Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

प्राविधिक विश्वविद्यालय खोल्ने तयारी

विश्वविद्यालय खोल्न पूर्व सचिव अवस्थीको अध्यक्षतामा विधेयक मस्यौदा समिति गठन

आइतबार, १५ पुस २०८०

काठमाडौं - सुदुरपश्चिम प्रदेशले आफ्नो छुटटै पहिचान भएको फरक विश्वविद्यालय खोल्ने गृहकार्य अघि बढाएको छ । सुदुरपश्चिम प्रदेशको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव लवदेव अवस्थीको अध्यक्षमा विश्वविद्यालयको विधेयकको मस्यौदा समिति नै गठन गरेको छ । समितिमा संविधान सभा सदस्य हरिराम श्रीपाली सदस्य छन् । सुदुरपश्चिम र कर्णाली प्रदेशको आर्थिक अवस्था उकास्ने उद्देश्यले प्राविधिक विश्वविद्यालयको अवधारणा अघि सारेर विधेयकको मस्यौदा बनाउने जिम्मेवारी पाएको अवस्थीले बताए । 

‘विधेयकको मस्यौदा बनाउने, विश्वविद्यालयको स्थान, संरचना निर्माण र कार्यप्रणालीको आधार तयार गरेर प्रदेश सरकारलाई सिफारिस गर्नु पर्ने जिम्मेवारी आएको छ,’अवस्थीले भने । 

४५ दिन भित्र विधेयकको मस्यौदा समेत पेश गर्ने जिम्मेवारी अध्ययन टोलीले पाएको छ । सुदुरपश्चिम प्रदेशमा अहिले नै सुदुरपश्चिम विश्वविद्यालय रहेको छ भने गेटा मेडिकल विश्वविद्यालयको प्रक्रिया अघि बढेको छ । 

‘अहिले सञ्चालनमा रहेको भन्दा फरक विश्वविद्यालयको अवधारणा अघि बढाउन खोजिएको छ,’अवस्थीले भने,‘प्रदेश सरकारले आर्थिक सम्मुनतिको बाटो विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने भन्ने हो । यसले कर्णाली र सुदुरपश्चिमको गरिबी निवारणको महत्वपूर्ण भूमिका खेल्ने उद्येश्य लिएको छ ।’ 

संघीय कानुन अनुसार अहिले १२ वटा विश्वविद्याल सञ्चालनमा छन् । त्यस्तै प्रदेश कानुन अनुसार ५ वटा विश्वविद्यालय खुलिसकेको छ । गण्डकी विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यायल, मधेश कृषि विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय खुलिसकेको छ । अरु प्रदेशले जस्तै सुदुरपश्चिम प्रदेशले पनि विश्वविद्यालय खोल्ने प्रयास गरेको हो ।

प्रतिक्रिया