Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

त्रिविको उपकुलपतिमा ४३ जनाको दर्खास्त , वहालवाला उपकुलपति नै उपकुलपतिको दावेदार !

तोकिएको समय सकिईसक्दा पनि केही व्यक्ति दरखास्त हाल्न मन्त्रालय पुगेका थिए । तर, कार्यालय समय सकिएको भन्दै मन्त्रालयका कर्मचारीले उनीहरुको आवेदन दर्ता गरेनन् ।

सोमबार, ०८ माघ २०८०

काठमाडौं -त्रिभुुवन विश्वविद्यालयको उपकुलपतिमा ४३ जनाले दर्खास्त हालेका छन् ।* अन्य विश्वविद्यालयका वहालवाला उपकुलपतिले समेत त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन दर्खास्त हालेका छन् । उपकुलपति छनौट समितिले १५ दिनको समय दिएर विज्ञापन गरेको थियो ।

उपकुलपतिमा मध्यपश्चिम विश्वविद्यालयका वहालवाला उपकुलपति प्रा. नन्दबहादुर सिंहले पनि दर्खास्त हालेका छन् । ०७६ मा नियुक्ति भएका सिंहको कार्यकाल आउँदो फागुन १८ गते सकिदैं छ । 

त्यस्तै त्रिविकै कार्यवहाक उपकुलपति शिवलाल भुषालले पनि सोमबार दर्खास्त हालेका छन् ।

vc abedan

तोकिएको समयमा ४३ जनाले दर्खास्त हालेका छन् । दर्खास्त हाल्नेमा त्रिविकै पूर्व उपकुलपति तीर्थ खनियाँ, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष चन्द्रमणि पौडेल, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्माले पनि छन् । त्यस्तै टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारी लगायतले उपकुलपतिको लागि दर्खास्त हालेका छन् । उपकुलपतिको आवेदन दिन मन्त्रालयमा लाइन लागेको थियो । मन्त्रालयको उच्च शिक्षा शाखामा पालैपालो दर्खास्त दिएर आपसमा शुभकामना दिदै उम्मेद्वारहरु बाहिरिएका थिए । 

तोकिएको समय सकिईसक्दा पनि केही व्यक्ति दरखास्त हाल्न मन्त्रालय पुगेका थिए । तर, कार्यालय समय सकिएको भन्दै मन्त्रालयका कर्मचारीले उनीहरुको आवेदन दर्ता गरेनन् । ढिलो आउने मध्येका एक  रिकाष्टका पूर्व निर्देशक प्रा.डा. रामेश्वर अधिकारी पनि थिए । ढिलो आएकै कारण उनले दरखास्त दर्ता गर्नै पाएनन् । उपकुलपतीका लागि आफू योग्य उम्मेद्वार हुँदा हुँदै पनि दर्ता गर्न नपाएको उनको गुनासो छ ।  

'म सबै भन्दा गतिलो उम्मेद्वार हुन्थेँ, तर जाममा परेका कारण ढिलो भएँ त्यसैले दर्ता गर्न भ्याईन' उनले भने । 

यस अघि शिक्षा मन्त्री अशोक कुमार राई संयोजक रहेको उपकुलपति सिफारिस समितिले खकुलो मापदण्ड बनाएर दरखास्त आह्वान गरेको भन्दै चौतर्फि आलोचना भए पछि उक्त सूचना रद्ध गरी नयाँ मापदण्ड सहित अर्को सूचना सार्वजनिक गरिएको थियो । कुनै पनि  राजनीतिक दलको सदस्य नभएको व्यक्ति मात्रै त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुने गरी मापदण्ड तयार पारिएको छ । प्राध्यापक भएका जो सुकैले आवेदन दिन पाउने गरी पहिलो पटकको मापदण्ड सच्याउँदै प्राध्यापक भएर प्रशासनिक र व्यवस्थापकीय पदमा अनुभव हासिल गरेका व्यक्तिले उपकुपतिको लागि आवेदन दिन सक्ने नयाँ मापदण्ड तय गरिएको थियो । 

उपकुलपतिको उम्मेदवारले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र समेत पेश गर्नु पर्ने हुन्छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको व्यहोरा खुलेको स्वघोषणा पत्र पेश गर्नु पर्ने हुन्छ । यस अनुसार विश्वविद्यालयबाट सम्बन्धन लिएको कुनै कलेजमा शेयर भएको व्यक्ति पनि उपकुलपतिको उम्मेदवार हुन योग्य नहुने मापदण्डमा व्यवस्था छ । नेपाली नागरिक भने हुनै पर्नेछ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै विश्वविद्यालय कार्यवाहक उपकुलपतिका भरमा सञ्चालनमा छ । नयाँ उपकुलपतिको पदपूर्ति नभएसम्म विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि कुलपति समेत रहेका प्रधानमन्त्रीले शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुषाललाई तीन महिनाका लागि जिम्मेवारी तोकेका छन् । 

* अपडेट गरिएको । 

प्रतिक्रिया