Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

सामुदायिक स्कुल पढेर विश्वविद्यालय ‘टप’

करार, पार्टटाइम शिक्षकलाई अवसर दिने नाममा नयाँलाई अवसरको ढोका बन्द गरेकोमा खिन्न

विहीबार, ०५ पुस २०८०

काठमाडौ - रुपन्देही सूर्यपुराका किशोर कुमार गौतम गाउँकै स्कूलबाट ०५८ मा एसलएसी पास भएका हुन् । सूर्यपुरा माविका ‘फस्ट व्वाई’ उनी राम्र्रै अंक ल्याएर उर्तिण भए । बुबा सामुदायिक विद्यालयकै शिक्षक थिए । चाहेको भए बुटवलको राम्रै निजी कलेजमा प्लस टु पढाउन सक्थे । तर, उनी भैरहवा बहुमुखी क्याम्पसमा भर्ना भए । 

प्रविणता प्रमाणपत्र तहमा पनि राम्रै अंक ल्याए । ब्याचलर पनि भैरहवाबाटै सकाए । मास्टर्स गर्न भने उनी काठमाडौं हान्निए । किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय त्रिवि केन्द्रीय विभागबाट  १३ वर्ष अघि एमबीएसमा ७६.६ प्रतिशत ल्याए । 

‘डिग्री सकिए पछि काम त गर्नै पर्यो । पढाउन थालेँ । अहिलेसम्म पढाइरहेको छु,’उनले भने । 

उनी अहिले बानेश्वर स्थित ग्लोबल कलेजमा बीबीए कोर्डिनेटर छन् । पढाउँदै पढ्दा उनी पास मात्रै भएनन् कि विश्वविद्यालय नै टप गरेका छन् । त्रिविको ४९ औ दीक्षान्तमा दीक्षित भएका ७३ हजार विद्यार्थीमा उनले सबैभन्दा बढी अंक ल्याएको पाइएको छ । उनले व्यवस्थापन संकाय अन्तर्गत एमफिल तहमा सर्वोतम अंक प्राप्त गरेका छन् । त्रिविले यस वर्ष भाइस चान्सर्लर पदक दिएन । त्यसैले उनी यो पदक पाउनबाट बञ्चित भएपनि विश्वविद्यालयले उनलाई त्रिवि प्राध्यापक संघ शहिद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक प्रदान गरेको छ । 

सामुदायिक विद्यालयमा पढेर पनि सर्वोत्कृष्ट नम्बर ल्याउन सकेकोमा उनी आफुलाई भाग्यभानी ठान्छन् । 

‘हाम्रो बुझाई सामुदायिक विद्यालय कमजोर हुन्छ भन्ने छ’ गोल्डमेडलिष्ट गौतम भन्छन् ‘मानसिकतामा समस्या हो ।   सरकारीमा पढेका विद्यार्थीले वाध्यता भएरै होला आफैँ खोज्न सिकेका हुन्छन् । निजीमा पढेकालाई भने खोजेर दिनु पर्ने हुन्छ ।’ 

सामुदायिक विद्यालयका शिक्षक तालिम प्राप्त र प्रतिष्पर्धाबाट खारिएका हुने भएकोले पनि गुणस्तर कमजोर नभएको उनी बताउँछन् । 

‘निजी विद्यालय रिजल्ट वरेण्टेड हुन्छ । रिसर्च बेस कम छ,’उनले भने । 

दुर्गम गाउँमा जन्मिएर सरकारी स्कूल र कलेजमा पढेकै कारण आफुलाई उत्कृष्ट बनाउन सहयोग गरेको उनको बुझाई छ । आफुले सिकेको ज्ञान विद्यार्थीलाई बाँडिरहेको उनले बताए । 
गौतम त्रिवि उत्कृष्ट भएर विदेशको तयारीमा छैनन् । स्वदेशमै अवसर भएको ठान्छन् । 

‘नेपालकै राम्रो कलेजमा पढाइरहेको छु,’उनले भने,‘मेरो पढाई एमफिलमा रोकिएको छैन । पीएचडी पनि गरिरहेको छु । विद्यार्थीसंगको सहकार्यले सहयोग पुगेको छ ।’ 

उनी ‘इन्टरपेनरसिप इन इनोभेसन’मा पीएचडी गर्दै छन् । विश्वविद्यालयकै उत्कृष्ट नतिजा ल्याउन पाएकोमा खुसी छन तर, विश्वविद्यालयमै पढाउने अवसर नपाएकोमा भने खिन्न छन् ।

‘म विश्वविद्यालयमा पढाउन चाहन्छु तर, प्रतिष्पर्धाको अवसर नै दिईदैंन,’उनले भने । 

करार, पार्टटाइम शिक्षकलाई अवसर दिने नाममा नयाँलाई अवसरको ढोका बन्द गरेको उनले बताए । 

अवसरकै खोजीमा नेपाली विद्यार्थी विदेश जाने गरेको उनी बताउँछन् । 
‘पीएचडी सक्दासम्म मैले पनि त्रिविमा पढाउन पाइन भने म पनि विदेश जानुको विकल्प छैन’ उनले भने ‘नेपालमा केही विकल्प नभएपछि मात्रै विदेश जानु परेको हो ।’ 

नेपाली विद्यार्थी विश्वका उत्कृष्ट विश्वविद्यालयमा भर्ना पाएकोले पनि नेपालको शिक्षाको गुणस्तर राम्रो भएको ठान्छन् । 

‘प्लस टु पछि अवसरको खोजी गर्न विदेश जानु ठिक हो तर, ग्याज्रुयशन पछि नेपाल फर्काउन सक्नु पर्छ’ उनले भने, ‘विदेश जाने प्रवृतिलाई नराम्रो मान्नु हुँदैन किनभने विदेशमा सिकेको सीप नेपालमा ल्याउन सहयोग गर्छ ।’ 

प्रतिक्रिया