Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

विभिन्न पाँच विषयका लागि श्रोत शिक्षक छनौट

शैक्षिक नीति, योजना र कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र गुणस्तर सुधारका लागि विद्यालयलाई प्राविधिक सहयोग गर्ने

आइतबार, २४ मंसिर २०८०

काठमाडौ - सामुदायिक विद्यालयलाई प्राविधिक सहयोग गर्न काठमाडौ महानगरपालिकाले विभिन्न पाँच विषयमा स्रोत शिक्षक छनौट गरेको छ । शैक्षिक नीति, योजना र कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र गुणस्तर सुधारका लागि विद्यालयलाई प्राविधिक सहयोग गर्न स्रोत शिक्षक नियुक्ति गरिएको महानगरले जनाएको छ । 

आईतबार सार्वजनिक नतिजा अनुसार अंग्रेजी विषयका लागि २ जना, गणितका लागि ३ जना, सामाजिकका लागि २ जना र विज्ञान विषयका लागि २ जना स्रोत शिक्षक छनौट भएका छन् । नेपालीका लागि माग संख्या २ भए पनि एक जना मात्रै छनौट गरेको महानगरले जनाएको छ । 

न्यूनतम ४४ र बढीमा ६० वटा सामुदायिक र संस्थागत विद्यालय हेर्ने गरी स्रोत शिक्षकको सिफारिस गरिएको महानगरका शिक्षा शाखा प्रमुख सिताराम कोइरालाले बताए ।

संघीयता लागू भएपछि देशभरको १ हजार ५३ स्रोत केन्द्र खारेज गरेर स्रोत व्यक्तिको व्यवस्था हटाइएको थियो । विद्यालय अनुगमन र विद्यार्थीको एकिन विवरण समेत आउन छाडेपछि यसपाली लिखित र अन्तरवार्ताको आधारमा विषयगत स्रोत शिक्षक छनौट गरेको हो । सरकारले पनि स्रोत व्यक्ति राख्ने बजेट भाषणमा घोषणा गरेको छ ।  

काठमाडौं महानगरमा ११ जना स्रोत व्यक्ति आवश्यक पर्ने भए पनि ३२ जनाले लिखित परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये १८ जना मात्रै लिखित उतीर्ण भएका थिए । लिखितमा उतीर्ण भएकालाई आइतबार अन्तरवार्त लिएर छनौट गरेको हो । काठमाडौं महानगरपालिकाले स्रोत शिक्षकको लागि कात्तिक १७ मा विज्ञापन गरेको थियो । विषयगत रूपमा भएको विज्ञापनमा मङ्सिर २३ मा लिखित परीक्षा भएको थियो । अन्तरवार्ता समेतको प्राप्ताङ्कको आधारमा स्रोत शिक्षक पदमा नियुक्तिका लागि सिफारिस गरिएको छनौट समितिका संयोजक समेत रहेका कोइरालाले बताए । 

गणितका सुशील खनाल, रश्मि तामाङ, कमलप्रसाद भट्ट छनौट भएका छन् । नेपालीमा खगराज जोशी छनौट भएका छन् । नेपालीमा दुई जना आवश्यक भए पनि उनी मात्रै उतीर्ण भएका हुन् । अङ्ग्रेजीमा नवराज ढकाल र दिनेश केसी, सामाजिकमा रमेशकुमारी दर्जी, नारायणप्रसाद नेपाल, विज्ञानमा योग्यराज प्रसाईँ र कपिलजंग पाण्डे स्रोत शिक्षकको रूपमा छनौट भएका हुन् । 

हेर्नुहोस् छनौट भएका श्रोत शिक्षकको पुरा विवरण : 

यसैगरी महानगरले कम्तिमा पाँच बर्ष अघि स्थायी भएका शिक्षकलाई करारमा प्रधानाध्यापक बनाउने गरी दरखास्त आह्वान गरेको छ । आधारभूत तहको कक्षा १ – ५ का लागि ६ जना, कक्षा १ – ८ का लागी २१ जना र माध्यमिक तहका लागि ४४ जना गरी ७१ जना प्रधानाध्यापक नियुक्तिका लागि महानगरले प्रकृया शुरु गरेको हो । 

प्रतिक्रिया