Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

शिक्षा मन्त्रीमा विद्या भट्टराई

को हुन् भट्टराई ?

सोमबार, ३१ असार २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद विद्या भट्टराई हुने निश्चित भएको छ । राष्ट्रपति निवासमा ११ बजे हुने सपथ कार्यक्रमको लागि मन्त्रालय तोकेरै उनलाई खबर भईसकेको छ ।  एमाले नेता पदम गिरीले शिक्षा मन्त्रीका लागि भट्टराईको नाम सिफारिस भएको बताए । 

भट्टराईले पनि उक्त कुराको पुष्टि गरेकी छन् । 

'मलाई सपथको लागि खबर आएको छ म जाने तयारी गर्दैछु' उनले भनिन् । 

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य उनी कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी हुन् । समाजशास्त्रमा एम ए र मानव शास्त्रमा एम फिल सम्मको अध्ययन गरेकी उनी त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको उपप्राध्यापक छाडेर उनी सांसद भएकी हुन । 

२०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभागमा रहेकी उनी पहिलो पटक मन्त्री बन्दै छिन् । 

उनका श्रीमान रविन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि २०७६ मा भएको उपनिर्वाचनमा उनी कास्कीबाट उठेकी थिईन् । त्यतिखेर विजयी भएकी उनी ०७९ को निर्वाचनमा पनि उनी त्यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएकी हुन् । 

सत्ता समिकरण बदलिएसँगै शिक्षा मन्त्रालय एमालेको भागमा परेको थियो । सत्ता साझेदारीका लागि सहमत भएका दुई ठूला दल नेपाली काँग्रेस र एमालेले मन्त्रालयको भागबण्डा टुङ्याएका छन् । जस अनुसार एमालेको भागमा शिक्षा सहित ८ मन्त्रालय परेको नेताहरुले बताएका छन् । 

माओवादी केन्द्रसँग एमालेको खटपट परे पछि प्रतिनिधि सभाको सबै भन्दा ठूलो दल नेपाली काँग्रेस र एमालेले सत्ता साझेदारीको सहमती गरेका थिए । उक्त सहमतीसँगै गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मतका लागि पेश गरेको प्रस्ताव बहुमतले अस्विकृत भए पछि नयाँ सरकार गठनको प्रकृया शुरु भएको थियो । सो प्रकृया अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्तीमा नियक्त भईसकेका छन् । यस अघि २०८० फागुन २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री भएकी थिईन् । 

प्रतिक्रिया