Edukhabar
आइतबार, २३ भदौ २०८१
विदेशमा शिक्षा

कन्सल्टेन्सी नविकरण गर्न १७ थरी कागजात पेश गर्नु पर्ने

प्रदेशमा दर्ता भएका कन्सल्टेन्सीलाई भने यो प्रक्रियामा सहभागि नगराउने

आइतबार, १६ असार २०८१

काठमाडौं -  विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने कन्सल्टेन्सीको नविकरण गर्न १७ प्रकारका कागजपत्र पेश गर्नु पर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखि नविकरणको लागि आवेदन खुला गरेको हो । 

साउन १४ अघि नै परामर्श सेवा, पूर्व तयारी कक्षा, भाषा शिक्षण सम्बन्धी कार्यको नविकरण गर्ने सूचना मन्त्रालयले सार्वजनिक गरेको छ । संस्थाहरुले गुगल फर्म मार्फत नविकरणको लागि अनलाइन निवेदन दिनु पर्ने हुन्छ । पहिलो चरणमा असार १६ देखि साउन ५ सम्म मन्त्रालयले माग गरेको विवरण भर्नु पर्ने हुन्छ । साउन ६ देखि १२ सम्म मन्त्रालयमा प्राप्त निवेदनको भेरिफिकेशन गर्ने कार्ययोजना छ ।  उक्त सूचना भेरिफिकेन भएपछि साउन २७ सम्म संस्थाहरुले इमेल मार्फत कागजात पेश गर्नु पर्ने हुन्छ । उक्त कागजात फाइल गरेर संस्थामा राख्नु पर्ने र अनुगमनको क्रममा फाइल बुझाउनु पर्ने प्रावधान सूचनामा समेटिएको छ । 

मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी पहिलो संशोधन निर्देशिका संशोधन गरेर नविकरण प्रक्रिया अघि बढाएको हो । ०७५ साउन १४ अघि मन्त्रालयबाट स्वीकृत पत्र प्राप्त गरेका संस्थाको नविकरण गर्न लागिएको हो । मन्त्रालयले प्रदेशमा दर्ता भएका कन्सल्टेन्सीलाई भने यो प्रक्रियामा सहभागि नगराउने भएको छ । मन्त्रालयले म्यादभित्र नविकरण हुन नआएमा वा नविकरण नगरेमा त्यस्तो संस्थाको स्वीकृति स्वतः खारेज हुने प्रावधान राखेर निर्देशिका संशोधन गरेको छ । 

नविकरण गर्दा कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कम्पनी प्रवन्ध पत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि, सञ्चालकहरुको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि,  परामर्श सेवा प्रदान गर्ने कम्तिमा दुइजना परामर्श दाताको शैक्षिक योग्यता, नेपाली नागरिकता र तालीमको प्रमाणपत्रको प्रतिलिपि, भ्याटमा दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनी अद्यावधिक पत्रको प्रतिलिपि, कम्पनी र संस्थाको कर चुक्ता र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, मन्त्रालयबाट प्राप्त गरेको सेवा सञ्चालन अनुमति र स्वीकृतिको प्रतिलिपि पेश गर्नुृ पर्ने हुन्छ ।

त्यस्तै संस्थाले परामर्श सेवा उपलब्ध गराइ रहेको विदेशी विश्वविद्यालय वा कलेजसँग भएको न्यूनतम दुईवटा सहमति पत्र, विगत तीन आर्थिक वर्षमा परामर्श सेवा उपलब्ध गराई विदेशी शिक्षण संस्थामा अध्ययनका लागि पठाएका विद्यार्थीको तहगत विवरण, घर भाडामा भएको भए कम्तिमा दुई बर्षको घर भाडा सम्झौता पत्र, कम्पनी नाम सारी, ठाउँ सारी तथा नाम परिवर्तन भएको भए त्यसको प्रमाण,अन्तिम पटक तिरेको नविकरण शुल्कको रसिद, स्थायी लेखा नम्बर पेश गर्नु पर्ने हुन्छ ।

नविकरण बापत प्रति वर्ष तीन हजारको दरले हुन आउने रकम मन्त्रालयको नाममा बैंकमा जम्मा गर्नु पर्ने हुन्छ । त्यस्तै कुनै संस्था विरुद्ध मुद्दा चलेको भए त्यसको विवरण पनि पेश गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया