Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

३६ हजारलाई शिक्षकमा आन्तरिक प्रतिष्पर्धाको माग

प्राथमिक तह तृतीय श्रेणी सरहको दरबन्दी सृजना हुने कानुन बनाउन आग्रह

शुक्रबार, २० पुस २०८०

काठमाडौं - प्रारम्भिक बालबाविकासलाई विद्यालय संरचना भित्र ल्याएर कार्यरत सहजकर्तालाई प्राथमिक तह तृतीय श्रेणी सरहको दरबन्दी सृजना हुने कानुन बनाउन नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिले सांसदहरुसँग माग गरेको छ । 

सरकारले संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकमा आफ्नो असन्तुष्टि राख्न प्रतिनिधि सभा अन्र्तगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेका सहजकर्ताहरुले अब बन्ने कानूनमा आफ्नो हक हित सुरक्षित गर्न माग गरेका हुन् । संघर्ष समितिकी अध्यक्ष कृष्णकुमारी थापा मगरले अब बन्ने कानुनमा इसीडीका सहजकर्ताको रुपमा नै राखेमा रित्तो हात घर जान बाध्य हुनु पर्ने बताइन ।

‘विद्यालयको जग बसाउने काम हामीले गरिरहेका छौ । हामीलाई शिक्षकको रुपमा समेत हेरिदैँन,’उनले समितिको बैठकमा भनिन्,‘२० औ वर्ष काम गरेर घर जाने बेला भएको छ । जागिरको भर छैन । अब बन्ने कानुनमा बालविकासलाई विद्यालय संरचना भित्र राखेर हामीलाई प्राथमिक तह तृतीयमा आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गर्ने बाटो खुलाइदिनु पर्यो ।’ 

प्रतिष्पर्धामा सहभागि नहुने शिक्षकलाई गोल्डेनह्याण्डसेक दिएर बिदाई गर्ने प्रावधान कानुनमा राख्नु पर्ने उनले बताइन । 

‘हामी सामुदायिक विद्यालयको आधारसिला भनिने बालविकासमा काम गरिरहेका छौ । अब बन्ने कानुनमा कसैलाई बिस्थापित नगरी स्थायी गरिनुपर्छ । स्थायी नहुनेलाई गोल्डेनहयाण्डसेक दिनुपर्छ,’ उनले भनिन् । 

परीक्षामा भाग लिन उमेर हद लाग्न नहुने उनको माग छ । प्रारम्भिक बालशिक्षकलाई  सेवा अवधि गणना गरेर पेन्सन र उपदानको समेत व्यवस्था हुने गरी कानुन बनाइदिन उनले सांसदहरुलाई आग्रह गरिन । बालविकास केन्द्रका शिक्षकलाई उपलब्ध गराउने भनिएको सेवा सुविधा समेत नपाएको उनले समितिमा गुनासो गरिन । आप्mनो समस्या अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय,  प्रधानमन्त्री कार्यालय राख्दा पनि सुनवाई नभएको उनले बताइन । ५ सय रुपैयाँ तलब लिने गरी सुरु भएको बालविकास शिक्षकको तलब यसवर्ष स्थानीय र संघीय सरकारबाट गरी १७ हजार पुर्याउने भनेपनि नपाएको उनले बताइन । 

‘संघीय सरकारले १० र स्थानीयले ७ हजार दिने भनेको थियो । हामीले पाएका छैनौ,’उनले भनिन् । 

माथिल्लो तहको शिक्षक सरह बिहान १० देखि ४ बजेसम्म काम गरेपनि सरकारले पूर्ण तलब नदिएको उनको गुनासो छ । बालविकास शिक्षकलाई स्थानीय तहबाट कुनै सुविधा नपाएको भन्दै उनले संघीय सरकारबाट व्यवस्थापन हुनुपर्ने बताइन । 

सामुदायिक विद्यालय तर्फ ३ हजार ३४ र नीजि रुपमा खुलेका ६ हजार ३५ महिला शिक्षक बालविकासमा कार्यरत रहेको उनले बताइन । ‘हामी ३६ हजारको व्यवस्थापन गरेर हाम्रो मात्रै होइन हामीले पढाउने साना नानीबाबुको भविष्य पनि सोचांै,’उनले भनिन्,‘बालविकास केन्द्रलाई विद्यालय संरचनामा लगेर दरबन्दीको व्यवस्था हुनेमा आशा लिएका छौ ।’ 

बालविकास शिक्षकले समितिमा आफुहरुलाई स्वतः स्थायी भन्दा पनि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने बाटो खोलिदिन आग्रह गरेका छन् । ‘हामीले धेरै दुःख गरेका छौ । कसैले देखेका छैनन् । हामी सबैलाई स्वतः स्थायी गरिदिनुस भन्दैनौ । आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरियोस्,’बालोदय स्कल लतिपुरमा पढाउने एक शिक्षकले समितिमा भनिन,‘हामी सबैलाई स्वतः स्थायी गरिदिनुस भन्दैनौ । आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरियोस् ।’ आफ्नो उमेर ३९ वर्ष भइसकेकोले अब विदेश जान पनि नसक्ने भएकोले यही सेवामा काम गर्ने वातावरण मिलाइदिन उनले आग्रह गरिन । 

‘सरकारी शिक्षकको डे«स लगाएका छौ । १७ हजार तलब आउछ,’उनले भने,‘संगै पढाउने अरु साथीको तलब बढी हुन्छ । यदि हाम्रो कामको मुल्याङकन हुदैन भने तरकारी बेचेर खान्छौ । यति पैसामा कति गर्नु भन्यो राम्रो होला कि भनेजस्तो लाग्छ । अब त कति गर्नु ?’ सेवा सुविधा देखेर स्कूल जान पनि दिक्क लाग्ने उनले बताइन । विद्यालयमा प्रधानाध्यपक र अरु शिक्षकले हेप्ने गरेको हेप्ने गरेको ती शिक्षकको गुनासो छ । 

‘तिमीहरुको काम के छ  र ? भन्छन,’उनले भनिन्,‘हामीले कति गरेका छौं भन्न्े थाहा पाउन मन भए ती हेडसर र अरु शिक्षकले एक दिन कक्षा चलाए भइहाल्यो नि !’

प्रतिक्रिया