Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

सत्ताधारी दलकै विद्यार्थी संगठन लगाउँछन् आलोपालो ताला

मंगलबार, ०५ भदौ २०८०

दाङ - नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा सत्ताधारी दलकै विद्यार्थी संगठनले ताला लगाएको छ । सत्ताधारी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले ताला लगाएको हो । यस अघि अर्को सत्ताधारी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले दुई महिना अघि लगाएको ताला खुलेको एक साता पनि नपुग्दै क्रान्तिकारीले ताला लगाएको हो । 

विश्वविद्यालयको सेवा आयोगले लिने परीक्षाहरु लोक सेवा आयोगलाई दिने सहमति गरेपछि असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा नेविसंघको लगाएको ताला खुलेको थियो । तर क्रान्तिकारीले भने त्यसको ठिक उल्टो विश्वविद्यालय सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन नहुने भन्दै ताला लगाएको हो । उक्त तयारी प्रति आफूहरुको आपत्ती रहेको क्रान्तिकारीका नेताहरुले बताएका छन् । उनीहरुले विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा ताला लगाएका छन् । अखिल क्रान्तिकारीका विष्णु चौधरी, अभय प्रताप चौबे र गणेश पौडेलले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघसँग भएको उक्त सम्झौता रद्द गर्न माग गरेका छन् । ताला खुलेपछि आइतबार आयोगले कर्मचारी र प्रध्यापकका परीक्षाको सूचना प्रकाशित गरेको थियो । परीक्षाको सूचना प्रकाशित भएपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । 

तालाबन्दीले गर्दा विश्वविद्यालयको दैनिक शैक्षिक गतिविधिका साथै प्रशासनिक काममा असर पर्दै आएको विश्वविद्यालयका कुलसचिव माधव अधिकारी बताउँछन् । 

आफ्नै दल सत्तामा हुने र नेताहरु शैक्षिक संस्थामा तालाबन्दी गर्न नहुने भाषणवाजी गरिरहेका बेला उसकै कार्यकर्ताहरु भने विश्वविद्यालयका काम कारवाही नै ठप्प हुने गरी पटक पटक तालाबन्दीमा उत्रिदाँ पनि केन्द्रिय नेताहरुले हस्तक्षेप गर्न चासो दिएका छैनन् । 

प्रतिक्रिया