Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

उत्तर पुस्तिका परीक्षण चार दिनमा सकिने, असार १४ सम्म एसइई नतिजा

परीक्षण केन्द्रले पठाएको विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री गर्ने काम सुरु

आइतबार, १३ जेठ २०८१

काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (एसइई) को नतिजा असार दोस्रो साता भित्र प्रकाशन गर्ने तयारी गरेको छ । उत्तर पुस्तिका परीक्षणको काम चार दिन भित्र सकिने भएकोले अब नम्बर इन्ट्री गर्न मात्रै बाँकी रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । 

चैत १५ देखि सुरु भएको परीक्षामा नियमित तर्फ ४ लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । त्यस्तै २१ हजार विद्यार्थी  ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् । 

विद्यार्थीको उत्तर पुस्तिका ५२ वटा परीक्षण केन्द्रमा पठाइएकोमा ३१ वटामा परीक्षण सकिएर नम्बर समेत आइसकेको परीक्षा नियन्त्रक पौडेलले बताए । 

‘बाँकी केन्द्रमा पनि बढीमा चार दिन भित्र परीक्षणको काम सकिन्छ,’उनले भने ।

परीक्षण केन्द्रले पठाएको विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री गर्ने काम सुरु भइसकेको पौडेलले बताए ।

‘परीक्षण सकिएको केन्द्रबाट प्राप्त नम्बर इन्ट्री भइरहेको छ,’उनले भने ।

असार १४ गतेसम्म नतिजा प्रकाशन गर्ने र विद्यार्थीको ग्रेड सिट साउनको पहिलो साता भित्रै विद्यालयमा पठाउने योजनाको साथ काम भइरहेको कार्यालयले जनाएको छ । 

अघिल्लो वर्ष असार २४ मा नतिजा सार्वजनिक भएको थियो । अघिल्लो वर्ष भन्दा दुई साता अघि सार्वजनिक गर्ने गरी काम भइरहेको पौडेलले बताए ।  कार्यालयले यसपालि एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरेर निकाल्दै छ । सैद्धान्तिक तर्फको ७५ अंकको परीक्षामा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अथार्त २७ अंक ल्याउनै पर्ने हुन्छ । विद्यार्थीले २७ अंक ल्याउन नसकेकोमा विद्यार्थीले पाउने ग्रेडसीटमा एनजी उल्लेख हुनेछ । यो भनेको विगतको श्रेणी छुट्टाएर गर्ने नतिजा फेल भए सरह हो । 

 

 

 

प्रतिक्रिया