Edukhabar
आइतबार, २३ भदौ २०८१
अन्तर्वार्ता

बढीमा तीन महिनामा नतिजा

पहिलो पठनपाठन र अनुसन्धानका कार्यक्रम, दोश्रो सरकारी नीति नियम, तेश्रो औद्योगिक क्षेत्रमा आवश्यक जनशक्तिको प्रक्षेपण । हामी कहाँ उत्पादित जनशक्ति कहाँ गईरहेको छ ? उद्योगले खोजेको जनशक्ति तयार छ कि छैन ? यो ठूलो खाडल छ ।

सोमबार, ०३ असार २०८१

पछिल्लो समय देशमा विश्वविद्यालय खोल्ने लहर नै चलेको छ । भईरहेका विश्वविद्यालयका कार्यक्रम प्रभावकारी नभएको, विश्वविद्यालयबाट उत्पादित जनशक्ति बजारमा खपत हुन नसकिरहेको र समग्रमा विश्वविद्यालय भनेका सर्टिफिकेट उत्पादन गर्ने कारखाना मात्रै भए भन्ने गुनासो व्याप्त छ । त्रिभुवन विश्वविद्यालयले मात्रै चाप थेग्न नसक्ने ठहर साथ तत्कालिन सरकारले वि. सं. २०५२ मा पूर्वाञ्चल विश्वविद्यालय स्थापना गरेको हो । विश्वविद्यालय स्थापना भए पछि त्यहाँबाट उत्पादित जनशक्ति नेपालको श्रम बजारमा कहाँ छन् ? प्रश्न गम्भिर छ । त्यो भन्दा पनि गम्भिर प्रश्न विश्वविद्यालयहरु भनेको सत्ताधारी दलका कार्यकर्ता भर्ति गर्ने थलोका रुपमा चित्रित छन् । 

पछिल्लो समय सरकारले प्रतिष्पर्धाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने क्रम शुरु गरेको त छ, तर, यसलाई पनि बाहिर प्रतिष्पर्धा देखाउने भित्र भित्रै आफ्नै मान्छे नियुक्ति गर्ने दलका नेताहरुको प्रपञ्च हो भन्ने जानकारहरुको आरोप जारी नै छ । पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा भयो । आवेदन दिएका १८ जनाको कार्ययोजना र सोच पत्रका आधारमा सरकारले प्रा.डा.विजुकुमार थपलियालाई उपकुलपतिको जिम्मेवारी दिएको एक महिना भयो । नियुक्ति सँगै विश्वविद्यालय सञ्चालनका योजना र सोच के छन् त ? मकर श्रेष्ठले थपलियासँग गरेको कुराकानीको मुख्य अँश :

विश्वविद्यालय अहिले कसरी चलिरहेको छ ? 

विश्वविद्यालयको मापदण्ड हुन्छ । त्यो मापदण्डको मूल्य र मान्यता हुन्छ । त्यो मूल्यका आधारमा विश्वविद्यालय चलाउन सकेका छैनौं । मेरो पहिलो प्राथमिकता नै संसारमा विश्वविद्यालयले कायम राखेको मुल्य अनुसार पुर्वाञ्चल विश्वविद्यालय सञ्चालन गर्नु नै हो । सबै भन्दा ठूलो ध्यान पठन पाठनमा हुनु पर्छ । पठन पाठन अव्बल भए पछि सबै कुरा अव्बल हुँदै जान्छ । हामी त्यहाँ नै केन्द्रित छौं । 

पठन पाठन सँगै अनुसन्धान आवश्यक छ । नयाँ कुरा पढाउने गरी शिक्षकहरुलाई अनुसन्धान केन्द्रित गरिएन भने विद्यार्थीलाई आर्कषित गर्न सकिदैंन । हाम्रा फ्याकल्टिहरुले अनुसन्धानमा केन्द्रित हुनु पर्छ । यो क्रम हामीले शुरु गरिसकेका छौं । अनुसन्धानलाई हामी बढाउँदै जाने योजनामा छौं । त्यसका लागि अनुसन्धान केन्द्र बनाउने र त्यस्ता केन्द्रहरुले समाजलाई आवश्यक कुराहरुको पहिचान गर्न सकोस् । मेरो सोचमा  केही अनुसन्धान केन्द्रको खाँचो देखेको छु ।  जस्तै यो प्रदेशमा कृषिको सम्भावना छ ।  त्यसलाई कसरी व्यवस्थापन गर्न सक्छौं भन्नका लागि कृषि अनुसन्धान केन्द्र चाहिन्छ । हामीसँग कृषि, वन विज्ञान पढाउने कलेजहरु छन् । तीनीहरुलाई अनुसन्धानसँग कसरी जोड्ने ? यो कुरा मेरो प्राथमिकतामा छन् । 

त्यस्तै गरेर यहाँ ठूलो औद्योगिक क्षेत्र छ । त्यसलाई चाहिने व्यवस्थापन, जनशक्ति जस्ता कुराहरुमा ध्यान दिएर विश्वविद्यालयले राम्रो श्रोत केन्द्रका रुपमा काम गर्न सक्छ । त्यो हाम्रो लागि अवसर हो । त्यसलाई नपच्छ्याएको हो कि जस्तो लाग्छ । हाम्रो अबको ध्यान त्यता केन्द्रित गर्नु पर्ने छ । 

bijukumar_00

तपाई उपकुलपति नियुक्त हुनका लागि चार बर्षे कार्ययोजना र सोच पत्र पेश गर्नु भएको थियो । त्यसका आधारमा कसरी अघि बढ्ने योजना छ ? 

मैले अघि पनि भने, विश्वविद्यालयमा शैक्षिक, प्राज्ञिक वातावरण राम्रो होस् । अनुसन्धान केन्द्रहरु सकृय हन् । त्यसकै आधारमा विश्वविद्यालय अघि बढ्नु पर्छ भन्ने मेरो अवधारणा र सोच हो । पठनपाठन र अनुसन्धान केन्द्र राम्रो भयो भने विश्वविद्यालय आफैं राम्रो हुन्छ । त्यसैले दक्षिण एसियाली क्षेत्रमै कसरी माथिल्लो श्रेणीमा लैजान सक्छौँ ? त्यो लक्ष्य लिएर काम गर्ने मेरो कार्य योजनामा उल्लेख छ । त्यही आधारमा मेरा काम कारवाहि अघि बढ्ने छन् । 

मैले शुरुमै पनि भने विश्वविद्यालयका केही मापदण्ड र मूल्य मान्यता हुन्छन् । त्यसबाट हामी टाढा जान लागेका छौं भने त्यही मापदण्ड र मूल्य मान्यतामा केन्द्रित गराउनु जरुरी हुन्छ । यस्तै परीक्षाका कुरा पनि छन् । परीक्षा म्यानुएल रुपमा चलिरहेको छ । यसले गर्दा नतिजा ढिलो भईराखेको छ । यसलाई वैज्ञानिक शैली अपनाएर कसरी व्यवस्थित र छिटो गर्ने भन्ने मेरो लक्ष्य छ । परीक्षा र परीक्षणलाई नयाँ शैलीमा लैजाने योजना मैले अवधारणा र सोचपत्रमा उल्लेख गरेको छु । त्यही आधारमा हामीले काम गर्नु पर्ने छ । आगामी केही परीक्षाबाटै हामी नयाँ प्रविधि र शैली अपनाउँदै छौं । त्यसको अनुभव र प्रभावकारिताका आधारमा हामी थप योजना बनाएर अघि बढ्ने छौं । परीक्षाफल निकाल्न दुई महिना देखि लिएर ८ महिना सम्म पनि लाग्ने गरेको छ । यसलाई क्यालेण्डर बनाएर बढिमा तीन महिनामा गर्ने योजना बनाईरहका छौं । आईटि मोडलमा गएर नतिजा निकाल्ने योजना छ । यसको अभ्यास गरिरहेका छौं । आन्तरिक तयारी गरिरहेका छौं । एउटा सेण्टरको एउटा परीक्षालाई लिएर हामी क्रमशः विस्तार गर्दै जाने योजनामा छौं । 

अहिले विश्वमा विश्वविद्यालयको मोडल कस्तो छ भनेर हेर्नु भयो भने त्यहाँ तीन वटा पक्ष सँग संगै हुन्छ । एउटा विश्वविद्यालयको पठनपाठन, अनुसन्धानका कार्यक्रम, दोश्रो सरकारी नीति नियम र तेश्रो औद्योगिक क्षेत्रमा आवश्यक जनशक्तिको प्रक्षेपण गरेर सोही अनुसार उत्पादन गर्नु पर्ने हुन्छ । हामी कहाँ उत्पादित जनशक्ति कहाँ गईरहेको छ ? उद्योगले खोजेको जनशक्ति तयार छ कि छैन ? यो ठूलो खाडल छ । मेरो ध्यान त्यता तर्फ छ । 

यो विश्वविद्यालय नेपालकै ठूला उद्योगहरु भएको, औद्योगिक क्षेत्र रहेको ठाउँमा छ, तपाईले भनिरहनु भएको उद्योगलाई आवश्यक जनशक्ति र उद्योग बिचको त्यो खाडललाई पुर्न तपाईं कहाँबाट काम शुरु गर्नु हुन्छ ? 

मैले धेरै पहिले देखि यो कुरालाई ध्यान दिन्थेँ । पहिला विद्यालयमा, समुदायमा हुन्थ्यो होला अब विश्वविद्यालयबाट त्यो काम गर्नु पर्ने छ । 

उद्योग सञ्चालकहरुको संस्थाहरु छन् । हामी त्यस्ता संस्थाहरुसँग सहकार्य गर्दै उहाँहरुलाई चाहिने जनशक्ति र विश्वविद्यालयका कार्यक्रमहरुले त्यस्ता जनशक्ति तयार बनाएको छ कि छैन ? ध्यान दिन्छौं । 

मेरो नियुक्ति हुने वित्तिकै एउटा कार्यक्रम गरेका थियौं । त्यसमा उद्योग सञ्चालकहरु र हामी बिच विश्वविद्यालयले तयार पारेको जनशक्ति र उद्योगलाई चाहिएको जनशक्ति बिच कहाँ ग्याप छ भनेर विस्तृतमा छलफल भयो । त्यो छलफलले अघि बढ्न मलाई सजिलो भयो । जस्तै हामीले प्राविधिक विषय ईञ्जिनियरिङ्, आईटी, म्यानेजमेण्ट जस्ता विषय पढाउँछौं, जसलाई हामी जब रेडि भन्छौं । विद्यार्थी ग्राज्युएट हुने बित्तिकै काममा सहभागी हुन्छ । तर उ त्यहाँका लागि त कोरा नै हुन्छ । पढेर त आयो तर संस्थाको काम गर्न सक्दैन भन्ने उहाँहरुको गुनासो छ । हाम्रा देशका मुख्य संस्थाहरु, बाहिर देशका संस्थाहरुमा कसरी काम भईरहेको छ भनेर सफलताका कथाहरुमा विद्यार्थीलाई सहभागी गराउने हो भने विद्यार्थीले काम गर्ने तौर तरिका सिक्छन् । कक्षामा ४ दिन बस्छ भने दुई दिन उद्योगमा जान सक्छ । यस बारेमा छुट्टा छुट्टै उद्योगीसँग भन्दा पनि उनीहरु आवद्ध च्याम्बरसँगको सहकार्यबाट काम गर्न सकिन्छ । 

म पनि भागबण्डाबाट नआएकोले विश्वविद्यालयमा अब नियुक्ति हुँदा पनि निष्पक्ष रुपमा योग्यताको आधारमा मात्रै नियुक्ति गर्नेछु । विश्वविद्यालयमा को सक्षम छन् ? उसले प्राथमिकता पाउने छन् । म जुन पद्धतिबाट आएको छु त्यही पद्धति विश्वविद्यालयमा लागू गर्छु । को कुन पार्टीको भन्दा पनि को संग के क्षमता छ ? त्यो हेर्छु, नियुक्ति गर्दा को कुन पार्टीको हो भनेर हेर्दिन ।

विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति र उद्योगलाई चाहिने जनशक्ति बिचको ग्याप कस्तो फेला पार्नु भयो ? 

पढाई सकेर बजारमा निस्कने जनशक्ति कामको लागि योग्य भयो कि भएन भन्ने नै हो । ग्राज्युएट भएर निस्कने जनशक्ति काममा जाँदा पहिलो दिन मै उसले आफ्नो जिम्मेवारी पुरा गर्न सक्छ कि सक्दैन ? सैद्धान्तिक र व्यवहारिक ज्ञान कत्तिको छ ? उद्योगलाई अहिले नै चाहिएको क्षमता त्यो जनशक्तिसँग छ कि छैन ? यो ग्याप मुख्य हो । संसारका अन्य विश्वविद्यालयहरु पनि यो तर्फ केन्द्रित छन् । हामी पनि यो दिशा तर्फ अग्रसर छौं । 

विश्वविद्यालयमा प्राय तालाबन्दी भईरहेको छ, यसलाई समाधान गर्न तपाईले के योजना बनाउनु भएको छ ? 

विश्वविद्यालयमा धेरै कारणले ताला लाग्दै आएको छ । तर, पहिलाको तुलनामा कम हुँदै आएको छ । खास के कारणले त्यस्तो भईरहेको छ भनेर जरै सम्म पुगेर सबैलाई चित्त बुझ्दो समाधानको उपाय निकाल्दा त्यस्ता घटना कम हुँदै जाँदो रहेछ । विद्यार्थीले गरेको तालाबन्दीलाई हामीले कसरी रियाक्ट गर्छौ भन्ने कुराले पनि समाधानको अवधि कति लाग्छ भन्ने भर पर्छ । म कस्तो सोच्छु भने हामी सबैले विश्वविद्यालयको हित हेरेर काम गर्ने हो भने समाधान कठिन छैन । विश्वविद्यालयको हित भनेकै विद्यार्थीको हित हो, त्यहाँ संलग्न प्राध्यापक, कर्मचारीहरुको हित हो । विश्वविद्यालय राम्रो भए पछि सबैलाई राम्रो हुन्छ । 

विश्वविद्यालयको स्वार्थ अघि लगाए पछि समस्या समाधान भईहाल्छ । 

तपाई उपकुलपति हुन आवेदन हाल्दा अरुले पनि विश्वविद्यालय सुधारको योजना सहित आवेदन हालेका थिए । ती मध्ये बाँकी १७ जनासँग पनि नयाँ अवधारणा हुन सक्छ । उनीहरुसँगको सहकार्य कसरी हुन्छ ? 

म उहाँहरुसँग निरन्तर सम्वादमै छु । अन्तर्वार्ताका बेलामा पनि हामी एउटै कोठामा बसेर छलफल गथ्र्यौं । जो आए पनि विश्वविद्यालय सुधार्ने हो भन्ने नै थियो । त्यसैले गर्दा उहाँहरुसँग सम्वादमा नै छु ...

तर तपाई सम्पर्कमै हुनु हुन्न भन्ने सुनिएको छ ...

अहिले शुरुको समय भएकोले, व्यवस्थापकीय काममा व्यस्त छु । आर्थिक बर्ष शुरु भएको ६ / ७ महिनामा बल्ल बजेट सभा हुन्थ्यो । बजेट आए लगत्तै सभा नबस्दा योजना अघि बढाउन गाह्रो हुन्थ्यो । त्यसैले यस पटक बजेट आउनु अघि नै पारित गर्यौं भने समयमै काम गर्नका लागि सहज हुन्छ भनेर त्यता व्यस्त हुँदा उहाँहरुसँग चाहेर पनि छलफल गर्न सकिरहेको छैन । तर, सबै कुरा ठिक ठाउँमा आए पछि सजिलो हुन्छ । 

सम्बन्धन दिएका कलेजहरुमा विश्वविद्यालयको कुरा नमान्ने परिपाटि छ भन्ने सुनिएको छ, यसलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ? 

म विश्वविद्यालयको जिम्मेवार पदमा छु, त्यो भाष्य सहि हो जस्तो लाग्दैन । पूर्वाञ्चल विश्वविद्यालयको परिकल्पना अनुसार कलेजहरुले काम गर्छन् भन्ने विश्वास छ । मेचि देखि नेपालगञ्ज सम्म हाम्रा कलेज छन् । पहाडी क्षेत्रमा पनि छन् । हाम्रो मुख्य श्रोत नै ती कलेज हुन् । नेपाल सरकारको बजेट पनि हुन्छ तर अन्य केही विश्वविद्यालयको जस्तो सबै बजेट सरकारले दिदैंन । हाम्रो मुख्य श्रोत नै हाम्रा कलेजहरु हुन् । त्यसैले कलेजहरुसँगको हाम्रो सम्बन्ध सुमधुर छ । 

bijukumar_01विश्वविद्यालयको काम सम्बन्धन मात्रै बाँड्ने भयो, व्यवस्थापन तर्फ ध्यान दिएन भन्ने गुनासो पनि सुनिन्छ नी !

मुख्य कुरा व्यवस्थापन हो । हाम्रो मुख्य चुनौती पनि यही हो । सात वटा संकाय अनुसार क्याम्पसहरु सञ्चालनमा छन् । हाम्रो अनुगमन संयन्त्रले अनुगमनको काम गर्छ । अनुगमनको कार्यतालिका बनाउन मैले भनिसकेको छु । त्यसका आधारमा अनुगमन निरन्तर हुने व्यवस्था मिलाउने छौं । अनगमन गर्दा हाम्रो पनि दायित्व हुन्छ । कलेजहरुको प्रभावकारी काममा कसरी व्यवस्थापन गर्ने ? यस्ता कुराहरुमा पनि विश्वविद्यालयको चुस्त कार्यसम्पादन जरुरी छ ।

विद्यार्थीलाई केन्द्रमा राखेर परीक्षा, अनुगमन जस्ता कामलाई प्रभावकारी रुपमा निरन्तर राख्ने हाम्रो प्राथमिकतामा छ । यो व्यवस्थापनको पाटो हो । अर्को फ्याकेल्टिको विकास र व्यवस्थापनको कुरा पनि महत्वपूर्ण छ । उहाँहरुको अवधारणा अनुसार नयाँ कार्यक्रमका बारेमा पनि छलफल जारी छ । कहाँ कहाँ कर्मचारी, प्राध्यापकको क्षमता विस्तारमा काम गछौं । 

विश्वविद्यालयले सम्बन्धन मात्रै बाँडिरहने हो ? 

२०७० देखि शुरु भएको हरेक बर्ष थपेको थप्यै छौं । त्यसलाई कसरी जाने भनेर व्यवस्थित रुपमा कार्य गर्ने सम्बन्धनको कुरा एउटा पार्ट मात्रै हो, हाम्रा कार्यक्रम विद्यार्थी सम्म कसरी प्रभावकारी रुपमा पुग्छ, विद्यार्थीले पढ्न पाएका छन् कि छैनन् त्यता केन्द्रित छौं । 

आफू खुला प्रतिस्पर्धाबाट आउनु भयो अब तपाईको टिम कसरी बनाउनु हुन्छ ? 

योग्यताको आधारमा नियुक्ति गर्ने परिपाटी बसाल्ने छु । नियुक्तिको लागि छुट्टै मापदण्ड बनाउने छु । विश्वविद्यालय सुरु भएको ३० वर्षमा विश्वविद्यालयलाई चाहिने जनशक्ति तयार भइसकेको छ । विगतमा जस्तो पार्टीको भागबण्डा हुने सम्भावना छैन । म पनि भागबण्डाबाट नआएकोले विश्वविद्यालयमा अब नियुक्ति हुँदा पनि निष्पक्ष रुपमा योग्यताको आधारमा मात्रै नियुक्ति गर्नेछु । विश्वविद्यालयमा को सक्षम छन् ? उसले प्राथमिकता पाउने छन् । म जुन पद्धतिबाट आएको छु त्यही पद्धति विश्वविद्यालयमा लागू गर्छु । को कुन पार्टीको भन्दा पनि को संग के क्षमता छ ? त्यो हेर्छु, नियुक्ति गर्दा को कुन पार्टीको हो भनेर हेर्दिन ।

विश्वविद्यालयले मेडिकल कलेज चलाउने जुन प्रस्ताव अघि सार्नु भएको छ  कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

आफ्नो तीन सय बेडको अस्पताल हुनु पर्ने कानुनी प्रावधान छ ।  अस्पताल सुरु नभएसम्म एमबीबीएस सुरु गर्न सकिदैँन । त्यस्तै तत्काल हामीले एक सय बेडको अस्पताल व्यवस्थापन गर्नु पर्नेछ । अस्पताल नभएसम्म एमबीबीएस सुरु गर्ने अवस्था छैन । 

नेपाली विद्यार्थीलाई विदेश भन्दा पनि पूर्वाञ्चल विश्वविद्यालयमा आकर्षण गर्ने आधार के के छन् ? 

विश्वविद्यालयको कार्यक्रम भए पनि त्यो पढेपछि के हुन्छ ? भन्ने थाहा पाउन सकेका छैनन् । पहिला मेरो प्राथमिकता विश्वविद्यालयको कार्यक्रम र यसको स्कोपको बारेमा बुझाउन चाहन्छु । कार्यक्रम राम्रो छ तर, हामीले बुझाउन नसक्नु कमजोरी हो । 

समाजसंग विश्वविद्यालय कसरी लैजाने योजना छ ? 

पूर्वाञ्चल विश्वविद्यालयमा समाजमा भन्ने यो नारा पनि तय गरेका छौं । समुदायले रुचाएको कार्यक्रम ग्रामिण स्तरमा बिस्तार गर्ने योजना छ । नयाँ कार्यक्रम नभएर विद्यार्थी विदेश गइरहेका छन् । 

सम्बन्धन मात्रै बाँडेर समाजसँग नजिक भइन्छ र ? 

आंगिक क्याम्पस मोरङ जिल्लामा मात्रै सिमित छौँ । अरु जिल्लामा पनि बिस्तार गर्नु छ । कम्तीमा कोशी प्रदेशको हरेक जिल्लामा एउटा आंगिक कलेज खोल्ने योजना छ । सामुदायिक क्याम्पसलाई पूर्वाञ्चलमा ल्याउन पनि सकिन्छ । 
 

प्रतिक्रिया