Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

भरिभराउ काठमाडौँ विश्वविद्यालय, एकै वर्षमा १७ प्रतिशत विद्यार्थी बढ्यो

विद्यार्थी आए पढाउने हो भनेर हुँदैन । समुदायसँग पनि भिजेर काम गर्न थालेका छौ । स्थानीय तह र विद्यालयसँग पनि सहकार्य गर्न थालेका छौ : उपकुलपति थापा

बुधबार, १० माघ २०८०

काठमाडौँ - विदेश अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढेकै कारण नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी नभएको बहस भइरहेको बेला काठमाडौँ विश्वविद्यालयको सातै वटै स्कुलमा पर्याप्त विद्यार्थी भएका भएका छन् । विश्वविद्यालयमा क्षमताको ८७ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । 

यो दुई वर्षअघिको भन्दा १७ प्रतिशत बढी हो भने अघिल्लो वर्षभन्दा १५ प्रतिशतले बढी हो । दुई सय भन्दा बढी कार्यक्रम अध्ययन हुने विश्वविद्यालयमा सबैभन्दा बढी कानुन संकायमा विद्यार्थीको आकर्षण देखिएको छ । गत वर्ष ९५ प्रतिशत सिट पुरा भएकोमा यस वर्ष सत प्रतिशत भर्ना भएका छन् । यस वर्षको आकर्षण स्कुल अफ एजुकेसनमा देखिएको छ । 

तीन वर्ष अघि ४६ प्रतिशत सिटमा मात्रै भर्ना भएकोमा गत वर्ष ५४ र यस वर्ष ९२ प्रतिशत विद्यार्थी भर्ना भएको विश्वविद्यालयले जनाएको छ । अघिल्लो वर्षसम्म स्कुल अफ एजुकेसनमा चार सयको हाराहारीमा विद्यार्थी हुने गरेमा यसपालि ८ सय १९ विद्यार्थी अध्ययनरत रहेको डीन प्रा.डा. बालचन्द्र लुइँटेलले बताए । 

‘शिक्षा पढ्ने विद्यार्थी घट्नु पर्ने कारण देख्दिन । कक्षामा काम लाग्ने कन्टेन्ट दिएपछि स्वतः विद्यार्थी बढ्ने रहेछ,’उनले भने,‘चन्द्र सूर्य रहेसम्म शिक्षण पेसा त रहिरन्छ । हाम्रो पढाई विद्यार्थीको कक्षाकोठासँग जोड्छौ । पैसा पनि लिन्छौ सुविधा पनि दिन्छौ । परीक्षा सकिएको दुई महिनामा रिजल्ट गर्छौ । फयाक्लटी थप गरेका छौ । त्यसैले विद्यार्थीले हामीलाई विश्वास पनि गरेका छन् ।’

विश्वविद्यालयले विद्यार्थीलाई पढाउने मात्रै नभई समुदायमा नजिक भएर काम गरेकै कारण विद्यार्थी बढाउन सकेको उपकुलपति प्रा.डा. भोला थापाले बताए ।

‘विद्यार्थी आए पढाउने हो भनेर हुँदैन । समुदायसँग पनि भिजेर काम गर्न थालेका छौ । स्थानीय तह र विद्यालयसँग पनि सहकार्य गर्न थालेका छौ,’उपकुलपति थापाले भने,‘विद्यार्थीले तिरेको शुल्कले विश्वविद्यालय चल्ने हो । यदि विद्यार्थी नै भएन भने हाम्रो खर्च कसरी चल्छ र त्यसैले विश्वविद्यालय परिवार नै विद्यार्थी खोज्न लाग्छौ । विद्यार्थी र अभिभावकले पनि हामीलाई विश्वास गर्नु भएको छ ।’ 

विश्वविद्यालयको स्कुल अफ एजुकेसनमा मात्रै नभई स्कुल अफ आर्ट्समा पनि उत्तिकै विद्यार्थी बढेका छन् । अघिल्लो वर्ष कुल सिटको ५४ प्रतिशत मात्रै भर्ना भएको स्कुल अफ आर्ट्समा यसपालि ७३ प्रतिशत सिटमा विद्यार्थी भर्ना भएका छन् । ब्याचलर इन यौगिक साइन्सेस एन्ड बेलबिङमा विद्यार्थीको आकर्षण बढी देखिएको छ । 

४० सिटमा ४० जना नै भर्नाका भएका छन् । क्राफ्ट एन्ड डिजाइनमा त कोटा भन्दा आठ जना बढी भर्ना भएका छन् । २० जनाको कोटामा २८ जना भर्ना भएका छन् । ब्याचलर अफ फाइन आर्ट्समा ३३ जनाको कोटामा ३४ जना भर्ना भएका छन् । 

विश्वविद्यालयको स्कुल अफ ईञ्जिनियरिङमा पनि उत्तिकै विद्यार्थी भर्ना भएका छन् । ईञ्जिनियरिङमा चार सय ६० सिटमा ४ सय २१ जना भर्ना पाएका छन् । कम्प्युटर ईञ्जिनियरिङमा ६० सिटमा ६०, एआईमा ३० सिटमा  ३१, सिभिल लगायतको विषयमा पर्याप्त विद्यार्थी भर्ना भएका छन् । ईञ्जिनियरिङमा तर्फ केमिकल ईञ्जिनियरिङमा विद्यार्थी आकर्षण अरूको तुलनामा कम आकर्षण देखिएको छ ।

स्कुल अफ म्यानेजमेण्टमा सबै भन्दा आकर्षण बिबिए, बीबीआइएसमा देखिएको छ । ५ सय ६८ भर्ना क्षमता भएकोमा ४ सय ४७ ले भर्ना भएका छन् । स्कुल अफ मेडिकल साइन्समा एमबिबिएस, बीडीएस, बीएस्सी नर्सिङ तर्फ विद्यार्थीको चाप भए पनि बीएनएस, बीएमआइडी, बीएस्सी ल्याबमा विद्यार्थीको भर्ना न्यून देखिएको छ । स्कुल अफ साइन्समा भने एप्लाइड फिजिक्स बाहेकका विषयमा विद्यार्थीको आकर्षण देखिएको छ । बायो टेक्नोलोजी, फार्मेसी, कम्प्युटर साइन्समा विद्यार्थी आकर्षण बढी देखिएको छ । 

विश्वविद्यालयले समुदायसँग सहकार्य थालेपछि विश्वविद्यालयमा पढाई हुने कार्यक्रमको जानकारी कुना कुनामा पनि थाहा पाएकै कारण विद्यार्थी क्रमशः बढ्दै गएको लुइँटेलले बताए ।

‘हामीले विद्यार्थी मात्रै खोज्दैनौ । सुविधा पनि दिएका छौ । योग्य प्राध्यापक छन्,’उनले भने,‘ फाइनान्सिङ अडिट गरेजस्तै प्राज्ञिक अडिट पनि गर्छौ । कसले कस्तो पढाइहेका छन् भन्ने विद्यार्थीसँग प्रतिक्रिया लिन्छौ । आफ्नो कमजोरीको खोजी गर्ने सिस्टम बनाएर सुधारको प्रयास गर्छौ, । त्यसैले परिवर्तनको देखिन थालेको हो ।’ 

प्रतिक्रिया