Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

शिक्षकको तलब निजामती कर्मचारीको भन्दा १ रुपैया भए पनि बढी हुनु पर्छ : पूर्व शिक्षामन्त्री पौडेल

आइतबार, ०८ पुस २०८०

काठमाडौं - पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकको सेवा सुविधा निजामती कर्मचारीको भन्दा बढी हुनु पर्ने बताएका छन् । संसदीय समितिमा आईतबारबाट शुरु भएको विद्यालय शिक्षा विधेयकको छलफल शिक्षकको सुविधाबाट प्रवेश गरेको हो । 

शिक्षा मन्त्री अशोक कुमार राईले शिक्षकले निजामती कर्मचारी सरह सुविधा माग गरेको प्रसंग उठाए पछि पौडेलले शिक्षकलाई कर्मचारीको भन्दा १ रुपैया भए पनि बढी तलब हुनु पर्ने बताएका हुन् । 

‘विद्यालय बनाउने भनेको शिक्षकले हो । जब सम्म शिक्षक खुसी हुँदैन । तबसम्म विद्यालयमा सुधार हुँदैन,’उनले भने,‘शिक्षा मन्त्रालयका कर्मचारीको हकमा एउटा नियम अनि त्यही मन्त्रालयले चलाउने विद्यालयका शिक्षकको सुविधा फरक हुनु हुँदैन । शिक्षकको बारेमा फरक तरिकाले सोच्नु फरक छ । कर्मचारीको भन्दा शिक्षकको तलब एक रुपैयाँ भए पनि बढी हुनुपर्छ ।’

शिक्षकले हुम्ला, मुस्ताङको चिसो होस् वा मधेशको गर्मीमा गएर पनि पढाइरहेकोले राज्यले प्रोत्साहन गर्नु पर्ने उनले बताए । 

‘शिक्षकले जे कुरा उठाएका छन्, अन्तिम पटक भनेर सुविधा बढाउनु पर्छ,’उनले भने । इसीडीका शिक्षकलाई राज्यले तोकेको न्यूनतम ज्याला पनि नपाएर काम गरिरहेको उनले बताए । 

‘राज्यले तोकेको न्यूनतम तलब १७ हजार ३ सय छ । तर, १५ हजार पनि छैन । घण्टी बजाउने कार्यालय सहयोगीको तलब बढ्दैन,’उनले भने,‘त्यसैले शिक्षक र कर्मचारी सडकमा आउनु  परेको हो ।’ 

शिक्षकको माग पुरा गर्न अर्वौ रुपैया नचाहिने भएकोले निजामती कर्मचारी सरह सुविधा दिनु पर्ने उनले बताए । 

‘जसरी निजामती प्रतिष्पर्धा गरेर कर्मचारी आउँछन, शिक्षक सेवाबाट प्रतिष्पर्धा गरेर आएकालाई पनि सम्मान गर्नुपर्छ । विभेद गर्नु हुँदैन,’उनले भने ।

प्रतिक्रिया