Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

'शिक्षकलाई आत्महत्या गर्नबाट जोगाइदिनुस्'

२०७३ असार १५ भन्दा यता नियुक्ति भएका शिक्षकको लाइसेन्स नभएकोले उनीहरूलाई एक पटकको लागि भए पनि लाइसेन्सको व्यवस्था गर्ने गरी कानुन बन्नु पर्ने

विहीबार, १९ पुस २०८०

काठमाडौँ–कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकलाई लाइसेन्स नभएपछि स्थानीय तहले कुनै सुविधा नदिई जागिरबाट निकालेर आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको भन्दै शिक्षकलाई बचाई दिन संघ सङ्गठनले आग्रह गरेका छन् । 

शिक्षक महासंघले समेत आफ्नो माग नउठाएको भन्दै ११ र १२ पढाउने शिक्षकका संघ संगठन सरकार र संसदीय समितिमा आफ्नो गुनासो सुनाउन पुग्न थालेका छन् । माध्यमिक शिक्षक युनियनका अध्यक्ष ज्ञान प्रसाद भट्टराइले सरकारले विषयगत दरबन्दीको व्यवस्था नगर्दा विज्ञापन पनि हुन नसकेको भन्दै तितो यथार्थ संसदीय समितिमा पोखे । ‘उच्च मावि तहको शिक्षकको कुनै दरबन्दीको किटान नभएकोले विज्ञापन नै निकाल्न सकेको छैन,’उनले भने,‘२ हजार दरबन्दी भनेको छ । दरबन्दी कायम गर्न किताब खानामा दर्ता भएको छैन । विषयगत कति शिक्षक भन्ने पनि छुटिएको छैन । मन्त्रालयले २ हजार दरबन्दी कुन विषयको हो भन्ने स्पष्ट पार्नु पर्ने हुन्छ ।’ 

सरकारले संसदमा पेस गरेको विधेयकको दफा ४४ को उपदफा ६ मा उच्च माविको शिक्षकको विषयलाई समेटिएको भए पनि पूर्ण नभएको उनले बताए । सरकार सँग असोज १२ मा गरेको सम्झौता अनुसार विधेयक टुङ्ग्याइदिन उनले समितिमा आग्रह गरे । ‘मन्त्रीज्यू समेत सहभागी भएर गरेको सम्झौता हो यसलाई अक्षरशः पालना होस,’उनले भने,‘सम्झौता गरेको छ भन्दैमा हामी प्रतिस्पर्धा नगरी सिधै स्थायी हुन चाहँदैनौ । हामी प्रतिस्पर्धा र परीक्षाबाट भाग्दैनौ । उमेर हद नलाग्ने गरी परीक्षाको व्यवस्था होस् । ३० वर्ष सेवा गरिसकेका शिक्षकलाई प्रतिस्पर्धा गराउँदा को सँग गराउने भन्ने चाहिँ पुन बिचार हुनु जरुरी छ ।’ 

२०७३ असार १५ भन्दा यता नियुक्ति भएका शिक्षकको लाइसेन्स नभएकोले उनीहरूलाई एक पटकको लागि भए पनि लाइसेन्सको व्यवस्था गर्ने गरी कानुन बन्नु पर्ने उनको सुझाव छ । 

माध्यमिक विद्यालय शिक्षक युनियनका  अध्यक्ष टिकाप्रसाद न्यौपानेले लाइसेन्स नभएका शिक्षकलाई स्थानीय तहले निकालिरहेको भन्दै विरोध गरे । ११ र १२ पढाउने शिक्षक तल्लो तह पढाउने भन्दा फरक भएकोले उनीहरूलाई सेवा सुविधा फरक हुनु पर्ने बताए । ‘८ देखि १० कक्षा पढाउने लाइसेन्स भएका शिक्षकले ११ र १२ पढाउन सक्दैनन्,’उनले भने,‘छुटै लाइसेन्सको व्यवस्था हुनुपर्छ । यसअघि लाइसेन्स लिन छुटेकालाई पनि पुनः लाइसेन्स खुलाउने व्यवस्था हुनु आवश्यक छ । लाइसेन्स नभएको भन्दै जागिरबाट निकाल्ने कार्य तत्काल बन्द गरिनु पर्छ ।’ लाइसेन्स नहुँदा स्थानीय तहले जागिरबाट निकालिरहेकोले तत्काल जागिर जोगाउने व्यवस्था गरिदिन उनले समिति र स्थानीय तहलाई आग्रह गरे । ‘पालिकालाई अनुरोध गर्दछु । जागिर जोगाइदिनुस् । जागिर जाने भएपछि केही साथीहरूले बन्दुक बोक्ने फोटो हालिरहेका छन् । केहीले आत्महत्या गर्ने अवस्थामा छन्,’उनले भने,‘जसलाई निकालिँदै छ उनीहलाई रित्ता हात घर नपठाइयोस् ।’ परीक्षा लिएर स्थायी गर्दा पनि पुरानोलाई सत प्रतिशत आन्तरिक गर्नु पर्ने बताए । परीक्षामा अनुत्तीर्ण हुनेलाई पनि सुविधा दिएर घर पठाउनु पर्ने उनको माग छ । ‘पुरानो साथीहरू भर्खर छिरेकासँग लड्न सक्दैनन् । परीक्षामा असफल हुनेलेलाई सुका मोहर दिएर बिदा गरौँ,’उनले भने । माध्यमिक विद्यालय शिक्षक युनियनको सह अध्यक्ष कल्पना पनेरुले ११ र १२ को दरबन्दी किनबेच भइरहेको आरोप लगाए । ‘प्लस टु राहत दरबन्दी किनबेच हुन्छ । ११ र १२ को शिक्षकको समस्या समाधान हुने गरी कानुन बनोस्,’उनले भनिन् ।  

 

प्रतिक्रिया