आज संसार यसरी साँघुरिएको छ कि सबै कुरा अति छिटो परिवर्तन भैरहेका छन् । परिवर्तनको गति र हाम्रो मति नमिल्दा विकाससँगै हामीमा असमञ्जस्यता थपिएका छन् । डिजिटल दुनियाँले हामीलाई माथिबाट थिचिसकेको छ । यसबाट हामी उम्कन सक्दैनौँ । तर व्यवस्थापन गर्न सक्छौँ । गर्नैपर्छ । अन्यथा आज विद्यार्थिले शिक्षक छोड्न थालेको छ । अभिभावक छोड्न थालेको छ । व्यवस्थापन नभए समाज छोड्छ । छोड्न शुरु भैसकेको छ । हाम्रा विद्वानहरु अचम्म छन् । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोच्नु सट्टा “एनओसी” रोक्ने कुरा सोच्दैछन् ! यो सँसारको नवौँ आश्चर्य हो !
विश्वविद्यालयको क्यालेण्डर छैन । पढ्ने बिषयमा विविधता छैन । बिषय छनौटमा जडसुत्रवाद छ । लचकता छैन । भर्ना र रिजल्टको ठेगान छैन । पास भए पनि स्तर छैन । पढिसकेर काम छैन । यस्तो ठाँउमा किन बस्ने ? बिद्यार्थी किन बस्छ ? उसलाई मनलागेको ठाँउमा जानपाउनु उसको नैसर्गिक अधिकार हो । जिम्मेदार कोही छ भने सोच्नु पर्छ । पठन संस्कृतिको बिकास नहुनुमा यी कुरा पनि जिम्मेदार छन् । यस आलेखमा पठन संस्कृतिको विकासका लागि आवश्यक छलफलको विषय उठान गर्न खोजिएको छ ।
१.स्तरीय पुस्तक प्रकाशन
हामी सिकाइको कुरा त गर्छौं तर कसरी सिकाइ बढ्छ ? त्यसमा पर्याप्त ध्यान पुर्याउन सकेका छैनौँ । यसका लागि नियमित पाठ्यपुस्तक मात्र पर्याप्त हुँदैनन् । खासमा बालबालिकालाई घर गएपछि कोर्सको किताव पढ्न मनै लाग्दैन । दिनभरी पढेको कुरा उसलाई नयाँ लाग्दैन । पुरानो उसलाई मन पर्दैन । यसका लागि स्तरीय सहायक सामग्री पर्याप्त मात्रामा उपलब्ध हुनुपर्छ । बजारमा के त्यस्ता सामग्री छन् ?
एकपटक एकजना प्रवुद्ध व्यक्तिलाई मैले चिया गफमा सोधेँ आजकल कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
“गिजुभाईको दिवास्वप्न” तिमि पनि एक पटक पढ ।”
अली पहिलेको कुरा हो । उसैदिन “दिवास्वप्न” खोज्न हिडेँ । शिक्षक मासिकले निकालेको उक्त पुस्तक किनेकै दिन सुरु गरेको नसिध्याई उठ्नै सकिन । गुणस्तरीय पुस्तकका लागि पाठक समस्या छैन ।
साहित्यकार स्व. कृष्ण प्रसाद पराजुलीको सम्झनामा बाल साहित्यकार शास्वत पराजुलीले “रमाईला नानी बाल साहित्य पुरस्कार” नै स्थापना गरी कार्यान्वयनमा ल्याएका छन् । यस्ता कार्यले गुणस्तरीय बालसामग्री बजारमा आँउछन् । यो कुरा राष्ट्रको लागि गुन हो । गहना हो । सिकाइ समूहल पनि राम्रा पुस्तकहरु पैशासन गरिरहेको छ । यस्ता कार्य गर्ने अन्य धेरै संस्था र समूह छन् । तीनिहरुको खोजी हुनुपर्छ । सरकार साझेदार हुनुपर्छ । तब तिनीहरु उठ्छन् । तब न नयाँ नयाँ सामग्री थपिदै जान्छन् ! तब न वच्चाले राम्रा भित्र पनि छान्न पाँउछन् । तब न बच्चाले पढ्न शुरु गर्छन् !
२. पुस्तौं पुस्ताका लागि पुस्तकालय
हाम्रो देशमा पुस्तकालयको ईतिहास केलाउने हो भने धेरै पुरानो छ । समाजका अगुवा, समाजसेवी, नेता आदिले पुस्तकालय खोल्न र त्यसको प्रयोगमा जोड दिन्थे । घाँस, दाउरा गर्दा पनि पुस्तक पढ्नुपर्छ भन्ने भावना थियो ।
पुस्तकालयको कुरा गर्दा बाईसी चौबिसि राज्यका समयमा भक्तपुरमा “सकोठा” नामक पुस्तकालय भएको भन्ने सुनिन्छ । बि.सं. १८२७ मा पृथ्वीनारायण शाहले हनुमान ढोकामा पाण्डुलिपि सँग्रह गर्न लगाएको भन्ने भनाई छ । बि. सं. १८६९ भदौ १५ गते गिर्वाणयुद्ध विक्रम शाहले सरकारी स्तरवाट नियम बनाएर “पुस्तक चिताई तहबिल” नामक पुस्तकालय स्थापना गराएको प्रमाणका आधारमा नेपाल सरकारले यही मितिलाई आधार बनाएर हरेक बर्ष भाद्र १५ गतेलाई पुस्तकालय दिवसको रुपमा मनाउँदै आएको छ । प्रसिद्ध लेखक तथा ईतिहासविद् प्रा.दिनेशराज पन्तले यो मिति सुझाएका हुन् भनिन्छ । यस अघि सरकारले भिम शमशेरको पालामा वि. सं. १९८७ को “लाईब्रेरी पर्व” भएको दिनलाई दिवसको रुपमा मनाउने की भन्ने सोच रहेको रहेछ । यो पुस्तकालयको कालोदिन भएकाले यो मिति सही नहुने राय दिएका थिए रे, पन्तले।
यो बर्षको पुस्तकालय दिवसको नारा “पुस्तौँ पुस्ताका लागि पुस्तकालय” भन्ने आदर्श वाक्यका साथ विविध कार्यक्रम गरी मनाईएको छ । अबका दिनमा सिरहा पुस्तकालय (१९७२), धवल पुस्तकालय तानसेन (१९८३), केशर पुस्तकालय(१९०८), नेपाल राष्ट्रिय पुस्तकालय (बि.सं. २०१३), डिल्लिरमण पुस्तकालय, बिपि पुस्तकालय, रत्न पुस्तकालय आदि कस्तो अवस्थामा छन् ? खोज्नु पर्छ । यी त सार्वजनिक पुस्तकालय केही उदाहरणका लागि भए । अरु धेरै छन् । कति निजी प्रयासमा पनि सञ्चालनमा छन् । तिनको हौसला बढाउन सरकारले सहयोग गर्नु पर्छ । सरकारले यस्ता प्रयासलाई प्रोत्साहन गर्नु पर्छ । निजी प्रयासका पनि धेरै छन् । खोजिनु पर्छ । तब समाजलाई सुसंस्कृत बनाउन टेवा पुग्छ । प्रत्येक बर्ष पुस्तकालय दिवसको नारा बनाउने र मनाउने कुराले मात्र आजको समाजको पठन संस्कृतिलाई उठाउन सकिदैँन । यसका लागि “पुस्तकालय खोज । सिकाइ सामग्री रोज । यसलाई प्रविधिमैत्री बनाउ । पुस्तक पढ्ने अभियान चलाउ”। यो जरुरी छ ।
विकसित देशहरुमा पुस्तकालयलाई समाजको अभिन्न अङ्गको रुपमा बिकास गरिएको पाईन्छ । प्रत्येक समुदायमा सुविधा सम्पन्न पुस्ताकलय हुन्छन् । अभिभावकहरु आ–आफ्ना बालबालिकाहरुलाई समय तालिका मिलाएर पुस्तकालय लैजान्छन् । पढ भनेर भाषण गर्दैनन् । उनिहरु सँगै पढ्छन् । बिस्तारै बच्चा हुर्कदै जाँदा उसमा पठन संस्कृतिको विकास भै सकेको हुन्छ ।
एउटा उदाहरण सम्झना भयो– हामीले न्युयोर्कमा चोविसै घण्टा खुला भएको पुस्तकालय देख्दा अचम्म परेका थियौ । त्यो पनि पाठकको खचाखच भिड । डिजिटल दुनियाँले पठन संस्कृतिमा ह्रास आयो भन्ने हो भने प्रविधिको उच्चतम पहुँच र अभ्यास भएको मुलुकमा पठन संस्कृतिको विकास त राम्ररी भएको रहेछ त !
तर हाम्रोमा आज डिजिटल प्रविधिको विकाससँगै पुस्तकालयको विकास र प्रयोग घट्दो छ । पुराना पुस्तकालय संरक्षित छैनन् । नयाँ बनेकाहरुमा पनि नियमित पाठक छैनन् । यो बिषय सरकारको प्राथमिकताको बिषय हुनुपर्छ । यो भएको छैन । फलतःपठन सँस्कृतिमा ह्रास हुँदै गएको छ । आजको मुद्दा प्रविधिको बिरोध हैन । पुस्तकालयलाई डिजिटल मैत्री बनाउँदै पाठक मैत्री बनाउनु हो । संघीय, स्थानिय सरकारले यसलाई अभियानको रुपमा अगाडी बढाउनु पर्छ ।
३.डिजिटल व्यवस्थापन
तिर्थ ब्रतका लागि सातु, चामल पोको पारेर घरको हिसाव परिवारको जेठोलाई बुझाएर विदाई हुने चलन थियो कुनै बेला, तिर्थ यात्रुको । यसको सिधा अर्थ हुन्थ्यो– हामी नफर्कन पनि सक्छौ ! घर छोडेपछि नफर्के सम्म सुचना सम्पर्कको कुनै उपाय नै थिएन । त्यो अवस्थावाट आज प्रविधिको विकासले दुनियाँ सजिलो भएको छ । महिनौ, वर्षौँ लाग्ने यात्राहरु दिन र घण्टामा समेटिएका छन् । कसैलाई भेट्नकै लागि अत्तासिनु पर्ने अवस्था छैन । घर करेसा बाट दुनियाँको जुनकुनै कुनाका आफन्तसँग आँखा जुधाएर कुरा गर्न सकिन्छ । समाचारकै लागि मात्र पत्रिका पसल नचल्ने नै भैसकेको छ । आफ्ना भावना व्यक्त गर्न पत्रिकानै नचाहिने भैसकेको छ ।
फेसबुक, ट्विटर,युट्युव,........ले दुनियाँलाई खुल्लामात्र हैन । अब त ह्वाङ्गै बनाईसके भने पनि हुन्छ । भित्ताको कान हुन्छ भन्थे । बुढापाका। छिमेकी निद्रामा घुर्यो भने अर्कोले “लाईभ” प्रसारण गरिदिन्छ कि ! जस्तो भै सक्यो ।
सञ्चार प्रविधिको विकास छोटो समयमा चुनौति नै भैसकेको छ । गलत र भ्रामक सामचारले फेसबुक, युट्युब भरीन थालेका छन् । पैसाको, प्रख्यातिको मोहमा । कसैको मानहानी, बेईज्यति गर्नेकुरा निसङ्कोच आँउछन् । त्यसमा सम्प्रेषण हुने विषयको निगरानीका लागि सञ्चार सम्बन्धि कानुनले समेट्नु पर्छ ।
गलत कुराले बालबालिकालाई चाँडो प्रभाव पाछ । यसको निगरानी सरकार एक्लैले गर्न सक्दैन । यसै पनि बालबालिकाहरु विद्यालयमा भन्दा धेरै समय घरमै हुन्छन् । अभिभावकले बालबालिकालाई कुन तहसम्म डिजिटल सामग्री प्रयोग गर्न दिने सचेत रहनुपर्छ । भने अन्यथा प्रशारण हुने विषयमा सरकारको निगरानी हुनुपर्छ । यो बिषय धेरै संवेदनशील भैसकेको छ ।
४.“बाखं न्यने वा” अर्थात “आउ कथा सुनौँ”
काठमाण्डुका युवा ईञ्जिनियरहरुले पुरातात्विक संरचना निर्माण गर्ने शिलशिलामा त्यसमा ज्यान भर्ने उद्देश्यले त्यस सँग सम्बन्धित दन्त्य कथा वुढापाकासँग सुन्ने प्रथालाई निन्तरता दिने अभियान शुरु गरेका छन् । यो एउटा सुखद् अभियान हो । यसले हाम्रो सनातन देखि चली आएको विषयलाई पुष्तान्तरण त गर्छ नै । यसका साथै डिजिटल डिभाईसमा हराउने समयलाई समाजसँग घुलमिल गराउन सहयोगी हुन्छ ।
बच्चा सामाजिक हुन प्रेरित हुन्छ । उसलाई समाजको महत्व थाहा हुन्छ । बिस्तारै यो आनीबानीमा परिणत हुन्छ । यो अभियान अब गाउँगाउँ पनि जानु पर्छ । एउटा भनाई छ नी– “चारकोस हिँडे पछि पानी र आठकोस हिँडेपछी बानी परिवर्तन हुन्छ ।” यसको ठुलो महत्व छ ।
५.अभिभावक बालबालिका संयुक्त पढाई समय तालिका
भनिन्छ “घर नै पहिलो पाठशाला हो ।” अभिभावकहरु विविध कारणले बालबालिकाको स्वभाव परिवर्तन भएकोमा चिन्तित त छन् । तर त्यसलाई परिमार्जन गर्ने विषयमा कम सचेत छन् । जानेर । नजानेर । नम्वर त धेरै छ । सो अनुसारको व्यवहारिकता छैन । सोँचमा विकास छैन । बालबालिकाहरुमा चिन्तनको अभाव छ । खोज अनुसन्धान गर्ने स्वभाव विकास गर्न सकिएको छैन । उनीहरु सतही भएका छन् ।
हाम्रो जनसंख्याको विवरण अनुसार १२४ जातजातिका सो भन्दा बढी भाषा भाषी छन् । बालबालिकालाई २ बर्ष पहिले देखि नै आमाको भाषामा व्यवहार गर्ने । डिभाईस नदिने । कथा, कविता सुनाउने । पार्कमा घुमाउन लैजाने । पढ्न जाने उमेर भए पछि अभिभावकले पनि पढाईको समय तालिका बनाईदिने । बालबालिकाको कुरा सुन्ने समय छुट्याउने । टिभि हेर्ने समय छुट्याउने । खेलकुदमा लगाउने । पाठ्यपुस्तक भन्दा बाहिरका सन्दर्भ सामग्री प्रयोगमा जोड दिने । जन्म दिनमा उनीहरुलाई मन पर्ने पुस्तक उपहार दिने । जस्ता कामको शुरुवात गर्न ढिला भैसकेको छ । कतिपयले गरेका पनि छन् । तर त्यो पर्याप्त छैन । अभियान नै चलाउन जरुरी भैसकेको छ । सरकारको अनौपचारिक शिक्षा कार्यक्रममा यसलाई समेट्न अत्यावश्यक छ ।
ईजरायलको एउटा बालशिक्षाको तालिममा हामीले रमाईलो कुरा भेटेका थियौँ । बालविकास केन्द्रमा शैक्षिक सामग्री थिए– भाँच्चिएको डाडु, बिग्रेको टेलीफोन सेट, बिग्रेको बाईनाकुलर, बिग्रेको घडी, रेडियो आदी । हामीले सहयोगी कार्यकर्तालाई सोध्यौ– यस्ता पनि शैक्षिक सामग्री हुन्छन् ? फेरी यी कसरी जम्मा गर्नुभो ? उनीहरुको उत्तर रमाईलो थियो । “पहिलो त यी सामग्री हामीले अभिबावकबाट पाँउछौ ।
उनिहरुका घरमा प्रयोग गर्न नमिल्ने भएपछि बालबिकास केन्द्रमा ल्याउँछन् । हामी खोज्दै जानु पनि पर्दैन । बच्चा छोड्न आँउदा सम्झाए पुग्छ । दोस्रो– हामीले यी सामग्री प्रयोगको समय तालिका बनाएका छौँ । यी सवै खेल सामग्री र कथा वाचनका लागि उपयोगी छन् । बालबालिका स्वभावैले धेरै जिज्ञासु हुन्छन् । खेल्ने समयमा हामीले उनीहरुलाई ति सामग्री दिएर स्वतन्त्र छोड्छौँ । निगरानीका साथ । यो समयमा उनीहरुले आ–आफ्नो घरमा अभिभावकले प्रयोग गरेको जस्तो गरेर नक्कल गर्छन् । एकजनाले डाडुले तरकारी चलाउँछ । अर्कोले घरमा उसको आमालाई फोन गर्छ । फेरी अर्कोले मैले पनि ममिलाई फोन गर्ने भनेर स्कुलको कुरा घरमा सुनाउँछ । नक्कल गरेर । बच्चा निक्कै रमाउँछन् । बीचबीचमा हामीले सामान देखाएर पुरक प्रश्न राख्छौँ । उनीहरुले हाउभाउ गरेर भन्छन् । यसमा हामीले ती सामग्री सम्वन्धि कथा बनाएर सुनाउछौँ । यसो गर्दा उनीहरुमा कथा सुन्ने बानी पर्छ । डिभाईस प्रयोगको सट्टा घरमा पनि अभिबाबकलाई कथा भन्न बाध्य पार्छन् ।” हामीले किन गर्न सक्दैनौँ ?
एउटा भनाई छ – “जसका नाममा रोपे पनि रोप । तर रुख रोप ।” जे पढ्ने पढ, तर पढ । पुर्वीय दर्शन अनुसार गुरुकुल पद्दतिमा चार वटा आश्रम थिए । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्यास । ती सबैका आफ्नै नीति नियम थिए । समाजलाई नीतिले डोर्याउँथ्यो । नीति तोड्न बर्जित थियो । त्यसैले जो सँस्कृत पढेको छ, सुसंस्कृत छ । अनुशासित छ । आज पर्यन्त । पढाईमा तेजिलो छ । अन्यको तुलनामा । ती पढाई गुरुकुलमा हुन्थे । आश्रममा हुन्थे । अभिभावक आफैले गर्थे । यसको अर्थ अन्य भाषामा राम्रा कुरा छैनन् भन्न खोजिएको किमार्थ होईन । आज हामी ती सँस्कारबाट बहकिएका छौँ । राम्रा कुरा त जहाँबाट लिएपनि हुन्छ नी ! हामी चुकेका छौँ ।
६. निरन्तर मुल्याङ्कन
कुनै पनि काम निरन्तर गर्नु गाह्रो कुरा हो । हामीले मुल्याङ्कन अन्तिममा मात्र गरेर भएन भनेर निरन्तर गरौँ । भन्यौँ । गर्यौँ पनि । तर बिचैमा छोड्यौँ ।
अमेरिकामा बस्ने मेरो एक जना साथीसँग चिया गफमा अमेरीकी स्कुलको कुरा उठ्यो । उ यहाँ पनि शिक्षामा राम्रै दख्खल राख्थ्यो । उता गए बच्चालाई स्कुल भर्ना गर्ने बेला मेरो बच्चाले यो यो जानेको छ । तिमीहरुको पढाई तरिका के छ ? भनेर जिज्ञासा राख्दा राम्रो जवाफ पाएछ ।
“तिमीहरु ब्लाङ्केट एप्रोचमा पढाँउछौ । हामी ६ किसिमले वच्चाको स्क्रिनिङ गर्छौ । सोहिनुरुप व्यवहार गर्छौँ ।” उ नाजवाफ भएछ ।
हामी सबैलाई एउटै डालोमा राखेर व्यवहार गर्छौँ । तर हरेक बालबालिका एउटै हुँदैनन् । हरेकको सिकाइ क्षमता फरक हुन्छ । यो त्यतिबेला मात्र थाहा हुन्छ, जब हामीले उसका चालचलन, व्यवहारलाई अध्ययन गर्छौ । यो दैननन्दिनी हुनुपर्छ । जुन बालबालिकालाई जे रुची छ त्यही कुरा गर्न लगायो भने उसले गर्छ । पढ्छ । खोज्छ । सिक्छ । तर हामी सबै बालबालिकाले सबै विषयमा यति नम्बर ल्याउनै पर्छ भनेर दवावमुलक व्यवहार गर्छौ । अभिभावकलाई पनि नम्बर चाहिएको छ । हामी पनि उनीहरुको पछि पछि नम्बरमै दौडिरहेका छौँ । कता पुगिन्छ यसरी ? नतिजा– डिस्टिङसन् वालाले परदेशमा के काम गरिरहेको छ ?
पठन संस्कृतिका लागि उसलाई रमाईलो हुने गरी व्यवहार गर्नुपर्छ । उसको मनपर्ने विषय हामीले थाहा पाउनुपर्छ । त्यही अनुरुप हौसला प्रदान गर्नुपर्छ । त्यसका लागि उसको चालचन, व्यवहार, कमजोरी, बलिया पक्ष आदिको जानकारी केवल अर्धवार्षिक र वार्षिक परीक्षाले दिन सक्दैनन् । यसको नियमित अभिलेख हुनुपर्छ । हुन त हामीले यसको शुरुवात गरेका पनि हौँ । झण्झटिलो मानियो । हरायो । राम्रो बनाउन सजिलो छैन । नियमितता जरुरी छ ।
अन्त्यमा,
यी कुराहरु एकै दिनमा हुँदैनन् । तर शुरु हुनुपर्छ भन्ने मान्यता हो । भनिन्छ नी–“रोम एकैदिनमा वनेको हैन ।” संस्कारमा परिवर्तन एकै रातमा हुँदैन । यसले समय माग्छ । धैर्यता माग्छ । लगानी माग्छ । सबैभन्दा बढी सरकारको शिक्षामा पहिलो प्राथमिकता माग्छ । जो आज छैन ।
शिक्षकलाई सम्मान गर्न शुरु गर । शिक्षालाई सम्मान गर्न शुरु गर । शिक्षकले पनि आफुलाई तालिम आफै दिन शुरु गरे मात्र शिक्षणमा सुधार हुन्छ । पठन संस्कृतिको विकास हुन्छ । अरुले तँलाई यो चाहिएको छ भनेर दिएको कुरा कति दिगो हुन्छ र !
बस्याल शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।
प्रतिक्रिया