Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

मध्यपश्चिम र सुदुरपश्चिममा विश्वविद्यालयमा पनि नयाँ उपकुलपतिको खोजी

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट समितिमा शिक्षामन्त्री राखिएको भएपनि यी दुई विश्वविद्यालयमा मन्त्री राखिएको छैन ।

आइतबार, ०७ माघ २०८०

काठमाडौं-सरकारले त्रिभुवन विश्वविद्यालयसंगै मध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपति खोजी सुरु गरेको छ । दुवै विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिन लागेपछि नयाँ उपकुलपतिको खोजी गरेको हो । 
सुदुरपश्चिम विश्वविद्यालयमा प्रा.डा. अमरराज जोशी र मध्यपश्चिम विश्वविद्यालयमा प्रा. नन्दबहादुर सिंह ०७६ फागुन १८ मा नियुक्ति भएका थिए ।

उनीहरुको चार वर्षे कार्यकाल सकिनु अघि नै प्रधानमन्त्री कार्यालयले नयाँ उपकुलपतिको खोजी सुरु गरेको हो । उपकुलपति खोजी गर्न प्रधानमन्त्री कार्यालयले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी, योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारी रहेको उपकुलपति छनौट समिति गठन गरेको छ । 
०७६ मा तत्कालिन प्रधानमन्त्री केपी ओलीले फागुन १८ मा मध्य र सदुरपश्चिम विश्वविद्यालयका उपकुलपति सहित नेपाल संस्कृत विश्वविद्यालमा प्रा.डा. प्रेमनारायण अर्याल, पोखरा विश्वविद्यालयमा प्रा. डा. प्रेम नारायण अर्याल, पुर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा. यादवराज कोईराला नियुक्त गरेका थिए । 
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाको ०८० कार्तिक १६ देखि पदावधि सकिएपनि अर्को उपकुलपति नियुक्ति हुन सकेको छैन । शिक्षामन्त्री संयोजक रहेको छनौट समितिले नयाँ उपकुलपतिको विज्ञापन निकालेको छ । उपकुलपति हुन चाहनेले सोमबारसम्म आवेदन दिने समय तोकिएको छ । माघको तेस्रो सातासम्म त्रिविमा नयाँ उपकुलपति नियुक्ति गरिसक्नु पर्ने हुन्छ ।

विश्वविद्यालय ऐन अनुसार नयाँ उपकुलपति नआएसम्म दैनिक कार्यसञ्चालन गर्न माघ १७ सम्मको लागि शिवलाल भुषाललाई सरकारले उपकुपतिको जिम्मेवारी दिएको छ । त्रिविको उपकुलपति छनौट समितिले बनाएको मापदण्ड बिबादमा परेपछि अर्को नयाँ मापदण्ड जारी गरेको छ । यही मापदण्ड अरु विश्वविद्यालयमा समेत लागू हुन सक्ने मध्य र सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपति छनौट समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया