- यम घिमिरे/ अंग्रेजी शब्द ‘bully’ वा ‘bullying’ को नेपाली समानार्थी एकल शब्द छैन जस्तो लाग्छ। ‘Bullying’ शब्दको समग्र परिभाषालाई नेपाली भाषाका निम्न कर्महरुले समेट्ने रहेछन्: हेप्ने, दल्ने, भित्तो लाउने, सताउने, बेइज्जत गर्ने, हात हाल्ने, घुर्चिने, अकारण मानहानी गर्ने, कमारो बनाउने, शोषण गर्ने, तड्पाउने, हुर्मत लिने, नाम राख्ने, खिसिट्युरी गर्ने, दुर्बचन गर्ने, चित्त दुखाउने, गरिखान नदिने, पेल्ने, लात्तेभकुण्डो बनाउने, माल-सर्दाम खोस्ने, हेपेर खाइदिने आदि।
यस लेखमा अब उप्रान्त सजिलोको लागि माथि सूचिकृत हाम्रा कुकर्महरुलाई जनाउन एउटै अंग्रेजी शब्द ‘Bullying’ को देवनागरी रुप “बुलिइंग”प्रयोग गरिने छ। झट्ट हेर्दा हाम्रो ‘बुइंगल’ भनेर पढिने खतराबाट भने तपाईंले आफुलाई लेखैभरि जोगाउनु पर्ने हुन्छ।
हालसालैका बर्षमा बुलिइंगको डिजिटल प्रकार पनि थपिएको छ ‘साइबर बुलिइंग’ जसको परिभाषा मोबाइल फोन, इमेल, टेक्स्ट म्यासेज, वा सामाजिक संजाल साइटमार्फत मान्छेको चित्त दुख्ने, गालिबेइज्जति हुने टिप्पणी गर्नु वा फैलाउनु भन्ने हुन्छ।
यो लेखमा बिद्यालयमा हुने बुलिइंग, यसको रोकथाममा क्यानडेली बिद्यालय र समाजमा हुने प्रयास र नेपाली अनुभवका बारेका चर्चा गरिने छ।
म बिगत ५ बर्षदेखि क्यानडा बस्दै छु।केहि पहिले यहाँको पब्लिक स्कुलमा टिचिंग असिस्टेन्ट स्थायी दरबन्दीमा नाम निस्केपछि यहाँको शिक्षा प्रणाली, शिक्षण सिकाइका दर्शन, उदेश्य र बिधि, कक्षा कोठाका क्रियाकलाप, शिक्षक र प्रधानाध्यापको व्यक्तित्व, आचरण, ब्यबसायिक गुण र चरित्र र एउटा बिद्यालयको समाज र असल नागरिक निर्माण गर्न के कति सघन उतरदायित्व हुनुपर्ने रहेछ भन्ने कुराको प्रत्यक्ष अनुभव गर्न पाएको छु। यी
यावत् बिषयमा कुनैदिन छुट्टै शिर्षकमा चर्चा गरौंला। अहिलेलाई बुलिइंगमै ध्यान दिन्छु।
बुलिइंगसम्बन्धी केहि क्यानेडेली तथ्यांक हेरौ:
८६ प्रतिशत क्यानेडेली शिक्षकले बुलिइंगलाई सार्बजनिक बिद्यालयमा हुने एउटा गम्भीर समस्याका रुपमा ठहर्याए, क्यानाडामा बुलिइंगका ८० % घटना बिद्यालयमा नै हुन्छन्, क्यानडामा प्रत्येक ८ मिनेटमा एउटा बच्चा वा किशोर/किशोरी स्कुलको खेल मैदानमा बुलिइंगबाट पीडित हुन्छन्, ११ देखि १६ बर्षका पाँच बालबालिकामध्ये एकजना बुलिइंगको सिकार भएको हुन्छ, अधिकांश बुलिइंग छेवैको प्रत्यक्षदर्शीले हस्तक्षेप गर्ने बितिक्कै रोकिन्छ, अझ बुलिइंग भइरहेको स्थितिमा अर्को साथी(peer)ले हस्तक्षेप गर्दा त १० सेकेन्डमै बुलिइंग रोकिन्छ आदि।
बुलिइंगले एउटा होनहार बच्चा र किशोर/किशोरीको जीवन बर्बाद पार्न सक्छ, एउटा परिवारको खुसी लुट्न सक्छ र सभ्य र सुरक्षित समाजिक जीवन जिउन पाउने अधिकारलाई कुण्ठित गर्छ भन्नेबारेमा यहाँको समाज, कानुन र शैक्षिक प्रणाली निक्कै सचेत छ र यसलाई कुनै हालतमा सहनेवाला छैन।
नोभेम्बर १५-२२ लाई क्यानाडाले “बुलिइंग बिरुद्ध चेतना र रोकथाम सप्ताह” भनेर देसब्यापी रुपमा अभियान चलायो। सबै राज्यका संचार माध्यम, नागरिक समाज, अभियन्ता, स्कुल सबैले अति नै महत्वका साथ क्रियाकलाप, बहस र प्रचारप्रसार गरे।
“बुलिइंग क्यानेडेलीलाई क्यानेडेली हुँ भनेर गर्ब गर्न सघाउने कुरा होइन (Bullying does not help us to be proud of beeing more Canadian), हाम्रो उत्कृष्ट सहिष्णु समाजमा यो कुरा सर्वथा बर्जित छ(We are the melting pot of multiculturalism, bullying is no way acceptable), असल साथी त्यो हो जो सधैं एकअर्काको भर गर्न तत्पर हुन्छ(Good friends always stand for each other),तपाईंको बोलीले चित्त दुखाउन सक्छ(words hurt)”बिहान सबै बिद्यार्थी र शिक्षक कक्षा कोठामा पसिसकेपछि प्रिन्सिपल म्यालेडिजले आफ्नो अफिसबाट सबै कक्षा कोठाको सिलिंगमा जडेको माइकबाट सुनिने गरी ‘प्रिन्सिपल’ज अनाउन्समेन्ट’ गरिन्। अनि सबै शिक्षकलाई आग्रह गर्दै बुलिइंग बिरुद्ध नानीहरुको हालको बुझाइ जाँचेर के कति बताउनु पर्ने, कस्ता कक्षा क्रियाकलापबाट चेतना जागृत गर्ने निर्णय लिएर यो हप्ताभरि बालबालिकाहरुसंग सहकार्य गर्नु होला भनिन्।
सबै बिद्यार्थी र शिक्षकले ठाडा कान पारे।
शिक्षकले सबैलाई सोधिन: बुलिइंग के हो थाहा छ ? यो ठिक हो त ? किन ठिक होइन ? बुलिइंग भइरहेको देख्यौ भने के गर्छौ ? बुलिइंग भएको अनुभव भएमा ‘स्टोरी सेयर’ गरौँ, कसैको छ ?
बच्चाले गल्तिबस आफुले एकदिन बुलि गरेको, अरुले आफुलाई बुलि गरेको आफ्ना अनुभव सुनाए।
त्यो ठिक हो त ? कस्तो अनुभव भयो तिमीलाई ? शिक्षकले सोधिन्।
‘होइन’ एक स्वरमा बच्चाले भने।
‘मलाई त रुन मन लाग्यो अरुले बुलि गर्दा’ अरुले थपे।
एकैछिनमा अन्तर-कक्षा अभियानअन्तर्गत कक्षा ९ का ३ जना केटाकेटी आएर जुनियरलाई बुलिइंग बिरुद्ध केहि भाषण र आफुले बनाएका चित्र पोस्टर देखाएर अन्तरक्रिया गरेर गए।
छोटो एउटा फिल्म देखाइयो कक्षाको स्मार्ट बोर्डमा। बच्चा भावुक भए र आफुले कहिले कसैलाई बुलिइंग नगर्ने बाचा गरे। यस्तै अभियान हप्तैभरि चलिरह्यो।
क्यानडेली समाज तुलनात्मकरुपले निक्कै नै सहिष्णु छ। कसैको मनभित्रै पसेर त कसले जान्ने तर यहाँको अभ्यासमा आएको स्वीकृत चरित्र अरुको कुरा काट्ने आँट नगर्नु, बिबिधतालाई आदरका साथ् स्वीकार गर्नु, रुप रङ्ग, शारीरिक फरकपनलाई सजहरुपमा लिनु, नम्र बोल्नु, असहमतिलाई सभ्य ढंगले व्यक्त गर्नु, सकारात्मक सोच र पक्षमा जोड दिनु, व्यक्तिगत आचरण र सामाजिक जीवनलाई जिम्मेवार बनाउनु यहाँको चरित्र हो।
सभ्य समाज बनाउने अभियानमा सानासाना कुरा पनि निक्कै नै मिहीन पाराले ब्यबस्थापन गर्ने संस्कृति बसेको हुनाले बिद्यालयमा हुने कुनैपनि प्रकारका बुलिइंगमा सुन्य सहनशीलताको अभ्यास गरिन्छ क्यानडामा।
यति गम्भीरताका साथ यति अर्थपूर्ण ढंगले बुलिइंग बिरुद्ध शिक्षा र चेतनाका अभियान चलाउदा पनि क्यानडाका स्कुलमा बुलिइंग छ। कारण हो स्कुले बालबालिकाको विश्वजनिन कच्चा उमेर र मानसिकता।एउटा नेपाली रमाइलो “अहिले पढायो अघि बिर्सिन्छ” भनेजस्तो। कच्चा उमेरका बालबालिका, किशोर/किशोरीको प्रकृति नै पढाउनुभन्दा पहिले नै बिर्सिने, परिणामको ख्याल नगर्ने र व्यक्तित्व टकरावमा हार्न नचाहने हुन्छ।
क्यानडाका स्कुलमा बुलिइंगको रुपमा लिइने गुनासा यस्ता हुन्छन्:
टिचर मलाई त्यसले ‘ब्याड वर्ड’ भनेर मेरो ‘फिलिंग हर्ट’ गर्यो, टिचर त्यसले मलाई टाउकोमा छोएकोछोई गर्यो त्यो मलाई मन परेन, टिचर त्यसले मलाई हाम्रो समुहमा खेल्न कहिले पाउदैनस भन्यो, टिचर त्यसले मलाई किक हान्यो, टिचर त्यसले मलाई नहेर भन्दा हेरेको हेरेई गर्यो, टिचर त्यसले मेरो कपाल नराम्रो भन्यो, टिचर त्यसले मलाई हेरेर हाँस्यो, टिचर त्यसले मलाई ‘एंग्री लुक’ले हेर्यो, टिचर त्यसले मलाई ‘हेट’ गर्छु भन्यो, टिचर उसले मलाई “एफ-वर्ड” ले गालि गर्यो, टिचर तिनीहरु समुहमा ‘कोअपरेटिभ’ भएनन्, टिचर तिनीहरु सधैं मलाई एक्लो पार्छन्, टिचर त्यसले मेरो ‘लन्च’को बास्नामा मुख बिगार्यो...
शिक्षकले गुनासोको गम्भीरता र स्थिति हेरी दुई जनालाई मात्र बोलाएर सभ्य र नम्र भाषामा तिनका चित्तमा महशुस हुनेगरी बुझाएर कसलाई माफी माग्नु पर्ने र कसले माफी दिनु पर्ने कुराको छिनोफानो गर्छन्। संगसंगै माफी दिनु पनि एउटा असल नागरिक गुण हो भनेर सिकाउछन्।अलिक ठुलालाई हो भने ‘तिमीहरु आफैं महशुस गर त, यो ठिक हो ?’ भनेर ‘होइन’ भन्ने पारेर ‘ल आफैं समाधान लिएर आओ, ल संवाद गर’ भनेर समय दिन्छन्।गल्ति गर्नेलाई टिफिनमा बाहिर निस्किन नदिएर, ‘फन मेकिंग’मा भाग लिन नदिएर, ‘टाइम आउट’ रुममा एक्लै पारेर राख्छन् र ‘सरि’ भनेपछि मात्रै कक्षामा सामेल हुन दिन्छन् नत्र दिनभरि एक्लै पार्दिन्छन्। तर, भाटो लाउने, भाते, धन्धुकारी, तेरीमा एकराते....भन्नेजस्ता गालीगलौज गर्ने कल्पनाभन्दा बाहिरका कुरा हुन् यहाँ।
स्थिति गम्भीर हो भने बच्चाको झोलामा सधै हुने ‘अजेन्डा’ नामको खातामा स्थिति खुलाएर अभिभावकलाई नोट लेखी पठाउछन् र राय सुझाब माग्छन् शिक्षकले। उस्तै परे भेट्न बोलाउछन् तर इस्यु आइसकेपछि त्यसलाई सामाजिक मूल्यमान्यताको कसीमा नघोटी, समाधान ननिकाली छोड्नेवाला छैनन्।
“हामीले काबू हुनै मिल्दैन...स्कुले उमेरमा यति मेहनत र गम्भीरताका साथ एन्टी-बुलिइंग शिक्षा दिएकै भएर बच्चा युवा भइसक्दा क्यानडेली समाजको मूल्यमा जिउन सकेको छ, यो समाजलाई क्यानेडेली समाज बनाइरहन सकिएको छ” शिक्षा मन्त्रीको सन्देश गर्भे माइकबाट स्कुलका कोठा कोठामा पुग्यो।
मैले नेपालमा सरकारी स्कुल पढें। सन् २००४ देखि सन् २००९ सम्म ग्रामीण नेपाली सरकारी स्कुलमा पढाएँ।बुलिइंगका अनगिन्ति उजुरीसंग साक्षात्कार भएँ।बुलिइंग साना केटाकेटीमाझ मात्रै हुने भनेर बुझ्नु हुदैन। ठुला उमेर पुगेका कलेज विश्वबिद्यालय पढ्ने बिद्यार्थीमाझ पनि बुलिइंग कम हुन्न र यो तहमा हुने बुलिइंग अझ गम्भीर र संवेदनशील परिणामउन्मुख हुन्छन्।मुद्दा मिलाएँ पनि। तर, कहिले बुलिइंगलाई गम्भीरतापूर्वक लिइन।‘स्कुले केटाकेटीको जातै चकचके, खानका काल, जेमराजहरु, पढ्नु छैन खालि लर्या छ बस्या छ’ भने मैले पनि मनमनै र सुन्नेगरि पनि।
हाम्रो समाजमा जान्नेले नजान्नेलाई हेप्ने, नजान्नेले नि जान्नेसंग जोरका तोर सिंगौरी खेल्ने, धनीले गरिबलाई दल्ने, बलियाले निर्धालाई दपेट्ने, सुकिलाले मैलालाई नगन्ने, मोटर चढ्नेले साइकल कुदाउनेलाई मिच्ने, हेडसरले पिउनलाई कमारो बनाउने धेरथोर सर्बस्वीकृत चलन हुन्। त्यहि भएर प्रहरीको हाकिमको घरमा सिपाहीले ढलान गर्नु परेको, काजीले रने दर्जीलाई पन्चकै सामु दुई थप्पड लाएको र त्यतिकै फासफुस भएको जस्ता कुरा हामीलाई सामान्य लाग्छ। तर यी सबै बुलिइंगका अनेक रुप हुन्।
हाम्रा बिद्यार्थी बुलिइंगको उजुरी लिएर आउने कुरालाई खासै ठुलो कुरा मान्दैनौ हामी। कसैले कसैको लुगा च्यातिदिनु, दाँतमा रगत आउनेगरी हान्नु, कपि कलम चोरिदिनु, नाम राखेर हैरान पार्नु, सिटमा बस्न नदिनु, कित्ताकाट गर्नु सबैथोकलाई सामान्य रुमपा लिन्छौं र एउटा लौरो उजाएर सबैथोक ठिक पार्न खोज्छौं।
यस्तो बेवास्ताले समाजलाई सभ्य, सम्मानपूर्ण र सहिष्णु बन्न नदिन धेरै भूमिका गरिरहेका हुन्छ भन्नेबारे हाम्रो ध्यान नै जाँदैन। त्यहि भएर हाम्रो शिक्षा प्रणालीबाट उत्पादित हामी शिक्षक, पन्च-भलाद्मी, नेता, कर्मचारी, मदजुर सबै नै कुनै न कुनै हिसाबले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म नै घृणा, आलोचना, किताकाट, तोडफोड, हातपात जस्ता बुलिइंगजनित कर्म गरिरहेका हुन्छौं वा साक्षी बसेर पचाइरहेका हुन्छौं वा आफ्नो झन्डावालाले गरेको भनेर मनमनै ठीक गरिस भनिरहेका हुन्छौं र यसलाई यस्तै हो सामान्य हो भनेर स्विकारिरहेका हुन्छौं।
बुलिइंगलाई साना केटाकेटीमाझ मात्रै हुने सामान्य कुरा भनेर बुझ्नु हुदैन। ठुला उमेर पुगेका कलेज विश्वबिद्यालय पढ्ने बिद्यार्थीमाझ पनि बुलिइंग कम हुन्न र यो तहमा हुने बुलिइंग अझ गम्भीर र संवेदनशील परिणामउन्मुख हुन्छन्।
बुलिइंगबाट पीडित भएको कुरा घरमा नसुनाए पनि त्यसको बिकराल असर भित्रभित्रै बालबालिकामा परेको कुरा अलिक ख्याल गर्ने हो भने थाहा पाइन्छ। स्कुल जान नमान्ने, पढाइ लेखाइमा मन्द हुदै जाने, पढाइ छोड्ने, डराउने, तर्सिने, आत्मबल कम्जोर हुने, आत्महत्याको सोच आउने, एक्लै बस्न रुचाउने, सामाजिकीकरणमा समस्या आउने लगायत बालबालिकाको स्वाभाविक शैक्षिक र व्यक्तित्व विकासमा अनेक बाधा व्यवधान आएर एउटा जीवन नै बर्बाद हुने सम्मका परिणाम बुलिइंगले ल्याउछ।
स्कुले जीवनमा बुलिइंगको सिकार नभएको तपाईं हामी कोहि छैनौं होला।
सात कक्षा पढ्दासम्म स्कुल जाँदा बाटोमा, स्कुलको टिफिनमा चौरमा वा फर्किंदा बाटोमा कुनै न कुनै हिसाबले दुई चार लाति नखाइकन त घर आइन्न थियो। बलियाले हामी लुतेलाई गुच्चा /खोपी खेल्दा मारेको पनि नदिने, गुच्चा सापट लगेर फिर्ता नगर्ने, झुम्रे गोल लगिदिने, ग्याटिस चुडाइदिने, खाजा धुतेर खाइदिने सबै बेहोरियो।कापीका पानाको बाजीमा फुटबल र एक खुट्टे खेल्दा बलियाले हामी निर्धाका कापीका पाना झिकेर बाजी थाप्ने, गोजीका हर्रो, बर्रो अमलामा खानतलासी गरेर हडप्ने, हेपेर काम लाउने, नाक लामो, खुट्टा लामो भनेर शरीरको रुप बनावटमा खिसिट्युरी गर्ने, लाते भकुण्डो बनाउने, अर्काको शरीरलाई कम्फु कराँते, उल्टीसुल्टी किक सिक्ने साधन बनाउने, घरको बाटो हिड्न नदिने, पैसा खोसेर लाने, पुच्छर झुन्ड्याई दिने, लुगामा मसिले कोरिदिने, बाटो ढुकेर कुट्ने, खेलमा सामेल हुन नदिने सबैथोक बेहोरियो। यो अझै यथाबत छ।
नेपालमा बिशेषगरी सरकारी स्कुल पढ्ने ग्रामीण क्षेत्रका बालबालिका बुलिइंगको सिकार भएको कुरा बाबुआमालाई भन्नुको साटो भित्रभित्रै गुम्स्याएर बस्छन। देखिनेगरी चिथोरेको, नंग्रयाएको, कपडा च्यातिएको, कलम कापी नभएर नयाँ किन्दिनु पर्ने भएको स्थितिमा मात्रै बाआमाले बुलिइंगको मुद्दा थाहा पाउंथे। थाहा पाएपनि काम बिताएर स्कुलसम्म पुगी हेड सरका सामु सिकायत गर्ने फुर्सद कहाँ बाआमालाई। गइहाले पनि न्याय मिल्ला भन्ने के ग्यारेन्टी र मत्स्य न्यायको समाजमा।
‘धनेले मलाई उसै लाती हान्यो’ भनेर उजुरी लिएर हेड सरकाँ पुग्ने अलिक निम्जो जितेले नै उल्टै हप्की खान्छ हेड सरको निसाफमा। हेड सरले ‘तँ जिरे, त्यत्रो ठुलो धनेसंग किन जोरी खोज्नु त’ भन्दै अझैपनि दुबैका कान निमोठेर पठाइदिने न्याय प्रणाली हो हाम्रो भनेको।
मोटरको डाइबरले आफ्नो गोहो पक्डिरहेको साइकलवालालाई “रांडीका छोरा मर्न मन छ?” भनेर अर्को सडक प्रयोगकर्तालाई बुलिइंग गरेर जाँदा सुन्नेले ‘त्यत्रो गाडी आको देखीदेखी के भाको यो साइकलवाला’ नै भन्छ। सबैको साझा सडकमा डाइबरले एक्लै राज गरौंलाझैं गरेको, अरुलाई बुलिइंग गरेको आम चासो र न्यायसोचको बिषय बन्न सकेको छैन अझै पनि हाम्रोमा। यो हाम्रो जीवन चरित्र हो। यहि कुरा स्कुलमा पनि प्रकट हुन्छ। अझ शिक्षकले नै अर्को शिक्षकलाई बुलिइंग गरिरहेको पो हुन्छ।
गैर-सरकारी संस्थाहरुले ‘हेपाइ’ भनेको के हो भन्नेबारेका रंगीन पोस्टरहरु गाउँघरका स्कुलका भित्तामा टाँसेको देखेको थिएँ। यस्ता पोस्टर टसाइ परिणाममूखी भन्दा कर्मकाण्डी बढी छन्।यताको अनुभवबाट बुझ्दा हाम्रा बिद्यालयहरुमा बुलिइंग बिरुद्ध संगठित अभियान, क्रियाकलाप, सूचना र शिक्षाको ब्यबहारिक प्रचार/प्रसारको अति नै खाँचो रहेछ।
मलाई अहिले मेरा एकजना भूतपूर्व सहकर्मी शिक्षकको सम्झना आइरहेछ।
केटाकेटीले फलानाले यसो गर्यो र ढिस्कानाले उसो गर्यो भनेर गुनासो लिएर आउदा दिक्क मानेर उनले नियम नै बसालिदिएका थिए ‘पोल लाउनेलाई दुई भाटा, दोषीलाई चार भाटा।’
अनि उठाउदैन बुलिङले शीर !
(लेखक क्यानडाको सरकारी बिद्यालयमा कार्यरत छन्)
प्रकाशित मिति २०७२ मंसिर २० गते
प्रतिक्रिया