Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन : सिकाइमा थप निखारको खोजीमा निजी विद्यालय

कक्षा कोठा सुधार, नेतृत्व विकास र मुलुकको शिक्षा नीतिको छलफल सुरु भएको छ ।

शुक्रबार, २९ मंसिर २०८०

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई समेत सहभागी गराएर काठमाडौँमा प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बुधवारदेखि सुरु गरेको छ । 

कक्षा कोठा सुधार, नेतृत्व विकास र मुलुकको शिक्षा नीतिको छलफल गर्न प्याब्सनले सम्मेलन गरेको अध्यक्ष डीके ढुङ्गानाले बताए ।

‘निजी विद्यालयको भूमिका, सामुदायिक विद्यालयसँग कसरी समन्वय गर्न सकिन्छ ? भन्ने सम्मेलनमा छलफल हुनेछ ,’उनले भने । यो सम्मेलन प्याब्सनको मात्रै नभई शिक्षा मन्त्रालय, काठमाडौँ विश्वविद्यालय, शिक्षक, अभिभावक, ब्रिटिस काउन्सिल, सामुदायिक विद्यालयको समेत भएको उनले बताए ।

४ सय भन्दा बढी सहभागी सम्मेलनमा ३५ वटा सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापक सहभागी रहेको प्याब्सनले जनाएको छ । 

सम्मेलनले मुलुकको शिक्षालाई अन्तर्राष्ट्रियकरण कसरी गर्न सकिन्छ भन्ने विकल्पको खोजी हुने अध्यक्ष ढुङ्गानाले बताए । ‘सवा लाख विद्यार्थी विदेश जाने होइन, नेपालमा कसरी ल्याउन सकिन्छ ? भन्ने अहिलेको विषय हो । नेपालमै रोक्न नीतिमा के सुधार गर्ने ? भौतिक पूर्वाधार सुधारमा के गर्ने सरकारको सहयोगको हामीले अपेक्षा गरेका छौ,’ढुङ्गाले भने,‘सरकारले सामुदायिक विद्यालयमा जस्तै निजीलाई पनि सहयोगको अपेक्षा खोजेका छौ ।’ 

नेपाललाई शैक्षिक हब बनाउन सरकारको साथ आवश्यक रहेको उनले बताए । नेपालका शैक्षिक संस्थाहरूले पनि संस्थागत तथा शैक्षिक जनशक्ति उत्पादन, गुणस्तरीय व्यवस्थापन, व्यावसायिक विकास तथा शिक्षामा उच्च गुणस्तर कायम गर्दै लैजानुपर्ने अपरिहार्यता रहेको प्याब्सनले जनाएको छ । ‘विश्वका विकसित देशहरूले शिक्षालाई शिक्षा पर्यटन गन्तव्यका रूपमा विकास गरिरहेका छन् । ती देशको कुल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको छ,’ढुङ्गानाले भने,‘यी देशहरूमा नेपाली विद्यार्थीहरू उल्लेख्य सङ्ख्यामा गइरहेको अवस्था छ ।’

नेपालमा नै गुणस्तरीय शिक्षा प्रदान गर्दै विश्व शैक्षिक मञ्चमा दर्बिलो उपस्थिति देखाउने उद्देश्यले स्वदेशी शिक्षालय र शिक्षाकर्मीलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले यस वर्ष पनि सम्मेलन गरेको अध्यक्ष ढुङ्गानाले बताए । सम्मेलन शनिवार सम्म चल्नेछ । सम्मेलनमा १७ वटा ‘सेसन’ चल्नेछ । सामुदायिक र निजी विद्यालयसँगको सहकार्य, उत्कृष्टता र नवीनता नेतृत्वमा, स्कुलमा दिने संस्कार, विद्यालयको पूर्वाधार र शिक्षकको व्यक्तित्व विकास, भाषा र साहित्य लगायतको विषयमा सम्मेलन केन्द्रित हुने प्याब्सनले जनाएको छ । 

pabson_education_int

प्रतिक्रिया