षा प्रतिको आशा र विश्वास बढाउने दायित्व ख्याल गर्ने बताईन् । विद्यालय शिक्षाका समस्यालाई छिटो भन्दा छिटो ऐन निर्माण गरेर समाधान गर्ने आफ्नो प्राथमिकता हुने बताईन् । विद्यालय शिक्षामा गुणस्तरीयता कायम गर्ने र नेपालमै पढेर सक्षम नागरिक हुन्छु भन्ने अवधारणा विद्यार्थीमा विकास गर्ने गरी विश्वविद्यालय शिक्षालाई सुधार गर्ने आफ्नो प्राथमिकता हुने उनले बताईन् । 

'यी दुई कुरालाई नियमित गर्न सकियो भने सुधार हुन्छ' उनले भनिन् । 

आफू राजनीतिमा आउने अवस्था श्रीमान् रवीन्द्र अधिकारीका कारण भएको स्मरण गर्दै उनले शहीदहरुलाइ पनि सम्झिईन् । ताप्लेजुगंमा भएको हेलिकोप्टर दुर्घटनामा उनका श्रीमान् अधिकारीको निधन भए पछि  उनी सकृय राजनीतिमा आएकी हुन् ।  उनका श्रीमान अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि २०७६ मा भएको उपनिर्वाचनमा उनी कास्कीबाट उठेकी थिईन् । त्यतिखेर विजयी भएकी उनी ०७९ को निर्वाचनमा पनि उनी त्यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएकी हुन् । 

तत्कालिन सत्ता साझेदार दुई दल नेकपा माओवादी केन्द्र र एमाले बिचको खटपट पछि बदलिएको सत्ता समिकरण सँगै नेपाली काँग्रेस र एमाले सहितको गठबन्धनबाट नयाँ सरकार बनेको हो । यस अघि राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको शपथ खुवाएका थिए । त्यस लगत्तै दुई उपप्रधान सहित मन्त्रीले शपथ खाएका थिए । 

सत्ता समिकरण बदलिएसँगै नियुक्त भएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा दुई उप प्रधान सहित २१ मन्त्री भएका छन् । प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् ।

काँंग्रेसका १०, एमालेका आठ, जनता समाजवादी पार्टीका दुई र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना २१ सदस्यीय मन्त्रीपरिषद् गठन भएको छ । मन्त्रिपरिषद् २५ सदस्यीयबाट धेरै हुन नहुने संविधानको व्यवस्था छ । त्यसैले अब ओलीले तीन जना राज्यमन्त्री मात्र नियुक्त गर्न सक्छन् । 

काँग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेलले उपप्रधानमन्त्री सहित क्रमशः शहरी विकास र अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

मन्त्रीपरिषद्का सदस्यहरुको नामावली  

- केपी ओली, प्रधानमन्त्री (एमाले)

- प्रकाशमान सिंह, उपप्रधान तथा शहरी विकास (काँग्रेस) 

- विष्णु पौडेल, उपप्रधान तथा अर्थ (एमाले)

- पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय (एमाले)

- रमेश लेखक, गृह (काँग्रेस) 

- शरतसिंह भण्डारी, श्रम तथा रोजगार (लोसपा)

- आरजु राणा देउवा, परराष्ट्र (काँग्रेस) 

- नवलकिशोर साह सुडी, महिला बालबालिका (जसपा) 

- बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी (एमाले)

- दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति (एमाले)

- देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात (एमाले)

- तेजुलाल चौधरी, युवा तथा खेलकुद (काँग्रेस)

- प्रदीप यादव, खानेपानी (जसपा)

- प्रदीप पौडेल, स्वास्थ्य (काँग्रेस)

- अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला (काँग्रेस)

- बद्री प्रसाद पाण्डे, पर्यटन (काँग्रेस)

- रामनाथ अधिकारी, कृषि (काँग्रेस)

- विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि (एमाले)

- मानवीर राई, रक्षा (एमाले)

- दीपक खड्का, जलस्रोत तथा ऊर्जा (काँग्रेस)

- राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य (एमाले)

- ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण (काँग्रेस)

प्रतिक्रिया