Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

शिक्षक सरुवा निर्देशिका स्वीकृत [ निर्देशिका सहित ]

शिक्षक सरुवाका लागि विभिन्न ठाँउमा धाउनुपर्ने व्यवस्था अन्त्य गरिएको शिक्षा मन्त्री श्रेष्ठको दावी छ ।

सोमबार, १४ जेठ २०८१

काठमाडौं - शिक्षा मन्त्रालयले शिक्षक सरुवा निर्देशिका स्वीकृत गरेको छ । आईतबार शिक्षा मन्त्री सुमना श्रेष्ठले निर्देशिका स्वीकृत गरेकी हुन् । 

शिक्षकको पद रिक्त भए पछि त्यसको जानकारी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS)मा राखेर सात दिन भित्र सम्बन्धित स्थानीय तहलाई जानकारी दिनु पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । त्यस्तो सूचना स्थानीय तहले आफ्नो वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ । स्थानीय तहले अद्यावधिक गरेको रिक्त पदको विवरण केन्द्रले आफ्नो वेबसाइटमा राख्नु पर्ने व्यवस्था गरिएको छ । 

रिक्त पदमा सरुवा हुन इच्छुक शिक्षकले शिक्षा नियमावलीको अनुसूचि १७ बमोजिम आफू कार्यरत विद्यालयको सहमति सहित निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । निर्देशिकामा सरुवाका लागि प्राथमिकताक्रम निर्धारणको कार्यविधि पनि राखिएको छ ।

स्थानीय तह अन्तर्गतको सरुवाका लागि स्थानीय तहले पाँच दिनभित्र शिक्षक व्यवस्थापन सम्बन्धी कार्य गर्नुपर्नेछ कार्यविधिमा व्यवस्था छ । जिल्लान्तर सरुवाका लागि भने स्थानीय तहले तीन दिन भित्र सहमति प्रदान गर्नु पर्नेछ र सहमतिका लागि इकाईमा पठाउनु पर्नेछ । दफा १९ बमोजिम सहमति प्राप्त भइसके पछि पेश भएका कागजात रूजु गरी तीन दिनभित्र इकाईले सरुवा सम्बन्धी निर्णय गरी सम्बन्धित शिक्षक, विद्यालय र स्थानीय तहलाई जानकारी दिनु पर्ने व्यवस्था गरिएको छ । 

सरुवाका लागि सहमति दिँदा कुनै पनि प्रकारको शुल्क वा सहयोग लिएको÷दिएको पाइएमा दुबैलाई प्रचलित नेपाल कानून बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाइने निर्देशिकामा उल्लेख छ ।

शिक्षक सरुवा लगायतका विषय सहज र सरल बनाई शिक्षकलाई थप प्रोत्साहित बनाउन मन्त्रालयले थप योजनाहरु पनि प्रस्ताव गरेको छ । यस वर्षको नीति तथा कार्यक्रममा उल्लेख एकिकृत विद्युतीय प्रणाली ‘शिक्षक पोर्टल’ मा शिक्षकले खुला पदहरू बारे जानकारी पाउने देखि स्थानान्तरणको आवेदन गर्न सक्ने व्यवस्था गरिने जनाईएको छ । 

शिक्षक सरुवा सम्बन्धी विभिन्न गुनासा सम्बोधन गर्न शिक्षा मन्त्री सुमना श्रेष्ठल जिल्लान्तर सरुवा रोक्का गरेकी थिइन् । शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमान योग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले निर्देशिका जारी गरेको मन्त्री श्रेष्ठले बताइृन् । 

‘शिक्षण पेशालाई गुणस्तरीय, आकर्षक र मर्यादित बनाउने हाम्रो प्रयास हो' मन्त्री श्रेष्ठले भनिन् 'शिक्षकको सरुवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन, तालिम लगायतमा मन्त्रालयको सुधारको कार्ययोजनामा यो निर्देशिका प्रस्थान बिन्दु हो ।’ 

निर्देशिकामा शिक्षकले सरुवाका लागि आफै विभिन्न ठाँउमा धाउनुपर्ने व्यवस्था अन्त्य गरिएको उनको दावी छ । 

निर्देशिका पढ्नुहोस् :

 

प्रतिक्रिया