Edukhabar
सोमबार, १० मंसिर २०८१
खबर/फिचर

विद्यार्थीले बेहोर्नुपरेको चुनौती र मानसिक तनाव प्रति राष्ट्र अनभिज्ञ छैन : राष्ट्रपति

विश्वको बढ्दो तापमान र जलवायु परिवर्तनको विषयमा पनि विद्यार्थीको चासो र चिन्ताको अपेक्षा

सोमबार, ०२ पुस २०८०

काठमाडौ - राष्ट्रपति रामचन्द्र पौडेलले विद्यार्थीले बेहोर्नुपरेको चुनौती र मानसिक तनाव प्रति राष्ट्र अनभिज्ञ नभएको बताउँदै यस्तो अवस्थाको अन्त्यको खाँचो औल्याएका छन् । देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीक्षित विद्यार्थीलाई शुभकामना र वधाई व्यक्त गरे । 

'आजको यस प्रतिस्पर्धात्मक पर्यावरणमा तपाईहरुले बेहोर्नु परेको चुनौती प्रति पनि राष्ट्र अनभिज्ञ छैन । एकातिर पढाईमा अब्बल बन्नु पर्ने दबाब अभिभावक र समाजबाट हुन्छ भने अर्को तर्फ आर्कषक रोजगारी पाईन्छ कि पाईन्न भन्ने चिन्ता पनि रहिरहन्छ' राष्ट्रपति पौडेलले भने 'यस प्रकारको अवस्थाले तपाईहरुमा मानसिक तनाव पर्ने गर्दछ । यस्तो अवस्थाको अन्त्य अत्यन्तै आवश्यक छ भन्ने मलाई लाग्दछ ।' 

बुद्ध र सीताको पवित्र भूमिलाई विश्वमा चिनाउने अवसर विद्यार्थी माझ आएको बताउँदै उनले विश्वको बढ्दो तापमान र जलवायु परिवर्तनको विषयमा पनि विद्यार्थीको चासो र चिन्ताको अपेक्षा गरेका छन् । नेपालको अन्र्तराष्ट्रिय पहिचान र यस क्षेत्रमै जलवायुलाई स्थिर राख्ने कार्य नेपालका उच्च पहाड र खासगरी सगरमाथाले गरेको स्मरण गराउँदै उनले विश्वको बढ्दो तापमानले हाम्रो सभ्यताको प्रतीक हिमशिखर र सगरमाथा कालो पहाडका रुपमा परिणत हुँदै गएको र जैवीकीय विविधता पनि नासिएकोमा चिन्ता प्रकट गरे । 

दीक्षित विद्यार्थीले प्राप्त गरेको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणको लागि उपयोगी हुने विश्वास गर्दै उनले सक्षम सवल राष्ट निर्माणका लागि दीक्षित विद्यार्थीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । आजको दिनले देशको विकासमा योगदान दिन विद्यार्थीमा सकारात्मक सोच आओस् भन्ने कामना पनि व्यक्त गरे । 

जनताको दःुख र त्याग पश्चात जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै उनले समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको बताए । भौगोलिक सांस्कृतिक र जातीय विविधतायुक्त हाम्रो नेपाली समाजको एकताका लागि यो अत्यन्तै महत्वपूर्ण हो भन्ने बुझ्न विद्यार्थीलाई आग्रह पनि गरे । 

कार्यक्रममा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले यस पटक विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्दा दलगत भागवण्डामा नगर्ने बताएका छन् । 

पढ्नुहोस् : विश्वविद्यालयको नियुक्तिमा दलगत भागवण्डा नगर्ने वाचा !

एकै पटक धेरै विद्यार्थी र अभिभावक सहभागी गराएर दीक्षान्त समारोह गरेको भन्दै विश्वविद्यालयले विश्व रेकर्डको प्रमाणपत्र पनि प्राप्त गरेको छ । 

पढ्नुहोस् : एकै पटक धेरै विद्यार्थी दीक्षित गराएकोमा त्रिभुवन विश्वविद्यालयको विश्व रेकर्ड 

प्रतिक्रिया