Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

कक्षा ६ सम्मका सबै विद्यार्थीलाई दिवा खाजा

समानीकरण बजेटलाई मितव्ययी रुपमा खर्च गरेर रकम बचाई खाजा खुवाउने निर्णय

शुक्रबार, १५ भदौ २०८०

बाग्लुङ - बजेट अभावलाई कारण देखाएर संघीय सरकारले कटौती गरे पनि गल्कोट नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ६ सम्मका सबै विद्यार्थीलाई दिवा खाजा दिने भएको छ । गत बुधबार बसेको कार्यपालिकाको २२ औं बैठकले पालिका भित्र रहेका कक्षा ६ सम्मका सबै विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको हो । संघीय सरकारले दिदैं आएको खाजा कटौती गर्ने जानकारी प्राप्त भए पछि बालबालिकालाई असर नपरोस् भनेर अन्य श्रोतबाट रकम बचाएर खाजा उपलब्ध गराउने निर्णय गरेको मेयर भरत शर्मा गैह्रेले बताए ।   

'कक्षा ६ का विद्यार्थीलाई दिदैं आएको खाजा कटौती गर्ने जानकारी प्राप्त भए पछि बालबालिकामा मनोवैज्ञानिक एवं भौतिक असर परेको देखियो' उनले भने 'हाम्रो जस्तो अन्य आय श्रोत नभएको पालिका भए पनि बालबालिका प्रति जिम्मेवार हुँदै समानीकरण बजेटलाई मितव्ययी रुपमा खर्च गरेर रकम बचाई खाजा खुवाउने निर्णय गरिएको हो ।' 

पालिका भित्र रहेका ६३ वटा सामुदायिक विद्यालय मध्ये कक्षा ६ सम्म पढाई हुने २६ वटा विद्यालयमा छ सय १२ जना विद्यार्थी अध्ययनरत रहेको पालिकासँग तथ्याँक छ । उनीहरुका लागि एक बर्ष सम्म खाजा खुवाउन १५ देखि १६ लाख रुपैंया लाग्ने अनुमान गरिएको गैह्रेले बताए । सरकारले लोकप्रीय हुने लोभमा महत्वाकाँक्षी योजना ल्याउने र पुरा गर्न नसक्ने भए पछि बिचमै अलपत्र पार्ने गर्दा नागरिकमा सरकार प्रतिको विश्वसनीयता नै घट्ने उनको भनाई छ ।  

'संघीय र प्रादेशिक सरकारहरुले बनाउने अनुचीत योजनाहरुमा रकमको खाँचो नहुने तर बालबालिकाले पाउने खाजाको रकम कटौती गर्ने यो मिल्दो कुरा भएन' उनले भने, 'त्यसैले सरकार प्रति नागरिकको विश्वसनीयता नघटोस् भन्ने असल नियतका साथ हामीले यो निर्णय गरेका हौं ।' 

अहिले भएको निर्णय पछि अर्को बर्ष संघीय सरकारलाई दवाव पुग्ने उनले अपेक्षा लिएका छन् । 

'संघ र प्रदेशमा रकम दुरुपयोग नै भए पनि नागरिकलाई थाहा हुँदैन तर स्थानीय सरकारमा हुने खर्च र बजेट बारे नागरिकले छर्लङ्ग थाहा पाउन सक्छन्, त्यसैले पनि स्थानीय सरकार नागरिक प्रति थप जिम्मेवार हुनु पर्छ' उनले भने 'यही जिम्मेवारी बोधको एउटा नतिजा कक्षा ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउने निर्णय पनि हो ।' 

बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणा गरे पछि बालबालिका प्रति थप जिम्मेवार हुन जरुरी रहेको उनको भनाई छ । गत आर्थिक बर्षको जेठ १३ गते पालिकालाई बालमैत्री घोषणा गरिएको थियो । खाजाका लागि अहिले अनुमान गरिएको बजेटमा तल माथि गर्नु पर्ने भएमा आगामी पुषमा बस्ने नगरसभाबाट थप रकम विनियोजन गर्ने योजना रहेको उनले बताए । 

पालिकाको उक्त निर्णय पछि बालबालिका खुसी भएका छन् । खाजा कटौतिमा आपत्ति जनाउँदै यस अघि नगर प्रमुखलाई सार्वजनिक रुपमै पत्र लेखेका शिव माविका कक्षा ६ का विद्यार्थी महिम चालिसेले यसपटक नगरप्रमुखलाई धन्यवाद व्यक्त गर्दै पत्र लेखेका छन् । 

patra_2080_05_15

सरकारले कर्णालीका विद्यार्थीलाई दैनिक २० रुपैंया र अन्यत्र एक दिनको १५ रुपैंया खाजा खर्च दिने गरेको छ । अघिल्लो वर्ष कक्षा ६ सम्मका विद्यार्थीलाई खुवाउने गरिएको दिवा खाजा अब कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खुवाईने बारेमा गत साउन तीन गते बसेको संसदीय समितिको बैठकमा शिक्षा मन्त्रालयका अधिकारीले जानकारी गराएका थिए । १ अर्ब बजेट अभाव भए पछि यस वर्ष ३२ लाख विद्यार्थीलाई मात्रै दिवा खाजाको व्यवस्था गर्न सकिने उनीहरुले बताएका थिए । त्यो ३२ लाख भनेको कक्षा एक देखि पाँच सम्मका विद्यार्थी मात्रै हुने भन्दै शिक्षा मन्त्रालय योजना महाशाखाका प्रमुख समेत रहेका सहसचिव डा. हरि प्रसाद लम्सालले दिवा खाजा कटौती गर्नु परेको कारण पेश गरेका थिए । 

पढ्नुहोस् :  विद्यार्थीको खाजा कटौती

विद्यार्थीको खाजा खर्च कटौती गरेको भन्दै चौतर्फि बिरोध जारी छ । यही विरोधका बिच शिक्षा र बालबालिका प्रति जिम्मेवार केही स्थानीय सरकारले आफ्नो श्रोतबाट खाजा खर्च जुटाउँदै आएका छन् । 

प्रतिक्रिया