Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

छनौटको मापदण्ड परिवर्तनको तयारी, प्रधानमन्त्रीले बोलाए सर्च कमिटी सदस्यहरुलाई

विश्वविद्यालय सुधारमा सत्ताधारी दलहरु गम्भिर नभएको भन्दै जारी आलोचनालाई थेग्न नसकेपछि मत्थर पार्न प्रधानमन्त्री अग्रसर देखिएका छन् ।

शुक्रबार, २० पुस २०८०

काठमाडौ - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा योग्य व्यक्ति छनौट गर्ने बारे आफैले बोलेको कुरा पुरा नभए पछि मापदण्ड नै परिवर्तन गर्न प्रधानमन्त्रीले तयारी गरेका छन् । यसका लागि सर्च कमिटिका सदस्यहरुलाई बोलाएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । 

आफू निकटका जो कोहीलाई पनि नियुक्ति दिन सकिने गरी तयार उक्त खुकुलो मापदण्डका बारेमा आलोचना भए पछि प्रधानमन्त्रीले मापदण्डनै परिवर्तन गर्न निर्देशन दिएका उक्त श्रोतको दावी छ । 

शिक्षा मन्त्री अशोक कुमार राईको संयोजकत्वमा गठित सर्च कमिटीले जारी गरेको दर्खास्त आह्वान सम्बन्धी सूचनामा विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण पेस गरे मात्रै पनि उपकुलपतिमा दरखास्त आह्वान गर्न सकिने मापदण्ड बनाईएको छ । 

पढ्नुहोस् : त्रिवि उपकुलपति छनौटको कमजोर मापदण्ड

जब की प्रधानमन्त्री दाहालले विश्वको जुनसुकै मुलुकमा काम गरेको योग्य नेपालीबाट प्रतिष्पर्धा गराएर उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए । 

पढ्नुहोस् : विश्वविद्यालयको नियुक्तिमा दलगत भागवण्डा नगर्ने वाचा !

विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा दाहालले खुला प्रतिष्पर्धाबाट छनौट गर्ने घोषणा गरे पनि दरखास्त आह्वान गर्दा उनको उक्त घोषणालाई वेवास्ता गरिएको थियो ।

उक्त मापदण्ड सार्वजनिक भएसँगै सत्ताधारी दलहरु विश्वविद्यालय सुधारमा गम्भिर नभएको भन्दै आलोचना जारी छ । यही आलोचनालाई थेग्न नसकेपछि मत्थर पार्न प्रधानमन्त्री अग्रसर देखिएका हुन् ।  

तत्कालिन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ ।

 

प्रतिक्रिया