Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
गतिविधि

चैत मसान्तसम्म पाठ्यपुस्तक स्थानीय तहमा पुर्‍याउन जनक शिक्षालाई निर्देशन

दैनिक प्रगती विवरण हरेक दिन बेलुका ७ बजे सम्म जानकारी गराउनु पर्ने

मंगलबार, ०६ चैत्र २०८०

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत मसान्तसम्म स्थानीय तहभित्र पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था गर्न जनक शिक्षा सामाग्री केन्द्रलाई निर्देशन दिएको छ ।

‘आगामी शैक्षिक सत्र निकट भविष्यमा सुरु हुन लागेको सन्दर्भमा कक्षा १ देखि कक्षा १० सम्मका पाठ्यपुस्तक  वैशाख ०२ गतेबाट विद्यार्थीको हातमा पुग्नु पर्ने पक्षमा ध्यान दिई समयमा नै पाठ्यपुस्तक छपाई सम्पन्न गर्न र स्थानीय तहसम्म पाठ्यपुस्तक ढुवानीको कार्य तत्काल सुरु गर्नुपर्ने भएको छ,’शिक्षा सचिव सुरेश अधिकारीले दिएको निर्देशनमा भनिएको छ,‘अतः पाठ्यपुस्तक ढुवानी गरी चैत्र मसान्तसम्म सबै स्थानीय तहहरूमा पुऱ्याउने सम्बन्धमा देहाय बमोजिम कार्यसम्पादन गर्न निर्देशित गरेको छु ।’

दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तत्काल पाठ्यपुस्तक ढुवानीको कार्य सुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ । त्यस्तै पाठ्यपुस्तक छपाई, ढुवानी सहितको विस्तृत कार्य योजना तयार गरी पेस गर्न मन्त्रालयले केन्द्रलाई निर्देशन दिएको हो । कार्य योजना सम्पन्न नभएसम्म त्यसको प्रगति विवरण दैनिक (साँझ ७ बजे भित्र) रूपमा पेस गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो । निर्देशनमा भनिएको छ,‘पाठ्यपुस्तक ढुवानीमा कुनै पनि किसिमको समस्या उत्पन्न भएमा वा अवरोधको सम्भावना देखिएमा तुरुन्तै मन्त्रालयमा जानकारी गराउनु ।’

चालु शैक्षिक सत्रमा समयमै पाठ्युस्तक पुगेको जस तत्कालिन शिक्षा मन्त्री शिशिर खनालले पाएका थिए । सत्ता गठबन्धन बदलिएसँगै फेरी सोही दलबाट श्रेष्ठ शिक्षा मन्त्री भए पछि उनको ध्यान पनि पाठ्यपुस्तकमा केन्द्रित भएको हो । पाठ्यपुस्तक छपाइको अवस्था बुझ्न मन्त्री श्रेष्ठ केन्द्रमा पुग्दा विद्यालय तहका लागि २१ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी नै रहेको तथ्याँक देखाईएको थियो । कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक छपाई गर्ने काम जनक शिक्षा सामग्री केन्द्रको हो । 

पाठ्यपुस्तकको विस्तृत विवरणका लागि यो खबर पढ्नुहोस् :

शैक्षिक सत्र सुरु हुन एक महिना, २१ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी

प्रतिक्रिया