Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

आयोगको दोश्रो उपाध्यक्षमा झा

विहीबार, २१ भदौ २०८०

काठमाडौ - चिकित्सा शिक्षा आयोगको दोश्रो उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । 

आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सिफारिस समितिले झा सहित, डा. प्रविण मिश्र र अहिलेका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो । सत्ताधारी दल माओवादी केन्द्र निकट गिरीले दोहोर्याउन चाहे पनि सत्ताको अर्को घटक नेपाली काँग्रेस निकट झालाई सरकारले नियुक्त गरेको हो । उनी कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुन् । 

चिकित्सा शिक्षा सुधारको अभियान सहित पटक पटक सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसीको सत्याग्रहको महत्वपूर्ण उपलब्धिका रुपमा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्था अनुसार पहिलो उपाध्यक्षका रुपमा गिरी २०७६ साल भदौ २६ गते नियुक्त भएका थिए । उनको चार बर्षे कार्यकाल आगामी भदौ २६ गते सकिदैं छ । उनको कार्यकाल सकिनु अघि नै सरकारले उपाध्यक्ष छनौटको प्रकृया शुरु गरेको गरेको थियो । जसमा गिरी सहित ९ जनाको नाम अन्तिम सूचीमा स्विकृत भएको थियो । 

पढ्नुहोस् : दोश्रो कार्यकालका लागि पनि दोहोरिन आवेदन

यसै बिच प्रा.डा केसीले आयोगमा उपाध्यक्ष हुनका लागि भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्तिले समेत चासो देखाएको भन्दै सरकारको ध्यानाकर्षण गराईसकेका छन् । 

पढ्नुहोस् : भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्ति नियुक्त भएमा उपलब्धि नै उल्टिने जोखिम

आयोगको अध्यक्ष प्रधानमन्त्री भए पनि कार्यकारी भूमिकामा उपाध्यक्ष हुने व्यवस्था छ । चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तय गर्ने, चिकित्सा शिक्षाको सबै तह एवं विधाको मापदण्ड र स्तर सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिने लगायतका काम आयोगको क्षेत्राधिकार भित्र पर्छ । 

प्रतिक्रिया