Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

गोली हानी शिक्षकको हत्या

हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ

सोमबार, १३ कार्तिक २०८०

बारा - गोली हानेर बारामा एक शिक्षकको हत्या भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक एवं प्रिन्सिपल रुपेश सर्राफको हत्या भएको हो । मदरसा टोलमा सोमबार दिउँसो करिब सवा १ बजेतिर  दुईवटा मोटरसाईकलमा आएका नचिनेका मान्छेहरुले गोली हानेर भागेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै वडाध्यक्ष रामविश्वास ठाकुर लोहारले बताए । 

'दुईवटा मोटरसाईकलमा ४ जना आएका रहेछन् । उनीहरु नचिनेका मान्छेहरु हुन् । तिनैले गोली हानेर भागेको फूलको रुखको छहारीमा गफगाफ गर्दै बसेका प्रत्यक्षदर्शीले देखेको बताएका छन्' उनले भने 'राम्रो सँग विद्यालय सञ्चालन गर्नु भएको थियो, बहुत असल मान्छे हुनुुहुन्थ्यो, समाजसेवी हुनुहुन्थ्यो, कसैसँग रीसईवी भएको पनि देखिदैंन थियो तर घटना भयो, प्रहरीले राम्रोसंग छानवीन गर्ने छ भन्ने विश्वास लिएका छौं ।'

घाँटी र टाउकोमा गोली लागेर घाईते सर्राफलाई उपचारका लागि शुरुमा कलैया प्रादेशिक अस्पतालमा लगिएको थियो । थप उपचारका लागि वीरगञ्ज स्थित बयोधा अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा सोमबार दिउँसो करिब २ बजेतिर उनको निधन भएको प्रहरीले जनाएको छ । 

सर्राफ हत्यामा संलग्न भएको आशंकामा प्रहरीले कलैयाबाट एक जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । उक्त व्यक्तिका बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले विस्तृत विवरण पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्ने उनले बताए । 

सर्राफ निजी विद्यालय सञ्चालकहरुको संस्था नेसनल प्याब्सनको सदस्य विद्यालयको सञ्चालक हुन् । उनका दाजु सुमोध सर्राफ बारा जिल्ला नेसनल प्याब्सनका उपाध्यक्ष हुन् । घटनालाई क्रुर भन्दै नेसनल प्यासनका पूर्व अध्यक्ष क्रृतुराज सापकोटाले हत्याको भत्र्सना गरेका छन् । उनले घटनाको सत्य तथ्य छानबीनको माग समेत गरेका छन् । 

फोटो : शिवपुजन गुप्ताको फेसबुकमा राखेको फोटोलाई व्लर गरिएको । 

प्रतिक्रिया