Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

अनौपचारिक शिक्षामा कार्यरत संस्थामा १२ बर्ष पछि निर्वाचन हुँदै, पर्यवेक्षणमा अन्तराष्ट्रिय प्रतिनिधि बोलाईने

मंगलबार, १२ मंसिर २०८०

काठमाडौ - नेपाल स्काउटको निर्वाचन पर्यवेक्षणका लागी अन्तराष्ट्रिय प्रतिनिधि बोलाईने भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाको क्षेत्रमा सात दशक देखि संलग्न स्काउटमा १२ बर्ष पछि निर्वाचन हुन लागेको छ ।

नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचनलाई पारदर्शी र व्यवस्थित बनाउन विश्व स्काउट संगठन ओजम र वाग्सका प्रतिनिधिहरुलाई पर्यवेक्षणका लागी औपचारिक निम्तो पठाईसकेको नेपाल स्काउटले जनाएको छ । 
स्थानीय परिषद्हरुको निर्वाचन आगामी पुष २७ देखि २९ सम्म, प्रदेश परिषदहरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ०६ गते गर्ने गरी मिति तोकिएको छ । 

राजनितिक हस्तक्षेपका कारण २०६८ सालमा भएको निर्वाचन यता स्काउटमा निर्वाचन हुन सकेको छैन । २०७० सालमा तत्कालिन प्रमुख आयुक्त श्रीराम लामिछानेको राजिनामा पछि स्काउट निरन्तर राजनीतिक भर्ती केन्द्र बनिरहेको छ ।

लामिछाने पछि राजनीतिक नियुक्तिमा चार जना नियुक्त भईसके पनि निर्वाचन हुन सकिरहेको छैन । केपी ओली प्रधानमन्त्री भएका बेला युवा तथा खेलकुद मन्त्रालयले २०७५ पुस १६ गते एमाले कार्यकर्ता समेत रहेका उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का महासचिव लोकबहादुर भण्डारीलाई नियुक्त गरेको थियो । तर, उनको नियुक्तिको यतिका समय सम्म पनि स्काउट पुरानो लयमा फर्कन सकिरहेको छैन । भण्डारी अघि नियुक्त भएका ध्रुवप्रसाद शर्मा, रविन दाहाल, चन्दन कौशिक संयोजक बने पनि कसैले निर्वाचन गर्न सकेनन् । भण्डारीलाई दिइएको जिम्मेवारीमा भने कार्यकाल तोकिएको छैन । 

हरेक चार बर्षमा आवधिक निर्वाचन हुने व्यवस्था भए पनि राजनितिक हस्तक्षेपका कारण १२ बर्ष सम्म हुन नसकेको निर्वाचनको मिति भने यस पटक तोकिएको छ ।  २००९ सालमा स्थापित नेपाल स्काउटले विश्व स्काउटको सदस्यता भने २०२६ मा पाएको थियो ।

प्रतिक्रिया