Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले अदालतबाट पाए सफाइ

आफ्ना छोराछोरीलाई निजीबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेर सामुदायिक शिक्षा सुधारमा सकृय व्यक्ति

शुक्रबार, १३ पुस २०८०

काठमाडौँ - सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्दा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर्‍याएका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई विशेष अदालतले सफाइ दिएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका - १ गागलफेदी स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धि विलास धिताललाई घुस लिँदै गरेको आरोप लगाएर असार २६  मा आयोगको टोलीले पक्राउ गरेको थियो । उनीहरू माथि घुस लिएको आरोपमा आयोगले विशेष अदालतमा भदौ ५ मा मुद्दा दर्ता गरेको थियो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले थापा र धिताल निर्दोष रहेको भन्दै सफाइ दिएका हुन् । ११ र १२ को शिक्षक छनौटको क्रममा १६ हजार घुस लिएको आरोपबाट दुवै जनाले सफाइ पाएको विशेष अदालतका रजिस्ट्रार हरिराज कार्कीले बताए ।

‘थापा सहित दुई जनाको घुस सम्बन्धी मुद्दामा आज फैसला भयो । उहाँहरूले सफाइ पाउनु भएको छ,’ कार्कीले भने ।

 विद्यालयले विज्ञापन गरेर शिक्षक छनौट गरेपछि छनौट भएका शिक्षकले छाडेका थिए । ती शिक्षकलाई छनौट गर्दा भएको विद्यालयको खर्च माग गर्दा घुस लिएको भन्दै थापा र धिताललाई घुस लिएको आरोपमा पक्राउ गरिएको थियो ।

आफ्ना छोराछोरीलाई निजीबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेका थापा र धिताल सामुदायिक शिक्षा सुधारमा सकृय व्यक्ति हुन् । 

 

 

प्रतिक्रिया