Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

बालविकास सहजकर्ताको शैक्षिक योग्यता कम्तिमा कक्षा १२ हुनु पर्ने , योग्यता नभएकालाई हटाईयो

हटाएर रिक्त कोटामा व्यवस्थापन समितिबाट निर्णय गराई व्यवस्थापन प्रकृया पुरा गर्नु पर्ने

आइतबार, ०३ भदौ २०८०

चितवन - बालविकास सहजकर्ताका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नभएको भन्दै राप्ती नगरपालिकाले ११ जना बालविकास सहजकर्तालाई हटाएको छ । राष्ट्रिय न्युनतम मापदण्ड मार्गदर्शक पुस्तिका २०६७ को पहिलो संशोधन २०७५ र नगर शिक्षा समितिको गत साउन २२ गतेको निर्णयको हवाला दिदैं नगरपािलकाले उनीहरुलाई भदौ १ गते देखि हटाएको हो । 

बालविकास सहजकर्ताको शैक्षिक योग्यता प्रविणता तह अर्थात् कक्षा १२ उत्तीर्ण हुनु पर्नेमा हाललाई एसएलसी एसईई योग्यता नभएका बालविकास सहजकर्तालाई भदौ १ गते देखि लागू हुने गरी हटाउने निर्णय भएकोले कार्यान्वयन गर्न पालिकाले सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ । 

शिक्षा अधिकृत रविना देउजाका अनुसार एसएलसी एसईई सम्मको मात्र शैक्षिक योग्यता भएका सहजकर्ताले मापदण्ड बमोजिम कम्तिमा कक्षा १२ सम्मको योग्यता पुर्याउन भन्दै सम्बन्धित विद्यालयमा परिपत्र गरिएको जनाएकी छन् । रिक्त हुने सहजकर्ता कोटामा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई शिक्षक व्यवस्थापन प्रकृया पुरा गर्नु पर्ने छ । 

यसरी हटाईएका सहजकर्ताहरु मध्ये दुई जनाको योग्यता कक्षा पाँच, तीन जनाको कक्षा आठ र बाँकी छ जनाको शैक्षिक योग्यता कक्षा नौ रहेको छ । कक्षा पाँच शैक्षिक योग्यता हुनेहरुमा राष्ट्रिय आधारभूत विद्यालय हर्राविसौनीका सोमबहादुर प्रजा र आधारभूत विद्यालय टीकाश्वरीकी निरमाया प्रजा छन् । यस्तै कक्षा आठ शैक्षिक योग्यता हुनेमा थाकलटार माविकी पवित्र माया चेपाङ्, कालिका आधारभूत विद्यालयका मोसोरे पाख्रिन र दुङवाङ आधारभूत विद्यालय स्याम्राङका रेशमलाल प्रजा छन् । यस्तै कक्षा नौ को शैक्षिक योग्यता हुनेमा वीरेन्द्र आदर्श माविकी निर्मला कँडेल, राष्ट्रिय आधारभूत विद्यालय नयाँबस्तिकी सीता कुमारी खनाल, राष्ट्रिय मावि स्वामिटारकी सोममाया प्रजा, राष्ट्रिय आधारभूत विद्यालय चित्रकोटकी गायत्री देवी चौधरी, राष्ट्रिय आधारभूत विद्यालय कालिकाटारका मायानाथ प्रजा र राष्ट्रिय आधारभुत विद्यालय सान्थलीका गणेश प्रजा रहेको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया