Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

अतिरिक्त कक्षा सञ्चालन गर्ने शिक्षकलाई थप रकम

अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन गर्न निर्देशन

आइतबार, ०७ माघ २०८०

काठमाडौं - अतिरिक्त कक्षा सञ्चालन गर्ने शिक्षकलाई नगद प्रोत्साहन दिने काठमाडौं महानपालिकाको निर्णयलाई सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक गुणस्तर सुधार गर्ने उदाहरणीय कार्य भन्दै प्रंशसा गरेका छन् । 

महानगरपालिकाले गौरवको योजना ‘गरि खाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार कार्यक्रम अन्तर्गत कक्षा १० मा अतिरिक्त कक्षा लिने शिक्षकलाई प्रति पिरियड ३ सय रुपैंया दिने निर्णय गरेको थियो ।  अंग्रेजी, गणित र विज्ञान विषयको अनिवार्य रुपमा अतिरिक्त कक्षा सञ्चालन गराउन महानगरले निर्देशन समेत दिएको छ । 

महानगरको निर्देशनमा भनिएको छ, ‘अतिरिक्त कक्षा सञ्चालन गर्ने शिक्षकलाई प्रति पिरियड ३ सय रुपैंयाका दरले प्रोत्साहन रकम उपलब्ध गराइने भएकाले अतिरिक्त कक्षाको दैनिक कार्यतालिका, विषयगत शिक्षकको नाम र प्रति पिरियड ३ सय रुपैंयाका दरले प्रति विषयगत शिक्षकलाई उपलब्ध गराउन आवश्यक पर्ने रकम (जाडो बिदामा कक्षा सञ्चालन गरेको भए सो समेत गणना गरी) को तालिका तयार गरी १ (एक) हप्ता भित्र शिक्षा विभागमा पेस गर्नु हुन अनुरोध छ ।’ 

पद्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमले महानगरले अतिरिक्त कक्षा चलाउन थप प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय उदाहरणीय भएको बताए । विद्यागृह माध्यमिक विद्यालय लैनचौरका प्रधानाध्यापक शिवकुमारी बरालले महानगरको कार्य सकारात्मक र सराहनीय भएको बताइन । विश्वनिकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलले शैक्षिक सुधारमा महानगरपालिकाले एकपछि अर्को सराहनीय काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

प्रतिक्रिया