Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

'हेडमाष्टर'ले नटेर्नेलाई शिक्षा विभागको महानिर्देशक !

शुक्रबार, १८ मंसिर २०७२

भक्तपुर – ओठ निचोर्दा दुध आउला जस्तो छ, विनी रे ! कति जना हेडमाष्टरले त भेट हुँदा हात नमिलाएको मात्रै हैन हातै थुतेको सम्झना ताजै छ । हेडमाष्टरहरुका यस्ता हेपाह ब्यवहार देख्दा भर्खरै विद्यालय निरीक्षक भएर काममा खटिएको २३ बर्षे ठिटोलाई खुबै झ्वाँक चल्थ्यो !

तर अघिल्लो पटक अन्तर्वार्तामा पुगेर पनि जागिर नपाएको सम्झदैं आफूलाई सम्हाल्नुको विकल्प थिएन । जति मुरमुरिए पनि त्यो ठिटोले निष्कर्ष निकाल्यो – कामै गरेर देखाउँछु अनी बल्ल हिसाव किताव खोजौंला !
२२ बर्ष अघि अर्थात् २०५१ सालताका मनमा गडेको यो हर हिसाबको बही खाता समयसँगै नष्ट भएपनि 'कामै गरेर देखाउँछु' भन्ने मन भित्रको ईच्छा भने उस्तै रहेको दावि गर्छन् - शिक्षा विभागका नवनियुक्त महानिर्देशक खगराज बराल ।

शिक्षा मन्त्रालयले ८ जना सहसचिवको सरुवा गरेसँगै बराल विभागको महानिर्देशक भएका छन् ।

पुराना दिन सम्झदैं उनले भने 'उतिखेरको भोगाई तथा भावना र अहिलेको कार्यकारी जिम्मेवारी नित्तान्त फरक कुरा हुन् ।' आफूँ यतिखेर अब गर्नु पर्ने कामको फेरहिस्त बनाउनमा ब्यस्त रहेको उनी बताउँछन् । दैनिक प्रशासन र ब्यवस्थापनका काम भन्दा पनि खास गरी भूकम्प पछि शिक्षालयहरुको पुननिर्माण तथा देश संघीयतामा गए पछिको शिक्षाको खाका र प्रारुप निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने उनले बताए ।

'शुसासन, पारदर्शिता र भएका कामको प्रभावकारी अनुगमन संयन्त्र निर्माण अहिलेका चुनौति ठानेको छु' उनले भने, 'शिक्षामा सुधार भनेको विद्यार्थीको सिकाई उपलब्धिबाटै मापन हुन्छ, त्यसका लागि आवश्यक ब्यवस्थित शिक्षालयमै मेरो ध्यान केन्द्रित हुने छ ।'

मन्त्रालयले तय गरेका निती र शिक्षा मन्त्रीद्धारा सार्वजनिके प्रतिबद्धता कार्यान्वयन गर्नु अहिलेको मुख्य काम भएको बताउँदै बरालले शिक्षकहरुले सिकेको ज्ञान र सीपलाई कक्षा कोठा सम्म पुर्याउन आवश्यक ध्यान दिने बताए । यसका लागि शिक्षकले भोगेका समस्या समाधान र उनीहरुलाई उत्तरदायी बनाउनु आवश्यक रहेको उनको ठहर छ । 'शिक्षकलाई तालिम त दियौं तर त्यो तालिम कक्षा कोठा सम्म नपुग्नुको खास कारणको पहिचान आवश्यक छ' उनले भने, 'शिक्षकले भोगेका समस्या समाधान नभएर सुधार नभएको बताईन्छ, यस बारेमा शिक्षक महासंघसंग बसेर कहाँ कहाँ समस्या छन् पहिचान गरी उनीहरुका समस्या समाधान गर्न पहल गर्छु, त्यसो त संसदमा दर्ता भएको ऐन पारित हुनासाथ शिक्षकका धरै समस्या समाधान हुन्छन् ।'

महानिर्देशकका रुपमा आफ्ना योजना र काम बारे केही समय पछि विस्तृतमा कुरा गर्ने बताउँदै बरालले शुक्रबार दिउँसो एडुखबरसँग जागिरे जिवनका पुराना दिन मात्रै सम्झेनन्, भोगाई र अनूभूति पनि बाँडे । २०५८ सालमा बझाङ् सरुवा हुँदाको भोगाई  उनको जागिरे जीवनको महत्वपूर्ण मोड रहेछ ।

'म खुरुखुर काम गर्दै आएको पोखरामा पोष्टिङ् थियो, अकस्मात बझाङ् सरुवा भयो, भर्खर छोरो जन्मेको थियो घरमा मेरो खाँचो थियो, मन्त्रालयमा भनेपछि मरो ब्यवहारिक समस्या बुझिन्छ होला भनेर पोखराबाट मन्त्रालय आएँ' उनले भने, 'मेरो सरुवा रोकिएन पछि थाह पाएँ  मन्त्रालयमा आफूलाई चिनेको मान्छे नभएकै आधारमा मेरो सरुवा भएको रे ।' 

२०५९ र २०६३ साल गरी दुई पटक उपसचिवका लागि लिखितमा नाम निस्केर पनि अन्र्तवार्तामा फेल भएपछि झन् मन विरक्तिएको बताउँदै बरालले २०६४ सालमा उपसचिव खुल्ला र आन्तरिक तथा सह सचिव खुल्लामा एकै पटक भिड्ने निधो गरे । 'अन्तिम पटक भिडि हेर्छु नभए जागिरै खान्न भन्ने निधो गरेर भिडेको दुवैको लिखितमा त नाम निस्कयो तर लोक सेवा आयोगमा पदाधिकारी खाली भएकोले एक बर्ष सम्म अन्र्तवार्ता नै भएन' उनले भने 'फागुनमा आमा वितेर किरियामा बस्दा शरीर र मन दुवैले गलित थिएँ, चैत ४ गते सहसचिव अन्र्तवार्ताको मिति तय भयो. ठानेँ मलाई बढुवा हुन लेखेको रैनछ । तै पनि अन्तवार्तामा सहभागि भएँ ।'

अन्तर्वार्ता त राम्रै भएको थियो तर भनसुनको अभावमा ईतिहास राम्रो थिएन । मनमा उतिसारो आशा थिएन, पोखरा फर्कदैं गर्दा उनले सहसचिव भएको खबर बाटोमै सुने ।

एक महिना पहिले मात्रै सहसचिव हुन पाएको भए आमा कति खुसी हुनुहुन्थ्यो होला सम्झदैंमा मन अमिलो भयो, एक मनले आमालाई सम्झे, अर्को मनमा क्षमता हुनेलाई भनसुनको भर पर्नु पर्ने रैनछ भन्ने आयो ।

त्यसैले अव मन्त्रालय, विभाग धाउने, मन्त्री हाकिम रिझाउने ढंग नभएकै आधारमा कुनै कर्मचारीको ब्यवहारिक समस्या नसुनिने दिन नदोहोरिने उनको दावी छ ।

विनीका रुपमा रुपन्देहीबाट सेवा प्रबेश गरेका बरालले कास्कि, बझाङ्, तनहुँमा रहेर काम गरे । सहसचिवमा बढुवा भएपछि उनी मन्त्रालय, क्षेसीनी मध्यमाञ्चल, विभाग, पाठ्यक्रम, परीक्षा हुँदै पछिल्लो समय शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए ।

यसैविच शिक्षा मन्त्रालयले केन्द्रका कार्यकारी निर्देशकमा मन्त्रालयका सूर्य गौतमलाई सरुवा गरेको छ भने विभागका महानिर्देशक रहेका डिल्ली रिमाललाई मन्त्रालयमा सरुवा गरेको छ ।

यसैगरी विभागका निर्देशक खगेन्द्र नेपाललाई परीक्षा नियन्त्रण कार्यालय, उनको ठाउँमा पश्चिमाञ्चल क्षेसीनी बैकुण्ठ अर्याल, र यस अघिका नियन्त्रक विष्णुबहादुर द्धारेलाई प्राथमिक शिक्षा पौष्टिक आहार परियोजनामा सरुवा गरेको छ । पाठ्यक्रम विकास केन्द्रका दिवाकर ढुङ्गेललाई अनौपचारिक शिक्षा केन्द्र र केन्द्रका बाबुराम पौडेललाई पाठ्यक्रममा सरुवा गरेको छ ।

प्रकाशित मिति २०७२ मंसिर १८ गते

प्रतिक्रिया