Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षक नेताहरुको भाषणको तारोमा स्थानीय सरकारका जनप्रतिनिधि

प्रर्दशनको सन्देश शिक्षा मन्त्रालयसँग हैन सिधै सरकारसँग वार्ता

बुधबार, ०३ असोज २०८०

काठमाडौ - शिक्षक नेताहरुले आफ्नो भाषणको तारो स्थानीय सरकारका जनप्रतिनिधि लक्षित गर्दै पहिलो दिनको प्रर्दशन सम्पन्न गरेका छन् । विधेयक दर्ता हुनु अघि नै आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघको व्यानरमा काठमाडौ केन्द्रित प्रर्दशनमा उनीहरुले शिक्षा मन्त्रालयसँग नभई सिधै सरकारसँग वार्ता गर्ने सन्देश दिएका छन् । 

विद्यालय बन्दको घोषणा गरेर संघीय राजधानी केन्द्रित प्रदर्शनमा उत्रिएका शिक्षक नेताहरुले बानेश्वरमा आयोजित सभामा व्यक्त आफ्नो भाषणका क्रममा आफूहरु स्थानीय सरकार मातहत बस्न नसक्ने कुरा दोहोर्याएका छन् । महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले शिक्षा मन्त्रालयसँग विश्वास नभएको बताईन् । शिक्षा मन्त्रालयले वार्ताका लागि गरेको आह्वान प्रति अनिच्छुक शिक्षक नेताहरुले विधेयक सदनमा दर्ता भईसकेकोले शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको भन्दै सिधै सरकारसँग वार्ता गर्ने बताएका छन् ।

सत्ताधारी दल नेपाली काँग्रेस निकट शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले स्थानीय सरकारहरुले कर्के नजर लगाए उठिवास लगाउने धम्कि दिए । 

'बालेन लगायत स्थानीय सरकारले शिक्षकहरुलाई कर्के  नजर लगाए उठिकास लगाउँछौ' काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले अघि भने 'ऐन पुर्नलेखन नभएसम्म आज आँगनमा छौं भोली भित्रै (संसदमा) पसेर हामी नै ऐन लेख्छौं ।' 

शिक्षकहरुको आन्दोलन चलिरहँदा काठमाडौ महानगरपालिकाले विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा कारवाही गर्ने सूचना सार्वजनिक गरेको थियो । 

पढ्नुहोस् : विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा कारवाही

उक्त सूचनालाई लक्षित गर्दै शिक्षक नेताहरुले स्थानीय सरकार प्रति कटाक्ष गरेका हुन् । कार्यक्रम सञ्चालन गरेका महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आफूहरु अरिंगाल भएकोले अरिंगालको गोलालाई नजिस्क्याउन सचेत गराए । जिस्काएमा हेलिकप्टर चढेर भाग्नु पर्ने अवस्था आउन सक्ने उनको धम्कि थियो । उनले सांसदहरुलाई चुनाव जित्न आफूहरुले गरेको सहयोग सम्झन समेत स्मरण गराए । 

'माननीय ज्यू चुनाव जित्न यिनै माष्टर चाहिन्छ, अहिले ऐनको ढुङ्गा हान्यौ भने चुनावको बेला उता आउँदा साँच्चै ढुङ्गा हान्न नपरोस्' उनले भने ।

एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले पनि दलका नेताहरुलाई शिक्षकले चुनावका बेला गरेको सहयोग नभुल्न स्मरण गराए । 

'शिक्षककै कारण जनआन्दोलन पुरा भएको हो, जिताउन हामी चाहिने अहिले खोलो तर्यो लौरो विर्सियो गर्न पाइृन्छ ?' प्रश्न गर्दै उनले भने 'खबरदार २०८४ साल मा पनि चुनाव हुन्छ ।' 

विधेयक संसदमा दर्ता भईसकेकोले शिक्षा मन्त्रालयसँग भन्दा सभामुख वा दलका सचेतकहरुसँग वार्ता गर्न सकिने उनले बताए । तर यसका लागि पनि पहिला आफ्ना मागहरु सम्बाधेन गर्ने प्रतिवद्धता पत्र चाहिने उनको भनाइ छ । 
सत्ताधारी दल माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले पालिकामा रहेका कर्मचारीले आफूहरलाई गर्ने अनुगमन अमान्य रहेको बताउँदै स्थानीय सरकार प्रति कटाक्ष गरे ।

'पालिकामा रहेका शिक्षाका खरदार सुव्वा तहका कर्मचारीले विशिष्ठ श्रेणी सहसचिव स्तरका शिक्षकलाई कसरी कारवाही गर्न सक्छन् ?' उनले पनि काठमाडौका मेयर बालेन शाहको नामै लिएर धम्कि दिए, 'शिक्षकले चाहे भने छोटे राजा बालेन शाहलाई सेनाले पनि छेक्न सक्दैन ।' 

प्रदर्शनमा महासंघकी अध्यक्ष कमला तुलाधर भने अनुपस्थित थिईन् । उनका बाबुको निधन भएकाले उनी अनुपस्थित भएको कार्यक्रममा बताईयो । 

दोश्रो दिनको आन्दोलन पनि यही शैलीमा सञ्चालन हुने भन्दै शिक्षक नेताहरुले पटक पटक भएको सहमती पूर्ण रुपमा ऐनमा लिपिवद्ध नभए सम्म आउँदै गरेको दशैं पनि सडकमै मनाउन तयार रहन शिक्षकहरुलाई आह्वान गरेका छन् । 

संविधानले गरेको व्यवस्था अनुकुल स्थानीय सरकारको भूमिका किटान गरेको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक शिक्षा मन्त्री अशोक कुमार राईले गत भदौ २७ गते सदनमा दर्ता गरेका थिए । 
पढ्नुहोस् विधेयक : संघीयता कार्यान्वयन भएको आठ बर्ष पछि बल्ल ऐन निर्माणको प्रकृया शुरु

प्रतिक्रिया