Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

‘६०प्रतिशत विद्यार्थी स्कुल गएका छैनन्’

अझै भूकम्प जान सक्ने डरले विद्यार्थी नियमित विद्यालय नआएको हुन सक्ने

मंगलबार, २६ मंसिर २०८०

काठमाडौँ– भूकम्पले विद्यालय र घर भत्किएपछि जाजरकोट र रुकुमका ६० प्रतिशत विद्यार्थी अझै विद्यालय जान नसकेको संसदीय अनुगमन टोलीले जनाएको छ । 

कात्तिक १७ मा गएको भूकम्पले भौतिक संरचना मात्रै नभई मानसिक रूपमा पनि विद्यार्थी विद्यालय जान सक्ने अवस्थामा नरहेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले बताए । ‘४० प्रतिशत विद्यार्थी मात्रै विद्यालयमा उपस्थित भएको पाइयो । अझै ६० प्रतिशत विद्यालय आउन सकेका छैनन्,’उनले भने,‘घर भत्किएको छ । आफन्त गुमाएका छन् । विद्यालयमा पढ्नको लागि भौतिक संरचना छैन ।’ अझै भूकम्प जान सक्ने डरले विद्यार्थी नियमित विद्यालय नआएको हुन सक्ने उनले बताए ।

अनुगमनमा बद्री पाण्डे, ज्ञानु बस्नेत, दिपा शर्मा, अरुण चौधरी र विनीताकुमारी सिंह रुकुम, जाजरकोट, बाजुरा गएका छन् । ‘विद्यालयमा तत्काल सञ्चालनको लागि त्रिपाल ओडाएर टहरा त बनाएको छ । दिउसो गुम्सिएर पढ्न सक्ने अवस्था छैन,’नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले भने,‘तत्काल भवन बनाउन सक्ने अवस्था नभएकोले अस्थायी सिकाई केन्द्र बनाउनु पर्ने हुन्छ ।’ पछिल्लो केही वर्षयता बनेको पक्की भवनमा क्षति नभएपछि ढुङ्गा माटोले बनेको सम्पूर्ण संरचनामा क्षति भएको पाइएको उनले बताए । रुकुम पश्चिममा ३ सय १९ विद्यालयमा क्षति भएको छ । यी विद्यालयमा अध्ययन गर्ने १८ हजार २ सय ५० विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् । जाजरकोटमा ४ सय २३ विद्यालयमा ५७ हजार ६ सय ८२ विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् ।

भूकम्पले विद्यालयको संरचना भत्किएपछि ७५ हजार ९ सय ३२ विद्यार्थी प्रभावित भएका छन् । सरकारले जाजरकोट, रुकुम पश्चिम, बाजुरा र बझाङमा क्षति भएको विद्यालयको संरचना बनाउन कुनै पनि पहल गरेको छैन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा १ अर्ब र सीएलपीआईयुमा करिब २ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । यो रकम पुनर्निर्माण लगाउन समेत कुनै योजना बनाएको छैन ।

 

 

प्रतिक्रिया