Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

शिक्षक सरुवा मापदण्ड : सरुवाको निवेदन दिएको एक महिनाभित्र निर्णय गर्नु पर्ने

दरबन्दी खाली भएको विद्यालयको विवरण समन्वय इकाई र केन्द्रबाट सार्वजनिक गर्नु पर्ने

सोमबार, १४ जेठ २०८१

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवाको नयाँ मापदण्ड जारी गरेको छ । शिक्षक सरुवा हुनु अघि कुन विद्यालयमा कुन विषयको शिक्षक दरबन्दी खाली छ भन्ने सार्वजनिक गरेर मात्रै सरुवाको प्रक्रिया अघि बढाउने गरी नयाँ मापदण्ड जारी गरेको हो । मापदण्ड जारी भएसंगै शिक्षक सरुवाको बाटो खुलेको छ । सरुवा हुन चाहने शिक्षकले निवेदन दिएको ३० दिन भित्र निर्णय गरिसक्नु पर्ने हुन्छ ।

 शिक्षक सरुवामा आर्थिक चलखेल रोक्न मन्त्रालयले सरुवा भएर जाने विद्यालयको दरबन्दी खाली भएको विवरण शिक्षा विकास समन्वय इकाई र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सार्वजनिक भएपछि मात्रै सरुवा प्रक्रिया अघि बढाउने गरी मापदण्ड स्वीकृत गरेको मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए । 

‘कहाँ दरबन्दी खाली छ सार्वजनिक गरेर मात्रै सरुवा प्रक्रिया अगाडि बढाउने गरी नयाँ मापदण्ड जारी भएको छ,’ उनले भने,‘सरुवा हुन चाहने शिक्षकले १५ दिन भित्र निवेदन दिनु पर्ने हुन्छ । एक महिना भित्र पनि सरुवा नभएमा सरुवा नहुनुको कारण सहित जवाफ दिनु पर्ने मापदण्ड बनेको छ ।’

 शिक्षक सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमती नचाहिने गरी शिक्षा नियमावलीको अनुसूची १७ हटाउने निर्णय भए पनि कानुन मन्त्रालयको सहमतिको लागि पठाइएको छ । सरुवामा आर्थिक चलखेल गरेको भन्दै मन्त्री सुमना श्रेष्ठले अन्तर जिल्ला सरुवा रोकेकी थिइन । 

 

प्रतिक्रिया