Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

आमरण अनसनमा बसेका विद्यार्थी अस्पताल भर्ना

बाँकी चारको अवस्था पनि क्रमशः जटिल बन्दै

मंगलबार, १२ भदौ २०८०

काठमाडौं - इञ्जिनियरिङ अध्ययनका लागि गरिएको शुल्क वृद्धिको निर्णय फिर्ताको माग सहित आमरण अनसनमा बसेका विद्यार्थी सुलभ चापागाईंलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य अवस्था जटिल बन्दै गए पछि गए राती साढे नौ बजे उनलाई बीर अस्पताल भर्ना गरिएको हो ।  

नियमित परीक्षणमा आएका चिकित्सकहरुले लामो समय सम्म खाना नखाँदा शरीरका भित्रि अँगहरु शिथिल भएकोले तत्काल अस्पताल भर्ना गर्न सुझाव दिएका थिए । चिकित्सकको प्रत्यक्ष निगरानीमा उहिले उनको उपचार जारी रहेको सत्ताधारी दल नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य ललितजंग बलमे बताए । 

बढेको शुल्क तत्काल फिर्ता गर्न माग गर्दै पुल्चोक क्याम्पसमा चौथो बर्षको सातौं सेमेष्टरमा अध्ययनरत नवलपरासीको रजहरका चापागाईंले अनसन थालेका थिए । उनी सत्ताधारी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको पुल्चोक क्याम्पस ईकाई समितिका सभापति समेत हुन् । 

यसै बिच आईतबारबाट आमरण अनसनमा बसेका समाजवादी मोर्चा निकट छुट्टाछुट्टै तीन संगठनका नेता कार्यकर्ताको स्वास्थ्य अवस्था पनि क्रमश खस्कदैं गएको चिकित्सकलाई उदृत गर्दै बलमे बताए । सत्ताधारी दल माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावल र उपत्यका विशेष प्रदेश उपाध्यक्ष नरेन्द्र वयडी, समाजवादी मोर्चाकै अर्को सत्ताधारी घटक जसपा निकट समाजवादी विद्यार्थी यूनियनकी उपमहासचिव रसना यादव र विप्लब निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा त्रिभुवन विश्वविद्यालयका ईञ्चार्ज प्रेम सी आमरण अनसनमा छन् ।  

साउन २५ गते बसेको इञ्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको बैठकले चार वर्षे बीई तथा बी आर्क तर्फको शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले विद्यार्थी तथा अभिभावकलाई मर्का पर्ने भन्दै विद्यार्थी संगठनले आन्दोलन शुरु गरेका हुन् । शुल्क वृद्धि निसर्त खारेज हुनु पर्ने, पुल्चोक लगायतका आँगिक क्याम्पसहरुमा निशुल्क अध्ययनको व्यवस्था हुनु पर्ने, प्रवेश परीक्षा तत्काल गर्नु पर्ने, स्वदेशमै अध्ययन स्वदेशमै रोजगारी, पूल्चोक क्याम्पसलाई अनुसन्धानको केन्द्र बनाउनु पर्ने र आवश्यक बजेट तत्काल व्यवस्था गर्नु पर्ने उनीहरुको माग छ । 

संस्थानको कार्यान्वयन समितिको बैठकले तय गरेको नयाँ शुल्क अनुसार अब पूर्ण शुल्कीय तर्फ चार वर्षको सात लाख ७५ हजार चार सय २० रुपैयाँ तोकिएको छ । त्यस्तै नियमित तर्फ ८२ हजार सात सय २० रुपैयाँ पुर्याइएको छ । यस अघि नियमित तर्फको ३५ हजार रुपैयाँ शुल्क तोकिएको थियो । भने पूर्ण शुल्कीय तर्फ तीन लाख ३० हजार रुपैयाँ थियो । अहिले आएर संस्थानले दुई सय ३५ प्रतिशतले शुल्क बढाएको हो ।  

आईओईका पदाधिकारीले लामो समय देखि शुल्क नढाइएकाले समय सापेक्ष हिसावमा शुल्क बढाएको तर्क गर्दै आएका छन् । शुल्कका बारेमा अध्ययन गर्न आईओईलेसुशिल बज्राचार्यको संयोजकत्वमा गठन गरेको समितिले आईओई अन्तर्गतका ५ वटै आंगिक क्याम्पसमा अध्ययन गरे पछि शुल्क बढाउन सिफारिस गरेको थियो । यसअघि २०५३ सालमा शुल्क तोकिएको थियो । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क बढ्ने भन्ने थियो । त्रिभुवन विश्वविद्यालयले संस्थानलाई बजेट दिन नसकिने बताउँदै आएको छ । जसले गर्दा हालको शुल्कमा विद्यार्थीलाई पढाउन सकिने अवस्था नरहे पछि बढाइएको संस्थानको तर्क छ । 

संस्थान अन्तर्गत पुल्चोक इञ्जिनियरिङ कलेज, पूर्वाञ्चल कलेज, पश्चिमाञ्चल कलेज, थापाथली कलेज र चितवन कलेज गरेर ५ वटा आंगिक कलेजहरू छन् । त्रिविसँग सम्बन्धन लिएर १० वटा निजी कलेजहरूले इञ्जिनियरिङ तर्फका स्नातक तह र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस् : सत्तामा आफ्नै दल, तिनै दलका कार्यकर्ता आमरण अनसनमा छट्पटिदैं

महँगियो इन्जिनियरिङ शिक्षा : २ सय ३५ प्रतिशतले शुल्क वृद्धि, कुन विषयमा कति ?

प्रतिक्रिया