Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शिक्षक माग्दै तालाबन्दी

मंगलबार, १९ जेठ २०७२

पर्सा १९ जेठ / विद्यालयमा अर्थशास्त्र, लेखा र बिज्ञान बिषयको शिक्षक नभएको भन्दै नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय महुवनका  बिद्यार्थीले विद्यालयमा  तालाबन्दी गरेका छन् । निजी स्रोतका शिक्षक कमलेश ठाकुर र चन्दन साहले तलब भत्ता नपाएर विद्यालय छाडेपछि विगत पाँच महिना देखी उक्त बिषयका शिक्षक छैनन् ।

बिद्यालय प्रशासनले शिक्षक नियुक्ती तर्फ ध्यान नदिएको बिद्यार्थीको आरोप छ । मंगलबार प्रधानाध्यापक शिव पटेल विद्यालयमा अनुपस्थित भएकाले छलफल गर्न नसकिएको शिक्षकहरुले बताएका छन् । यता बिद्यार्थीहरुले भने शिक्षकको ब्यवस्था नहुन्जेल ताला बन्दी जारी रहने बताएका छन् । प्रधानाध्यापक पटेलले भने जिल्ला शिक्षा कार्यालयमा शिक्षक माग गर्दै लिखित र मौखिक जानकारी गराए पनि शिक्षा कार्यालय शिक्षक नपठाएकाले समस्या भएको बताए ।

जिल्ला शिक्षा कार्यालयका विद्यालय प्रशासन फाँटका कर्मचारी विद्यानन्द यादवले विद्यालयमा हाल सम्म व्यवस्थापन समिति नभएको र शिक्षा नियमावलीमा शिक्षक नियुक्तीका लागि व्यवस्थापन समितिले माग गर्नु पर्ने भएकाले ढिलाई भएको बताए ।

कुनै पनि विद्यालयमा शिक्षक नियक्ति तथा सरुवा गर्नु परेमा व्यवस्थापन समिति मार्फत प्रकृया शुरु गर्नु पर्ने हुन्छ । राजनीतिक खिचातानीका कारण पर्साका करिव ७५ प्रतिशत विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

तस्विर : ईन्टरनेट

प्रतिक्रिया