Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्ति नियुक्त भएमा उपलब्धि नै उल्टिने जोखिम

शुक्रबार, १५ भदौ २०८०

काठमाडौ - चिकित्सा शिक्षा सुधारको अभियान सहित पटक पटक सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष हुनका लागि भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्तिले समेत चासो देखाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीको चार बर्षे कार्यकाल आगामी भदौ २६ गते देखि पुरा हुँदै गर्दा सरकारले नयाँ उपाध्यक्ष नियुक्तिको प्रकृया शुरु गरेका बेला केसीले विज्ञप्ति निकालेर सचेत बनाएका हुन् । 

आयोगको उपाध्यक्ष छनोटका लागि आवेदन दिएका केही व्यक्ति गम्भीर अनियमिततामा मुछिएका, प्रतिष्ठान सञ्चालन गर्दा भ्रष्ट र असफल प्रमाणित पनि रहेको भन्दै स्वार्थको द्वन्द्व नभएका योग्य उम्मेदवार मात्र छनोट गर्न पनि केसीले सरकारलाई आग्रह गरेका छन् । नयाँ उपाध्यक्षका लागि नौ जनाको दरखास्त स्विकृत भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

दोश्रो कार्यकालका लागि पनि दोहोरिन आवेदन, व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण एवम् अन्तर्वार्ताको समय तय

ती नौ जना मध्ये केही व्यक्ति भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्ति भएको केसीको दावी छ । सूचीमा भएका निजी मेडिकल कलेजका सञ्चालकहरु तथा अन्य स्वार्थ समूहहरुले पनि आयोगलाई निशाना बनाएको उनको दावी छ । 

यदी त्यस्ता व्यक्ति उपाध्यक्ष बनेमा अहिले सम्मका सबै उपलब्धि उल्टिने जोखिम रहेको दावी गर्दै केसीले विज्ञप्तिमा त्यस्ता उमेदवार पदाधिकारीका रुपमा छानिएमा त्यसले चिकित्सा शिक्षा ऐनको परिकल्पना विपरीत नेपालको मेडिकल शिक्षालाई गुणस्तरहीन र धराशायी बनाउने जोखिम रहेको बताएका छन् । 

‘चिकित्सा शिक्षा आयोग स्थापना पछिको पहिलो चारवर्षे अवधिमा अनेक खाले राजनीतिक हस्तक्षेप, पदाधिकारीहरु माथिको आपराधिक गुण्डागर्दी र अवरोधका बाबजुद आयोगले चिकित्सा शिक्षा सुधारमा उल्लेख्य काम गर्न तथा आयोगको स्वायत्तता कायम राख्न सफल भएको छ । अब आएर भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्ति उपाध्यक्ष बनेमा ती सबै उपलब्धि उल्टिने जोखिम छ । त्यस्ता उमेदवार पदाधिकारीका रुपमा छानिएमा त्यसले चिकित्सा शिक्षा ऐनको परिकल्पना विपरीत नेपालको मेडिकल शिक्षालाई गुणस्तरहीन र धराशायी बनाउने जोखिम रहेको छ’ विज्ञप्तिमा भनिएको छ ‘त्यसैले त्यस्ता उमेदवारहरुको सम्पूर्ण पृष्ठभूमि बुझेर आवेदन दिएकामध्ये इमानदार छवि र अब्बल कार्यक्षमता भएका तथा कुनै स्वार्थको द्वन्द्व नभएका योग्यतम उमेदवारहरु मात्रै छनोट गर्न र तिन मध्येबाट उपाध्यक्षको नियुक्ति गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं ।’  

माग सम्बोधन नभएमा आगामी भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने उनले घोषणा गरेका छन् । यस अघि केसीले साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिवद्धताहरु आए पछि एक महिनाका लागि सत्याग्रह पछि सारेको उनले स्मरण गराएका छन् ।  

प्रतिक्रिया