Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

निजी विद्यालयलाई गुठीमा लैजाने प्रावधान कहाँबाट घुसेछ थाहा भएन :कानुन मन्त्री

‘शिक्षा विधेयक अघि बढाउने क्रममा कानुनमा सहमति हुँदासम्म गुठीमा लैजाने प्रावधान थिएन । कहाँबाट घुस्दो रहेछ ? मन्त्री परिषद्को बैठकमा शिक्षा मन्त्रीले पनि यो त थिएन भन्नुभयो’

शुक्रबार, २९ मंसिर २०८०

काठमाडौँ - कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले निजी विद्यालयलाई सार्वजनिक गुठीमा लैजाने प्रावधान राख्न नहुने प्रावधान आफ्नो मन्त्रालयबाट सहमति दिएपछि अन्यत्रै घुसाएको खुलाएका छन् । 

संसद्मा पेस गर्नु गर्नुअघि कानुन मन्त्रालयबाट सहमति दिएर पठाएपछि मात्रै कम्पनीमा दर्ता भएका निजी विद्यालयलाई ५ वर्षभित्र सार्वजनिक गुठीमा रूपान्तरण गर्ने प्रावधान घुसाएको उनले खुलासा गरे । ‘

शिक्षा विधेयक अघि बढाउने क्रममा कानुनमा सहमति हुँदासम्म गुठीमा लैजाने प्रावधान थिएन । कहाँबाट घुस्दो रहेछ ? मन्त्री परिषद्को बैठकमा शिक्षा मन्त्रीले पनि यो त थिएन भन्नुभयो,’ निजी विद्यालयका छाता सङ्गठन प्याब्सनले आयोजना गरेको प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने,‘हामीले थाहा पाएपछि  सबै सहमतिमा यो घुस्न लागेको कुरा यसो बाहिर राखेका छौ ।’ मन्त्रिपरिषद्बाट पारित भइसकेको विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्न रोकेर सरकारले कम्पनीमा दर्ता भएका निजी विद्यालयलाई ५ वर्ष भित्र सार्वजनिक गुठीमा दर्ता गर्नु पर्ने प्रावधान हटाएको थियो । सरकारले संसद्मा पेस गरेको विधेयकमा अहिले सञ्चालनमा रहेका निजी विद्यालय कम्पनीमै रहन पाउने र अब दर्ता हुने विद्यालय मात्रै कम्पनीमा दर्ता हुन नपाउने प्रावधान राखिएको छ । सांसदहरूले यो प्रावधानको विपक्षमा संशोधन हालेका छन् । काँग्रेस, एमाले र माओवादीले १०  र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले २० पछि भित्र निजी विद्यालयलाई सार्वजनिक गुठीमा लैजाने प्रावधान राखेर कानुन बनाउनु पर्ने संशोधन हालेका छन् । 

विधेयक प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइसकेको छ । यसको दफावार छलफल हुन बाँकी छ । ‘मुलुकको शिक्षा विधेयकलाई अघि बढाउन गाह्रो भएको छ । त्यति धेरै पीडामा रह्यो,’मन्त्री गुरुङले भने । 

निजी विद्यालयमा हुने खानेका छोराछोरी मात्रै नभई गिट्टी कुट्नेका सन्तान समेत पढ्ने भएकोले यसको गुणस्तरमा सबैले आस गरेको मन्त्रीले बताए । ‘निजी विद्यालयमा धनीले मात्रै पडाउँछ ? जस्तो लाग्दैन है । बिहानदेखि बेलुकासम्म घोटिने, गिटी कुट्ने अभिभावकले पनि आफ्नो बच्चालाई राम्रो पढाउने विद्यालय खोज्छन्,’उनले भने,‘सामुदायिक विद्यालय नराम्रो भन्न खोजेको होइन । अहिले हेर्दा गिटी कुटेर खाने पनि बोडिङ स्कुल पढाइरहेका छन् । सत्य त यही हो तर, निजीमा पढेकाको दुःख पनि छ । स्कलरसिपको ढोका भने बन्द भएको देख्छु ।’ यस विषयमा पनि छलफल गर्नु पर्ने उनले बताए । सम्मेलनको उद्घाटन कार्यक्रममा उनले भनिन,‘म त कानुन मन्त्री हु । शिक्षा मन्त्रालयको मन्त्री बाहेक सबै अङ्ग यही हुनुहुन्छ । यो ध्यानाकर्षण हो । सुधार गर्दै लैजानुपर्छ ।’ 

मुलुकलाई एजुकेसन हब बनाउन निजी विद्यालयको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । ‘लाखौँ विद्यार्थी बाहिरिइरहेका छन् । बाहिरिने क्रम जारी छ,’उनले भने,‘हामीले हाम्रो शिक्षालाई गुणस्तर शिक्षा बनाउने भन्ने सबै लाग्नुपर्छ ।’  

 

 

 

प्रतिक्रिया