Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

मन्त्रीको खर्च लुकाएर ‘गणेश काज’ विवरण मात्रै सार्वजनिक गर्न शिक्षा मन्त्रालय तयार !

हस्त लिखित सूचनामा मन्त्री र सचिवालयले गरेको खर्चको विवरण नै छैन । त्यस्तै कर्मचारीको पनि कसले कति रकम लिए भन्ने विवरण नै गायब पारिएको छ ।

सोमबार, २४ असार २०८१

काठमाडौं  - शिक्षा मन्त्री र राज्य मन्त्रीले सचिवालयका कर्मचारी सहित गरेको गृह जिल्ला भ्रमण खर्च विवरण लुकाएर शिक्षा मन्त्रालय, कर्मचारीले गरेको * ‘गणेश काज’ को खर्च मात्रै सार्वजनिक गर्न तयार भएको छ । 

एडुखबर प्रतिनिधिले सूचनाको हक अनुसार माग गरेको सूचनामा मन्त्रालयले पूर्व शिक्षा मन्त्री अशोक राई र उनका सचिवालय, तथा राज्यमन्त्री प्रमिला कुमारी र उनका सचिवालयका कर्मचारीले गत बर्ष जिल्ला भ्रमणमा जाँदा गरेको १५ लाख रुपैंया खर्च लुकाएर कर्मचारीले लिएको काजको विवरण मात्रै सार्वजनिक गर्ने गरी उपलब्ध गराएको छ । २०८० वैशाख देखि चैत १५ सम्म अनुगमन भ्रमण काजमा ५३ लाख ९८ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले उपलब्ध गराएको सूचनामा उल्लेख छ । उक्त सूचनामा कसले कति रकम लिए भन्ने यकिन विवरण भने उल्लेख छैन । 

मन्त्रालयमा चैत १५ मा निवेदन दिएर सूचना माग गर्दा वैशाख १ मा आर्थिक प्रशासन शाखाबाट 'हेर्न मात्रै' उपलब्ध गराएको सूचनामा तत्कालिन शिक्षा मन्त्री राई तथा राज्य मन्त्री प्रमिला कुमारी र उनीहरुको सचिवालयका कर्मचारीले १५ लाख रुपैयाँ भ्रमणमा गरेको खर्च भुक्तानी लिएको उल्लेख थियो । उक्त सूचना हेर्न मात्रै दिएकोले पुरा विवरण उपलब्ध गराउन पुनरावलोकन गरेपछि सात दिन भित्र सूचना उपलब्ध गराउन सूचना आयोगले जेठ २७ गते आदेश दिएको थियो । असार १२ मा मन्त्रालयले चार सय रुपैयाँ राजश्व लिएर ५० पृष्ठको सूचना उपलब्ध गराएको थियो । 

उक्त सूचनामा त्यस अघि 'हेर्न मात्रै' दिएको भन्दा फरक विवरण छ । हेर्न दिएको सूचनामा कुन शाखाका, को कहाँ जाँदा कति रकम बुझे भन्ने कम्प्युटर टाइप भएको विवरण थियो । असार १२ मा उपलब्ध गराएको हस्त लिखित सूचनामा मन्त्री र सचिवालयले गरेको खर्चको विवरण नै छैन । त्यस्तै कर्मचारीको पनि कसले कति रकम लिए भन्ने विवरण नै गायब पारिएको छ । मन्त्री, राज्य मन्त्री र उनीहरुको सचिवालयका कर्मचारीको नाम नामेसी र भुक्तानी लिएको रकम हटाएर कर्मचारी को कहाँ गए भन्ने विवरण मात्रै उपलब्ध गराइएको छ । 

एडुखबर प्रतिनिधिलाई 'हेर्न मात्रै' उपलब्ध गराएको सूचनामा शिक्षा मन्त्री अशोक राई, निजी सचिवालयका उपसचिव प्रकाश सापकोटा, प्रहरी नायब निरिक्षक जीवन खड्का, जमदार उत्तम पाण्डे, स्वकीय उपसचिव युवराज राई, प्रहरी सहायक निरिक्षक रामुकमार पाण्डे, शाखा अधिकृत सदन राई, सवारी चालक खिलराज राईको नाममा ६ लाख रुपैंया भुक्तानी भएको छ । 

निर्वाचन क्षेत्र सुनसरी भएकोले अन्यत्रको भन्दा त्यहाँ बढी अनुगमन भएको देखिनु स्वभाविक भएको पूर्व शिक्षा मन्त्री अशोक राईका स्वकीय सचिव युवराज राईले दावी गरे । 

‘महिनामा एक पटक हामीले विद्यालय, सीटीइभीटीको संस्थाहरु अनुगमन गरेका छौं’ उनले भने, ‘हामीले लिएको भन्दा बढी रकम त पक्कै लेखेका छैनन् होला ।’ 

त्यस्तै राज्य मन्त्री प्रमिला कुमारीको स्वकीय अधिकृत अञ्जिल राई, राज्य मन्त्रीको कार्यालय सहयोगी कुसुम लाल मेहता, स्वकीय अधिकृत नगेन्द्र बहादुर लिम्बु, कार्यालय सहयोगी रागिनी यादव, चालक रविन कुमार पोखरेल, चालक बिजयकुमार यादव, स्वकीय उपसचिव नारायण यादव, अमितकुमार यादव, प्रहरी हवल्दार बण्टी खड्का महर्जन, प्रहरी सहायक निरिक्षक प्रिया कार्की, नायब सुब्बा धन केसीले भ्रमण खर्च भन्दै साढे नौ लाख रुपैयाँ बझेका छन् । 

उनीहरुले एक जनाले एक पटकमा कम्तीमा १० हजार रुपैयाँ भ्रमण खर्च बुझेका छन् । 

मन्त्रीका ड्राइभर सार्वजनिक गाडी चढेर अनुगमनमा ! 

तत्कालिन शिक्षा मन्त्री अशोक राईले गृह जिल्ला जाँदा दुई लाख रुपैयाँ खर्च लिएका छन् । उनी सहित आठ जनाको टोलीले मन्त्रालयबाट २ लाख रुपैयाँ एकै पटक अनुगमन भत्ता बुझेका छन् । मन्त्रालयले सुनसरीमा अनुगमन गएको भनेर भत्ता उपलब्ध गराएको हो । जुन विवरण मन्त्रालयले गोप्य राखेको छ । यो भ्रमण टोलीमा मन्त्री राई, उपसचिव प्रकाश सापकोटा, प्रहरी नायब निरिक्षक जीवन  खड्का, जमदार उत्तम पाण्डे, स्वकीय उपसचिव युवराज राई, प्रहरी सहायक निरिक्षक रामकुमार श्रेष्ठ छन् । 

मन्त्रीले ३२ हजार रुपैयाँसम्म भ्रमण भत्ता बुझेका छन् । मन्त्रालयले हेर्न मात्रै दिएको विवरणमा राज्यमन्त्री प्रमिला कुमारी र उनको टिम सरकारी काम भन्दै सुनसरी, महोत्तरी, सिराहा, जनकपुर गएको देखाएर भ्रमण भत्ता लिएका छन् । अझ रमाइलो के छ भने उनीहरुले सार्वजनिक गाडीमा चढेर सरकारी काममा खटिएको विवरण मन्त्रालयमा पेश गरेका छन् । 

राज्य मन्त्रीको हलुवा सवारी चालक रविनकुमार पोखरेलले पनि सार्वजनिक गाडी चढेर सरकारी कामको सुनसरी र अर्का चालक विजयकुमार यादव पनि सुनसरी र महोत्तरीमा सरकारी काम गर्न सार्वजनिक गाडी चढेर गएको विवरण मन्त्रालयमा पेश गरेर भत्ता लिएको हेर्न मात्रै दिएको सूचनामा उल्लेख थियो । मन्त्रालयले पछिल्लो पटक उक्त सूचना लुकाएर अर्कै विवरण मात्रै उपलब्ध गराएको छ ।

पूर्व राज्य मन्त्री प्रमिला कुमारीले आफुले अनुगमन जाँदा मात्रै भत्ता लिएको र जति रकम लिएको छ त्यो अस्वभाविक नभएको दावी गरिन् ।  

‘मेरो सचिवालयका कर्मचारीले के गरे त्यो मलाई थाहा हुने कुरा भएन । मैले काम गरेर मात्रै भत्ता लिएको छु,’ उनले भनिन् ।

* आफ्ना र आफू निकटका कर्मचारीलाई उपलब्ध गराउने काजलाई मन्त्रालयमा ‘गणेश काज’ को संज्ञा दिईन्छ । 

प्रतिक्रिया