Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान, नियुक्ति करारमा

विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र गुणस्तर सुधारका लागि विद्यालयलाई प्राविधिक सहयोग गर्न स्रोत शिक्षक नियुक्ति गरिने

शुक्रबार, १७ कार्तिक २०८०

काठमाडौ - कम्तिमा पाँच बर्ष अघि स्थायी भएका शिक्षकलाई करारमा प्रधानाध्यापक बनाउने गरी महानगरपालिकाले दरखास्त आह्वान गरेको छ । आधारभूत तहको कक्षा १ - ५ का लागि ६ जना, कक्षा १ - ८ का लागी २१ जना र माध्यमिक तहका लागि ४४ जना गरी ७१ जना प्रधानाध्यापक नियुक्तिका लागि महानगरले प्रकृया शुरु गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै महानगरले विद्यालय विकास प्रस्ताव र उक्त प्रस्तावको प्रस्तुतीकणका आधारमा प्रधानाध्यापक छनौट गरिने जनाएको छ । मंसिर १ गते सम्म निवेदन दिन सकिने र प्रस्ताव मंसिर ८ गते सम्ममा पेश गर्नु पर्ने छ । 

विद्यालय समायोजन वा थपघट भएमा उक्त संख्या थपघट हुनसक्ने सूचनामा उल्लेख छ । माध्यामिक तहका लागि दुई हजार, आधारभूत तह (१–५) का लागि एक हजार आधारभूत तह (१–८) का लागि एक हजार ५ सय रुपैंया परीक्षा शुल्क तोकिएको छ । 

यसैगरी ११ स्रोत शिक्षकका लागि पनि महानगरपालिकाले प्रकृया शुरु गरेको छ । पालिकाको शैक्षिक नीति, योजना र कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र गुणस्तर सुधारका लागि विद्यालयलाई प्राविधिक सहयोग गर्न स्रोत शिक्षक नियुक्ति गर्न लागिएको महानगरले जनाएको छ । 

अंग्रेजी विषयका लागि २ जना, नेपालीका लागि २ जना, गणितका लागि ३ जना, सामाजिकका लागि २ जना र विज्ञान विषयका लागि २ जना स्रोत शिक्षकको लागि महानगरले दरखास्त आह्वान गरेको छ । स्रोत शिक्षकका लागि दरखास्त दिने मिति मंसिर १ गते सम्म तोकिएको छ । स्रोत शिक्षक छनौटका लागि लिखित परीक्षा एवं प्रयोगात्मक र अन्तर्वार्ता हुने छ । परीक्षा शुल्क २ हजार तोकिएको छ । परीक्षा मंसिर १८ गते सञ्चालन गर्ने महानगरको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया