Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

अनेरास्ववियुले अघि सार्‍यो विश्वविद्यालयमा बोर्ड अफ ट्रस्टीको अवधारणा

प्रधानमन्त्री कुलपति हुँदा विश्वविद्यालयमा राजनीतिक करण भएको भन्दै बोर्ड ट्रस्टीको अवधारण

विहीबार, २८ मंसिर २०८०

काठमाडौँ–एमाले निकट अनेरास्ववियुले विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टीको अवधारणा अनुसार सञ्चालन गर्नु पर्ने प्रस्ताव ल्याएका छन् । कुलपति प्रधानमन्त्री रहँदा विश्वविद्यालयमा राजनीतिक करण भएको भन्दै बोर्ड ट्रस्टीको अवधारण अघि अनेरास्ववियुले जनाएको छ । 

नेपालका विश्वविद्यालयलाई विश्वस्तका विश्वविद्यालयहरुसंग प्रतिस्पर्धी बनाउन प्राज्ञिक नेतृत्वको आवश्यकता खड्किएको अनेरास्ववियुका अध्यक्ष समिक बडालको अवधारणा पत्रमा उल्लेख छ । ‘मानार्थ व्यक्ति विश्वविद्यालयको मूल नेतृत्व हुने व्यवस्थाबाट विश्वविद्यालयको मूल नेतृत्व बोर्ड आफ ट्रस्टीले निष्पक्ष आधारमा क्षमतावान् व्यक्ति छनौट गर्ने व्यवस्था स्थापित गर्न सबै पक्षबाट सरकारलाई दबाब सिर्जना गर्नु पर्ने देखिन्छ,’बडालले भनेका छन् । 

राष्ट्र प्रमुख वा सरकार प्रमुख कुलपति हुने र उसको अधिनायकत्वमा विश्वविद्यालय सञ्चालन हुने अभ्यासबाट अधिकांश विश्वविद्यालयहरू स्वायत्त रूपमा बोर्ड आफ ट्रस्टी र स्वतन्त्र रूपमा नियुक्त कुलपतिले सञ्चालन गर्ने दिशामा अगाडी बढी सकेकोले अब नेपाल पनि यस तर्फ अघि बढ्नु पर्ने अनेरास्ववियुको अवधारण पत्रमा उल्लेख छ ।  ‘बोर्ड अफ ट्रस्टीले विश्वविद्यालय सञ्चालन गर्दा प्राज्ञिक नेतृत्वको सुनिश्चितता हुने भयो । प्राज्ञिक नेतृत्वले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तताको सुनिश्चितता गर्दछ,’ बडालले तयार पारेको अवधारणा पत्रमा उल्लेख छ,‘यसले विश्वविद्यालयको प्राज्ञिक गुणस्तर वृद्धि गर्नुका साथै प्राज्ञिक विश्वसनीयतालाई पनि बढवा दिन्छ ।’ बोर्ड अफ ट्रस्टीले नियुक्ति गर्ने कुलपति क्षमता र उपयुक्त अनुभव सहितको हुने र विश्वविद्यालयले आफूलाई समय अनुकूल परिमार्जन गर्दै जाने सम्भावना हुने बडालको अनुमान छ । सरकार निरन्तर परिवर्तन हुने सम्भावना भएकोले विश्वविद्यालयमा नेतृत्व परिवर्तन भइरहने र समय दिन पनि नसक्ने उनले अवधारणा पत्रमा लेखेका छन् । ‘उ राष्ट्र सञ्चालनमा बढी केन्द्रित हुनु पर्ने हुँदा विश्वविद्यालयमा उसको भूमिका निष्क्रिय खालको हुन्छ जसको कारण विश्वविद्यालय अनिर्णयको बन्दी हुन  सम्भावना रहन्छ,’बडालको अवधारणा पत्रमा उल्लेख छ,‘राजनीतिक व्यक्ति विश्वविद्यालयको प्रमुख हुँदा उक्त विश्वविद्यालयमा  आवश्यक भन्दा बढी राजनीतिकरण हुने सम्भावना रहन्छ । विश्वविद्यालय प्राज्ञिक क्षेत्रहरू हुन र त्यसको नेतृत्व पनि प्राज्ञिक क्षेत्रबाट नै आउनु पर्दछ तर, राष्ट्र प्रमुख वा सरकार प्रमुख विश्वविद्यालयको नेतृत्वमा रहँदा विश्वविद्यालयले विषय विज्ञको अभिभावकत्व र नेतृत्व गुमाउँदछ ।’ 

 

 

 

प्रतिक्रिया