Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

शिक्षा मन्त्रीको अध्यक्षतमा गठित सिफारिस समिति खारेज गर्न सुझाव

विदेशी सम्बन्धनका कलेजमा कुन तहको कुन कार्यक्रमको लागि कति संख्यामा विद्यार्थी भर्ना गर्न चाहेको हो अनिवार्य रुपमा खुलाउनु पर्ने

मंगलबार, १८ असार २०८१

काठमाडौं - विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरुको अध्ययन गर्न गठित समितिले त्यस्ता कलेजको अनुमति दिन शिक्षा मन्त्रीको अध्यक्षतमा गठित सिफारिस समिति खारेज गर्न सुझाव दिएको छ । यसको साटो विश्वविद्यालयको प्राध्यापकको संयोजकत्वमा सम्बन्धित विषय विज्ञ समेत रहने छुट्टै सिफारिस समिति गठन गर्न समितिको सुझाव छ । 

पूर्व सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित समितिले गत जेठ ३२ गते शिक्षा मन्त्री सुमना श्रेष्ठलाई बुझाएको प्रतिवेदनले सोही समितिको सिफारिसको आधारमा शिक्षा मन्त्रालयले अनुमति दिने व्यवस्था गर्न सुझाव दिएको छ । शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव सदस्य सचिव रहने उक्त समितिको गठन शिक्षा मन्त्रालयले गर्न सुझाव छ । उक्त समितिका संयोजकको अवधि दुई बर्षको हुने र विषय विज्ञको सेवा आवश्यकता अनुसार सिफारिस अवधिभर मात्र हुने प्रस्ताव छ । 

विद्यावारिधि उपाधि हासिल गरी कम्तिमा ३ बर्ष विश्वविद्यालयको प्राध्यापक भएको व्यक्ति संयोजक बनाउन समितिले सुझाव दिएको छ । विषय विज्ञको योग्यता कम्तिमा स्नातकोत्तर भई १० बर्ष प्राध्यापन गरेको हुनु पर्ने छ ।  विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित त्यस्ता कलेजको नाम तथा स्थान परिवर्तन र कार्यक्रम थपका लागि निवेदन दिएको ६० दिन भित्रमा सिफारिस समितिले भौतिक एवं शैक्षिक पूर्वाधारको स्थलगत निरीक्षण गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्ने छ । मन्त्रालयले ३० दिन भित्र निर्णय दिनु पर्ने व्यवस्थाको सिफारिस गरिएको छ ।

विदेशी सम्बन्धनका त्यस्ता कलेजमा विद्यार्थी कोटा तोक्न पनि समितिले सुझाव दिएको छ । कुन तहको कुन कार्यक्रमको लागि कति संख्यामा विद्यार्थी भर्ना गर्न चाहेको हो अनिवार्य रुपमा खुलाउनु पर्ने समितिको सुझाव छ । प्रत्यृक पटकको भर्ना समयमा नेपाल सरकारले तोकिदिएको सिट वा प्रचलित कानूनले व्यवस्था गरेको प्रतिशत सम्मको छात्रवृत्तिमा भर्ना गर्नको लागि भर्ना समयमा अलग्गै सूचना निकालेर वेग्लै प्रतिस्पर्धा गराउनु पर्ने समितिको सुझाव छ । भर्ना प्रकृया, छात्रवृत्ति जस्ता विवरण शैक्षिक सत्रको शुरुमै मन्त्रालयमा बुझाउनुु पर्ने हुन्छ । अनलाईन तथा दुरशिक्षाबाट सञ्चालन हुने गरी कुनै पनि कार्यक्रमलाई स्वीकृति प्रदान नगर्ने, एउटै भवन परिसरमा फरक फरक संस्थाका नाममा एक वा एक भन्दा बढीका विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्न नदिने लगायतका सुझाव समितिको प्रतिवेदनमा छ ।   

यही विषयसँग सम्बन्धित अन्य खबर पढ्नुहोस् :

विदेशी विश्वविद्यालयको कार्यक्रम चलाउन 'वर्ल्ड र्‍याङक'को पाँच सय भित्र हुनु पर्ने

 विदेशी डिग्रीमा बेथिति :  वर्ल्ड र्‍याङकिङको हजार भित्र नपरेका विश्वविद्यालयको कार्यक्रम छ्याप्छ्याप्ती !

प्रतिक्रिया