Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

विश्वविद्यालयका विद्यार्थीबाट प्रतिस्पर्धा गराएर विद्यालयको सिकाइ सामाग्री, उत्कृष्टलाई १ लाख अनुदान

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित विषय कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई सजिलोसँग बुझाउने सामाग्री तयार गर्न मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीलाई सहभागी गराउन लागेको हो ।

शनिबार, २३ मंसिर २०८०

काठमाडौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा प्रयोग हुने सिकाइ सामाग्रीको विकास गर्न विश्वविद्यालयका विद्यार्थी बिच प्रतिस्पर्धा गराउने भएको छ । 

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित विषय विद्यार्थीलाई सजिलोसँग बुझाउने सामाग्री तयार गर्न मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीलाई सहभागी गराउन लागेको हो । उत्कृष्ट सामाग्री बनाउने विद्यार्थीलाई एक लाख पुरस्कार प्रदान गर्ने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी बिच प्रतिस्पर्धा गराउन लागेको मन्त्रालयले जनाएको छ । 

शिक्षण सामाग्री तयार गर्ने प्रतिस्पर्धाको लागि मन्त्रालयले सूचना समेत प्रकाशित गरिसकेको छ । पुस १९ सम्म विश्वविद्यालयका विद्यार्थीले कक्षा ५ देखि १० सम्मको पाठमा आधारित रहेर सामाग्री बनाउन मन्त्रालयमा निवेदन दिनु पर्ने हुन्छ ।

 यस्ता सामाग्री एकल र समूहमा तयार गर्ने गरी मन्त्रालयमा निवेदन दिनु पर्ने हुन्छ । विद्यार्थीले कस्ता सामाग्री बनाउने र कसरी मुल्याङकन गर्ने भन्ने मन्त्रालयले छुटटै कार्यविधि समेत बनाएको छ । मन्त्रालयका अनुसार प्रतिस्पर्धामा भाग लिन विद्यार्थीले प्रस्ताव पेस गर्नु पर्ने हुन्छ । प्रस्तावमा प्रतिस्पर्धी विद्यार्थीले बनाउन लागेको सामाग्री देखिने र देखाउने भन्दा पनि विद्यार्थी र शिक्षक कसरी सिकाई विधिमा जोडिन सक्छ त्यसमा आधारित भएर डिजाइन गर्नु पर्ने हुन्छ । 

त्यस्तै सिकाइ सामाग्री प्रयोग गर्दा विद्यार्थीले पहिला सुन्ने, बुझ्ने, त्यसपछि सुनेको कुरा सम्झने र अन्त्यमा सम्झेका कुराको आधारमा केही क्रियाकलाप गरी विद्यार्थीले सम्बन्धित विषयको ज्ञान लिन सक्ने सामाग्री डिजाइन गर्नु पर्ने मन्त्रालयले जनाएको छ । प्रतियोगिताको लागि मन्त्रालयले तयार गरेको कार्यविधिमा भनिएको छ,‘त्यस्ता सामाग्री सकेसम्म स्थानीय स्तरमा उपलब्ध सामानहरूबाट निर्माण गर्न सकिने गरी डिजाइन गर्ने, सकेसम्म सजिला मेकानिजम्स भएका सामाग्री बनाउने र प्रयोग गर्दा शिक्षकको जिम्मेवारी र विद्यार्थीको क्रियाकलाप के हुने प्रस्ट हुनुपर्छ ।’ कुनै एउटा विद्यार्थीले निर्माण गर्ने सामाग्रीको बारेमा आफ्नो कक्षा वा क्याम्पसका अन्य साथीहरूलाई सुनाएर बढीमा तीन जनाको समूह बनाउन सकिने मन्त्रालयले जनाएको छ । एक्लै गर्न सकेमा समूह आवश्यक नपर्ने कार्यविधिमा उल्लेख छ । 

प्रतियोगितामा भाग लिन आफूलाई सहयोग गर्न सक्ने एक जना शिक्षक (मेन्टर) को समेत नाम समेत मन्त्रालयमा पेस गर्ने फारममा उल्लेख गर्नु पर्ने हुन्छ । मन्त्रालयले तयार गरेको फारमको ढाँचामा क्याम्पस प्रमुख र मेन्टरले स्वीकृत गराउनु पर्ने हुन्छ । 

विद्यार्थीले हुलाक र इमेल [email protected] बाट फारम मन्त्रालयमा पठाउन सकिने व्यवस्था गरेको छ । छनौट भएमा सिकाइ सामाग्रीको अनुमानित लागतको आधारमा बढीमा १ लाख र न्यूनतम २५ हजार रुपैयाँ प्रदान गर्ने मन्त्रालयले जनाएको छ । 

यसरी विद्यार्थीले पठाएको सामाग्रीको मुल्याङकन गर्न विज्ञ सहितको तीन सदस्य उपसमिति गठन हुनेछ । सामाग्रीको लागतको आधारमा मुल्याङकन समितिले कुन विद्यार्थीलाई कति रकम दिने भन्ने सिफारिस गर्नेछ ।

मन्त्रालयले प्रतियोगिताको लागि सूचना जारी गरिसकेको छ । विद्यार्थीले पेस गर्ने फारमको नमुना समेत सार्वजनिक गरिएको छ । फारममा क्याम्पसको नाम, विद्यार्थी एकल वा समूहको नाम, सिकाई सामाग्री के हो रु प्रयोग हुने कक्षा कतिलाई हो ? विषय र पाठ उल्लेख गर्नु पर्ने हुन्छ । त्यस्तै बनाउने सिकाई सामाग्रीको बारेमा बढीमा २ सय शब्दको विवरण पेस गर्नु पर्ने हुन्छ । विद्यार्थीले सिकाई सामाग्रीको चित्र समेत बनाउनु पर्ने हुन्छ । त्यस्तै निवेदनमा सिकाई सामाग्री बनाउँदा लाग्ने अनुमानित खर्च, सिकाई सामाग्रीको प्रयोग गर्ने विधि, सिकाउन लाग्ने समय, उद्देश्य समेत प्रस्ट पार्नु पर्ने हुन्छ । 

विद्यार्थीले दिएको निवेदनको मुल्याङकन गर्ने आधार समेत तय गरिएको छ । जसमा पाठ्यक्रममा सिकाउन खोजिएको उद्देश्य, सामाग्रीको औचित्यलाई १० अङ्क भार दिइएको छ । धेरै विषय तथा पाठहरूसँग सम्बन्ध राख्ने सामाग्री भएमा १० अङ्क, सामाग्री प्रयोगको बेला विद्यार्थी र शिक्षकको संलग्नतालाई २० अङ्क भार दिइएको छ । सिकाई सामाग्री प्रयोग गर्ने विधिको स्पष्टतालाई २० अङ्क, त्यस्तै स्थानीय सामाग्रीको प्रयोगलाई २० अङ्क भार छुटाइएको छ । व्यापारिक रूपमा निर्माण गर्न सकिने भएमा १० अङ्क, निवेदन र प्रस्तुतीकरणलाई १० अङ्क भार दिने गरी कार्यविधि बनाइएको छ । 

 

प्रतिक्रिया