Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

नक्कली एनओसीमा धमाधम चीनमा इण्टर्न, सक्कली एनओसी  भएका जान पाएनन्

शिक्षा मन्त्रालयबाट जारी भएको सक्कली एनओसी लिएकाले चीन जान नपाए पछि एनओसीमा चलखेल भइरहेको रहस्य खुलेको हो ।

विहीबार, २७ असार २०८१

काठमाडौं -  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको एनओसी पत्रमा आफु अनुकल वाक्य थपेर विद्यार्थी चीनमा इण्टर्न गर्न जाने गरेको पाईएको छ । मन्त्रालयबाट जारी भएको सक्कली एनओसी लिएकाले चीन जान नपाए पछि एनओसीमा चलखेल भइरहेको रहस्य खुलेको हो । 

बेलायतको युनिर्भसिटी अफ हाइल्याण्ड एण्ड आइसल्याडको कार्यक्रम सञ्चालन गर्ने एसियन इण्टिच्यूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ट (एआइटीएम) कलेज र पोखराको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका विद्यार्थीले चिनिया दुतावासमा पेस गरेको एनओसी पत्रमा बदमासी गरेको पाइएको मन्त्रालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बधन लिएका नेसफिल्ड कलेजका स्नातक अध्ययनरत ६ जना र गोल्डेन गेट कलेजका ५ जना विद्यार्थीले मन्त्रालयको एनओसी शाखाबाट लिएको एनओसी पत्रमा थपघट नगरी जस्ताको त्यस्तै भिसाको लागि एप्लाई गरेका थिए । उनीहरुले पेस गरेको एनओसी नक्कली भएको भन्दै कन्सफरमेसन नआए पछि यस अघि गलत प्रक्रियाबाट चीन गइरहेको फेला परेको हो । नेसफिल्डमा अध्ययनरत विद्यार्थीले चीनमा इण्र्टन गर्न जान दुतावासमा पेश गरेको कागज मध्ये एनओसी पत्रमा खोट देखाइएको थियो । 

नेशफिल्ड कलेजका प्रिन्सिपल अनिल केसीले यसअघि चीन गएका विद्यार्थीले पेश गरेकै जस्तो एनओसी चाहियो भन्दै आफ्नो कलेजका विद्यार्थीले पेस गरेको एनओसीमा प्रश्न उठेको बताए । 

‘हाम्रो विद्यार्थीले पाएको एनओसी वास्तविक हो भनेर परराष्ट्र मन्त्रालय मार्फत पत्र अघि बढाइदिन हामीले आग्रह गरेका छौँ’ उनले भने, ‘विद्यार्थीले भिसाको लागि एप्लाइ गर्दा कन्फरमेशन  नआए पछि किन भएन भनेर खोजी गर्दा हामीले पेस गरेको एनओसी डुब्लिकेट हो यस्तो चाहिन्छ भनेर यस अघि पेस भएको एनओसीको नमुना पायाँै ।’ 

यस अघि एआइटीएम कलेजका विद्यार्थीले पेश गरेको एनओसी पत्रमा पासपोर्ट नम्बर, कलेजको नाम, कति समयको लागि इण्टर्न गर्ने हो ? कुन कम्पनीमा जाने हो भन्ने उल्लेख छ । एनओसी शाखाले जारी गर्ने पत्रमा यस्तो विवरण उल्लेख छैन । 

‘हामीले जारी गरेको एनओसी पत्रको खाली ठाउँमा आफु अनुकुल विवरण थप गरेर पठाएको पाइयो’ शाखाका एक कर्मचारीले भने । 

त्यस्तै पोखराको गुप्तेश्वर कलेजको विद्यार्थीले चिनिया दुतावासमा पेश गरेको खाली कागजमा शिक्षा मन्त्रालयको छाप लगाएको पाइएको छ । 

‘हामीले खाली कागजमा छाप लगाउँदैनौ’ ती कर्मचारीले भने,‘पोखराको त्यो कलेजबाट गएका विद्यार्थीको कागजमा शंका गर्नु पर्ने देखियो ।’ 

गुप्तेश्वर कलेजका होटल म्यानेजमेण्टका कोअर्डिनेटर जितेन्द्र थापाले मन्त्रालयबाट एनओसी लिएर मात्रै एक जना विद्यार्थी चीन गएको बताए । 

‘कुनै पनि कागजमा मन्त्रालयको छाप दुरुपयोग गरेको हामीलाई जानकारी छैन’ उनले भने । 

पाँच महिना अघि चीन गएका ती छात्राले चिनिया दुतावासमा पेस गरेको कागज दुतावास मार्फत नै बाहिर आएको हो । 

‘यसअघि गएका विद्यार्थीले जुन डकुमेण्ट पेस गरेका थिए हामीलाई यस्तो कागज हुनु पर्छ भनेर दिएका छन्’चीनमा होटल म्यानेजमेण्टको इण्टर्न गर्न जान लागेका एक विद्यार्थीले भने । 

एआइटीएमका निर्देशक बसन्त जोशीले चीनमा गएका ६ जना विद्यार्थीले मन्त्रालयले दिएकै एनओसी दिएर गएको दाबी गरे । 

‘यसमा कुनै बिचौलियाले चलखेल गरेको हुन सक्छ’ उनले भने, ‘कलेजले यसरी बिचमा थप्नु पर्ने आवश्यक नै छैन ।’ 

मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख डा. कमल पोखरेलले मन्त्रालयले उपलब्ध गराएको एनओसीको वैद्यतामा प्रश्न उठेकोले यस अघि चिनिया दुतावासमा पेश गरेको भनिएको कागजको अनुसन्धान भइरहेको बताए । 

‘हामीले अहिले उपलब्ध गराएको पत्र सही छ । पहिलाको कसले दुरुपयोग गरेको हो हामीले अनुसन्धान गरिरहेका छौँ’ उनले भने ।

प्रतिक्रिया