Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

बाल सङ्गठनका विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयले छात्रवृत्ति दिने

१२ कक्षा उत्तीर्ण गरेका बालबालिका मध्ये कम्तीमा दुई जनालाई काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रममा अध्ययनको लागि पूर्ण छात्रवृत्ति दिने

आइतबार, २४ मंसिर २०८०

धुलिखेल-काठमाडौं विश्वविद्यालयले  नेपाल बाल सङ्गठनमा हुर्केर १२ कक्षा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित बाल गृहहरूमा संरक्षित कक्षा १२ उत्तीर्ण गरेका बालबालिका मध्ये कम्तीमा दुई जनालाई काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रममा अध्ययनको लागि पूर्ण छात्रवृत्ति दिन लागेको हो । 

विश्वविद्यालय र बाल सङ्गठन बिच आइतबार विश्वविद्यालय परिसर धुलिखेलमा यस बारेमा सम्झौता समेत भएको छ ।  

विश्वविद्यालयका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन मनिष पोखरेल र  नेपाल बाल सङ्गठनका तर्फबाट अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सम्झौता पत्रमा  हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार बाल सङ्गठनको उत्थान र प्रगतिका लागि विश्वविद्यालयले सहकार्यको वातावरण निर्माण गर्नु पर्नेछ । यसका लागि विश्वविद्यालयले बाल सङ्गठनको पाँचखाल, काभ्रेमा रहेको जमिन भाडामा लिएर त्यहाँ इन्जिनियरिङ अध्ययन तथा अध्यापनका सम्भावना खोज्ने, पुरानो भवनको जीर्णोद्धार गर्ने तथा नयाँ संरचना निमगण गर्ने सहमति भएको छ । 

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका कुलपति प्रा डा भोला थापाले छात्रवृत्ति मार्फत बालबालिकाको भविष्यसँग जोडिन पाउँदा विश्वविद्यालयलाई गर्व लागेको बताए । बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सङ्गठनमा आश्रित बालबालिकालाई उज्यालो भविष्य दिलाउन पाएकोमा खुसी व्यक्त गरिन् । 

“काठमाडौं विश्वविद्यालयजस्तो शिक्षामा अग्रणी र दूरदर्शी शैक्षिक संस्थासँग सहकार्य गरेकोमा बालबालिकाको भविष्यलाई लिएर हामी खुसी छौँ,” न्यौपानेले भनिन् । 

दश वर्षमा नवीकरण हुने गरी दुई पक्षबिच सम्झौता भएको  हो । 

नेपालका ७७ वटै जिल्लामा शाखा भएको बाल सङ्गठनमा हाल ३६० भन्दा बढी बालबालिका संरक्षित छन् ।

प्रतिक्रिया