Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

सामुदायिक विद्यालयकी प्रधानाध्यापक 'इन्टेग्रिटी आईकन' छनौट

पाँच सय हाराहारी विद्यार्थी भएकोमा अहिले बढेर विद्यार्थी संख्या आठ सय ३३

मंगलबार, १७ पुस २०८०

काठमाडौ - सार्वजनिक शिक्षा सुधारमा योगदान गरेको भन्दै सामुदायिक विद्यालयकी प्रधानाध्यापक रबिना महर्जन इन्टेग्रिटी आईकन छनौट भएकी छन् । तारकेश्वर स्थित मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक महर्जनलाई  आउँदो पुस २७ गते हुने कार्यक्रममा सम्मान गरिने आयोजक संस्था अकाउन्टेबिलिटी ल्याब नेपालले जनाएको छ ।

२०७४ सालमा शिक्षक सेवा आयोग पास गरेर च्वादी पब्लिक माध्यमिक विद्यालय, नुवाकोटमा नियुक्त भएकी महर्जन २०७६ सालमा मा.वि तह शिक्षकका लागि आयोगको परीक्षा पास गरेपछि मनमैजु मा.वि.मा नियुक्त भएकी हुन् । यो विद्यालयमा आएको १ वर्ष नहुँदै उनले प्रधानाध्यापकको जिम्मेवारी पाईन् । लगत्तै शुरु भएको कोरोना महामारीका बेला पनि बालबालिकाको सिकाइमा नयाँ नयाँ अभ्यास गरेर सिकाइ निरन्तर राखेको जस उनलाई जान्छ । पहुँच भएकाहरुसँग अनलाईन र नभएकाहरुसँग शिक्षकहरूलाई कक्षाको तालिका बनाएर रोल नम्बर अनुसार भौतिक दुरी कायम राखेर विद्यालयमै कक्षा  संचालन गर्ने व्यवस्था गरेर उनले सिकाइ निरन्तर राखेकी थिईन् ।

उनको नेतृत्व र शिक्षकहरुको मेहनत एवं साथले महामारीका समयमा पनि उक्त विद्यालयका बालबालिका पढाईबाट बञ्चित हुनु परेन । यही प्रयासका लागि उनलाई नगरपालिकाले “ईमर्जिंग हेड टिचर” भनेर ज्यापू सरस्वती पदक प्रदान गरेको थियो । 

महर्जन आउनु अघि पाँच सय हाराहारी विद्यार्थी भएकोमा अहिले बढेर विद्यार्थी संख्या आठ सय ३३ पुगेको छ । शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा पनि विद्यालयले निकै सुधार गरेको छ । 


सार्वजनिक संयन्त्र भित्रका कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्ने उद्देश्य सहित संस्थाले विगत दश वर्ष देखि इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको छ । सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा अब्बल कार्य गरेका व्यक्तिहरुलाई छनौट गर्ने क्रममा यस बर्ष महर्जन सहित नारायणी अस्पताल, वीरगञ्जकी नर्सिङ निरिक्षक, हेमा थापा, महिला तथा बालबालिका विभागकीनिर्देशक नीरा अधिकारी, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङका बागवानी विकास अधिकृत पद्मनाथ आत्रेय र जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृत प्रतिक राई यस वर्ष इन्टेग्रीटी आईकनका लागि छनौट भएका छन् । 

यस बर्ष देशभरीबाट प्राप्त चार सय ६६ मनोनयनबाट निर्णायक समितिले पाँच जना छनौट गरेको थियो । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशि राज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेण्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल छन् । 

प्रतिक्रिया