Edukhabar
सोमबार, १० मंसिर २०८१
गतिविधि

राजनीतिक हस्तक्षेपले विश्वविद्यालय सुधार हुन सकेन : शिक्षामन्त्री, मधेस प्रदेश

विश्वविद्यालयमा पार्टीको आदेश पालना गर्ने कार्यकर्ता पठाउने भन्दा पनि योग्य व्यक्ति प्रतिस्पर्धा गरेर छान्नु जरुरी छ

बुधबार, २७ मंसिर २०८०

काठमाडौ - मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नरोकेसम्म उच्च शिक्षामा सुधार आउन नसक्ने बताएका छन् । विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार, करारमा शिक्षक नियुक्ति र सम्बन्धनमा राजनीतिक हस्तक्षेप रोक्नु पर्ने उनले बताए । 

उच्च शिक्षामा सुधार नहुनुको अर्को कारण कर्मचारीको सङ्घ/सङ्गठन भएको मन्त्री  यादवले बताए । ‘भिसी नियुक्तिमा पार्टीको कार्यकर्ता खोजेपछि विश्वविद्यालयको काम गर्ला कि पार्टीको ?,’राष्ट्रिय उच्च शिक्षा योग्यता प्रारूपको छलफलमा उनले भने,‘त्यसैले विश्वविद्यालयमा पार्टीको आदेश पालना गर्ने कार्यकर्ता पठाउने भन्दा पनि योग्य व्यक्ति प्रतिस्पर्धा गरेर छान्नु जरुरी छ ।’ 

नेताहरूले विश्वविद्यालयलाई व्यक्तिगत स्वार्थको लागि प्रयोग गर्न नहुने उनको बुझाई छ । विश्वविद्यालय सुधार गर्ने अर्को सूत्र भनेको प्राध्यापकहरू अवकाशमा जानुअघि नै विज्ञापन गरेर योग्य व्यक्ति पदपूर्ति गर्न सक्नु पर्ने उनले बताए । त्यस्तै पाठ्यक्रम पनि विदेशको नक्कल नभई नेपालकै वस्तुस्थितिसँग मिल्ने हुन पर्ने मन्त्री यादवले बताए । ‘पढाई लेखाईको करिकुलम विदेशको होइन, नेपालको बस्तुस्थित अनुसार हुनुपर्छ ,’उनले भने,‘विश्वविद्यालयको करिकुलम अनुसार पढेपछि जहाँ गएर पनि हाम्रो जनशक्तिले प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ ।’ 

युनेस्को काठमाडौँको सहयोगमा विश्वविद्यालय अनुदान आयोगले गरेको प्रारूपको सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा सहभागी विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, प्राध्यापक र विज्ञहरूलाई मन्त्री यादवले आफूलाई पहिला चिन्न सके मात्रै मुलुकको उच्च शिक्षाको विकास हुने बताए । ‘हामीले आफैले आफैलाई चिन्नु पर्ने अवस्था छ । तपाईँहरूको छोराछोरी कतिले स्वदेशमै पढाउनु भएको छ ? आफ्नो छोराछोरी विदेशमा गएर पढ्यो भने गर्व गर्छौ । हामी यही पढेर यहाँसम्म पुगेका छौ,’मन्त्री यादवले भने,‘आफ्नो कुरा सम्झिदा  हामी कति देशप्रति जिम्मेवार छौ भन्ने थाहा हुन्छ । जबसम्म हामीले हाम्रो बच्चा यही पढाउन सक्दैनौ तबसम्म मुलुकको शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्दैनौ ।’ 

 

प्रतिक्रिया