Edukhabar
मंगलबार, २३ पुस २०८१
गतिविधि

केएमसीको घटना छानविन गर्न संसदीय समितिको निर्देशन

‘त्यो घटना के भएको हो तत्काल खोजी निती गर्नु होला । तत्काल अप्रिय घटना हुन नदिने वातावरण बनाउनु होला’ -समिति सभापति भानुभक्त जोशी

विहीबार, १९ पुस २०८०

काठमाडौँ–संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले काठमाडौँ मेडिकल कलेज (केएमसी)का रेजिडेन्ट डाक्टरलाई निष्कासन गरेको विषयमा छानबिन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । 
समितिको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले कार्कीले रेजिडेन्ट डाक्टरलाई निष्कासन गरेको विषयमा समितिले छलफल गर्नु पर्ने माग राखेकी थिइन । डा. विशद दाहाललाई केएमसीले कारबाही गरेको भन्दै समितिमा उजुरी समेत परेको समिति सभापति भानुभक्त जोशीले बताए । 

जोशीले मन्त्रालयका सचिव सुरेश अधिकारीलाई छानबिन गरेर तत्काल अप्रिय घटना हुन नदिन निर्देशन दिएका हुन् । ‘त्यो घटना के भएको हो तत्काल खोजी नीति गर्नु होला । तत्काल अप्रिय घटना हुन नदिने वातावरण बनाउनु होला,’समिति सभापति जोशीले भने,‘आवश्यक पर्‍यो भने समिति आफैले पनि अनुगमन गर्नेछ ।’ 
शिक्षा सचिव अधिकारीले गृह प्रशासनसँग समन्वय गरेर अप्रिय घटना हुन नदिने र रेजिडेन्ट चिकित्सकलाई गरेको कारबाहीको बारेमा काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसँग जानकारी लिने बताए । 
कलेज प्रशासनले कलेजको नीति विरुद्ध लागेको भन्दै डा. दाहाललाई एक महिनाका लागि निलम्बन गरेको घोषणा गरेको थियो ।
त्यसको विरोध भएपछि काठमाडौँ विश्वविद्यालयले निलम्बन स्थगन गर्दै ३ दिनभित्रमा कलेजसँग राय मागेको छ । कलेजले डाक्टर दाहाललाई प्रवेश निषेध गरेको छ । यसको  विरोधमा आवासीय चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरू अस्पताल बाहिर धर्नामा बसेका छन् । 

 

 

प्रतिक्रिया