Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

विद्यार्थीमा आँखा पाक्ने प्रकोप : विद्यालय बन्दको अधिकार विद्यालयलाई नै

विहीबार, ३२ साउन २०८०

भक्तपुर - चाँगुनारायण नगरपालिकाका करिब ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण देखिएको नगरपालिकाले जनाएको छ । विद्यार्थीमा संक्रमण देखिए विद्यालयमा पठनपाठन बन्द गर्ने अधिकार भने विद्यालयलाई नै दिएको नगरपालिकाले जनाएको छ । 

नगरका विद्यालययमा अध्ययनरत विद्यार्थीमा सो संक्रमण भएपछि नगरपालिकाले सो रोगको संक्रमणको अवस्था थाहा पाउन नगरपालिकाका विद्यालयमा नमूना सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले आँखा पाक्ने संक्रमण दिनानुदिन बढ्दै गइरहेको देखिए पनि करिब ३५ प्रतिशत विद्यार्थी त्यसबाट प्रभावित भएको देखिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख वीरबहादुर खड्काले बताए । 

‘नगरपालिकाको शिक्षा शाखा, स्वास्थ्य शाखा र चाँगुनारायण अस्पतालको मेडिकल अधिकृत सहितको टिमले चाँगुनारायण नगरपालिकाका विभिन्न स्कुलहरुमा आँखा पाक्ने रोगको स्क्रिनिङ्ग तथा उपचारको क्रममा ३५ प्रतिशत विद्यार्थीहरुमा समस्या देखिएको पाइएको छ’, शाखा प्रमुख खड्काले भने, ‘विद्यार्थीहरुलाई पालैपालो जाँच गर्दा करिब ४०० विद्यार्थीमध्ये १३५ बढी विद्यार्थीको आँखामा संक्रमण देखिएपछि आँखा पाकेका विद्यार्थीहरुलाई औषधी उपलब्ध गराई घरमै बसी उपचारमा बस्ने सल्लाह समेत दिइयो।’

विद्यार्थीमा उक्त समस्या देखिएपछि विद्यालयमा पठनपाठन स्थगन गर्ने वा नगर्ने भन्ने विषयमा शिक्षा समितिको बैठक बसिएको उनको भनाइ छ ।

बैठकले विद्यालयका शिक्षक, विद्यार्थीको आँखा पाक्ने रोगको संक्रमणको अवस्थालाई विश्लेषण गरी आफ्नो विद्यालयको परिवेश अनुसार अधिकतम ७ दिनमात्र विद्यालयको पठनपाठन स्थगन गर्न सकिने निर्णय गरिएको जनाए ।
नगरपालिकाका विभिन्न क्षेत्रमा आँखा पाक्ने रोगको संक्रमणको तथ्यांक फरक फरक रहेकाले विद्यालयले आफू अनुकूल व्यवस्था गर्न सकिने गरी पढाइ स्थगन गर्न सकिने सूचना जारी गरेको शाखा प्रमुख खड्काले बताए ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले पालिकाका केही क्षेत्रमा आँखा पाक्ने संक्रमण अत्यधिक र केही क्षेत्रमा न्यूनमात्र देखिएकाले विद्यालय रहेको स्थानको आधारमा निर्णय गर्न सकिने गरी निर्णय गरिएको बताए । उनले आँखा पाक्ने रोगको संक्रमणको चेन ब्रेकका लागि अहिलेका लागि विद्यालय बन्द गर्नुभन्दा अरु उपाय नभएको समेत जनाए ।

प्रतिक्रिया