Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

दरबन्दीका शिक्षक नै नभएको विद्यालय प्रदेशमै उत्कृष्ट  !

प्रदेश भरमा शतप्रतिशत नतिजा ल्याउने सामुदायिक विद्यालय भने शुन्य, सुधारका लागि योजना बनाउन छलफल सुरु

आइतबार, ३० असार २०८१

धनगढी - दरबन्दीका शिक्षक नै नभएको विद्यालय सुदुरपश्चिम प्रदेशमा उत्कृष्ट भएको छ । कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा सहभागी विद्यार्थीको नतिजाका आधारमा उक्त तथ्य देखिएको हो । 

बैतडीको घटाल माध्यमिक विद्यालय नुवाकोट चौसालका २४ जना विद्यार्थी गत एसईई परीक्षामा सहभागी भएका थिए । ती मध्ये २३ जनाको नतिजा ग्रेडेड छ । यो विद्यालयबाट परीक्षा दिएका मध्ये ९५.८३ प्रतिशत विद्यार्थी ग्रेडेड भए पछि  प्रदेशकै उत्कृष्ट नतिजा दिन सफल विद्यालय बनेको हो । gatal mabi

विद्यालयका प्रधानाध्यापक नरबहादुर नेगीले दरबन्दीका एक जना पनि शिक्षक नभए पनि स्थानीय तह र संघीय सरकारबाट पाएको अनुदान कोटाका शिक्षकको भरमा विद्यालय चलेको बताए । सरकारले प्राविको दरबन्दी ३ जना स्थायी, प्रावि राहत १, निमावि राहत १, मावि (बीएस्सी) शिक्षण अनुदान १ जना, पालिकाबाट तीन जना माविमा अनुदान (नेपाली, सामाजिक र अंग्रेजी) दिएको छ । पालिकाले एक जना शिक्षकलाई तलब बापत २० हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको छ । प्रधानाध्यपाक नेगीका अनुसार नियमित समय भन्दा बिहान बेलुका पढाएकै कारण विद्यालयको नतिजा राम्रो आएको हो । 

‘बर्खामा बिहान ७ देखि १ बजेसम्म कक्षा चलाएर दिउँसो एक घण्टा खाना खाने समय दिन्छौँ’उनले भने,‘फेरी ३ बजेदेखि ६ बजेसम्म कक्षा ८ देखि १० कक्षाका विद्यार्थीलाई पढाउँछौ ।’ 

हिउँदमा बिहान एक घण्टा बेलुका एक घण्टा थप कक्षा हुने गरेको उनले बताए । बिहान बेलुका पढेबापत विद्यार्थीले शुल्क तिर्ने भन्दा पनि शिक्षकलाई तरकारी दिने गरेको उनले बताए । 

‘थप कक्षा सञ्चालन गरिदिए बापत व्यवस्थापनले गणित र अँग्रेजी शिक्षकलाई खाजा खर्च बापत थप मासिक तीन हजार पाँच सय रुपैयाँ उपलब्ध गराउँछ’ प्रावि द्वितीय तहका प्रधानाध्यापक नेगीले भने ।

शतप्रतिशत नतिजा ल्याउने सामुदायिक विद्यालय भने प्रदेशमै शुन्य रहेको छ । २ सय ४८ निजी विद्यालय मध्ये २० वटा विद्यालयको नतिजा शतप्रतिशत छ । 

कैलालीको तीन, दार्चुलाको एक, बैतडीको एक, डडेलधुराको एक, कञ्चनपुरको एक निजी विद्यालयको नतिजा शुन्य रहेको छ । सामुदायिक तर्फ आठ सय ७३ विद्यालय परीक्षामा सहभागि भए पनि ८४ विद्यालयको नतिजा शुन्य रहेको सुदुरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । 

शुन्य नतिजा भएको बझाङको सिताराम मावि देउलीकोटका प्रधानाध्यापक बिरबहादुर बोहराले दरबन्दीको शिक्षक नभएकै कारण विद्यालयको सिकाइ कमजोर भएको बताए । विद्यालयमा ३ जना प्रावि दरबन्दी, २ जना निमावि राहत, २ जना अनुदान संघीय (अंग्रेजी र गणित, विज्ञान) १ जना नगर अनुदान, ३ जना निजी स्रोतका शिक्षक रहेका छन्  । 

विद्यालयमा दुई सय ८८ विद्यार्थी छन्, तर दरबन्दीको शिक्षक एक जना पनि र्छनन् । शिक्षक नभएकै कारण नतिजा कमजोर भएको उनले बताए । 

एसईईको नतिजा अनुसार सातै प्रदेश मध्ये सबै भन्दा कमजोर नतिजा सुदुरपश्चिमको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार सुदुरपश्चिमबाट एसईई दिएका ५३ हजार चार सय ४६ विद्यार्थी मध्ये १७ हजार ३६ जना मात्रै ग्रेडेड भएका छन् । प्रदेशमा अँग्रेजी र नेपालीमा १८ प्रतिशत, गणितमा १५.५१ प्रतिशत, विज्ञानमा १६.२६ र सामाजिकमा १५.१५ प्रतिशत एनजी आएको छ ।

WhatsApp Image 2024-07-14 at 3.56.01 PM

 

नतिजा कमजोर भएपछि  निर्देशनालयले सुधारका लागि योजना बनाउन छलफल सुरु गरेको छ । नतिजा सुधारका उपाय पत्ता लगाउन र सो अनुसार योजना निर्माण गर्न   निर्देशनालयले ९ वटा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, पालिका प्रमुख, प्रदेशको शिक्षा मन्त्रालयका पदाधिकारी, सामुदायिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी सहित छलफल गरेको छ । 

छलफल कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि प्रसाद लम्सालले प्रदेशको नतिजा विश्लेषण गरेर सुधारको योजना बनाउन प्रदेश शिक्षा मन्त्रालय, निर्देशनालय र इकाईलाई आग्रह गरेका छन् । 

‘कमजोरी छ भन्ने थाहा भए पछि त्यसलाई कसरी सुधार गर्ने ? योजना बनाएर अघि बढ्नु आवश्यक छ’ उनले भने । 

संघीय, प्रदेश, स्थानीय तह र विद्यालयले के के गर्ने ? भन्ने योजना बनाउन उनले आग्रह गरेका छन् । 

सामाजिक विकास मन्त्रालय सुदुरपश्चिमका सचिव चक्रपाणी पाण्डेले राम्रो नतिजा ल्याउनेलाई पुरस्कृत गर्ने र नतिजाको समीक्षा जिल्ला स्तरमा गर्नु पर्ने बताए । 

‘विद्यार्थीले पढ्दैनन्, अभिभावकले चासो नदिने, र घरमा पढ्ने वातावरण नभएकोले सिकाइ कमजोर भएको हो’ उनले भने । 

सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको आर्थिक अवस्था कमजोर भएको हुनाले पनि पढाई कमजोर भएको उनको तर्क छ  । आवासीय विद्यालय बनाएर भए पनि सिकाइ सुधार गर्नु पर्ने उनले बताए ।

निर्देशनालयका प्रमुख दुर्गादत्त बिष्टले सुदुरपश्चिमको नतिजा सुधार गर्न के गर्न सकिन्छ भनेर इकाई, प्रदेश, स्थानीय तहका जनप्रतिनिधि सहितको छलफल सुरु गरेर योजना बनाउन लागेको बताए । 

‘विज्ञ सहितको टीममा गम्भिर भएर छलफल गर्यौँ’ उनले भने, ‘छलफलबाट प्राप्त सुझावलाई प्रतिवेदनको रुपमा पेश गर्नेछौँ ।’ 

प्रतिक्रिया